Home / Feature Breaking news / आचार संहिता उल्लंघनका १६ उजुरी निर्वाचन आयोगमा दर्ता, मुख्यमन्त्री शंकर पोख्रेलको भाषण पनि नोनिस

आचार संहिता उल्लंघनका १६ उजुरी निर्वाचन आयोगमा दर्ता, मुख्यमन्त्री शंकर पोख्रेलको भाषण पनि नोनिस

दाङ, १३ मंसिर

उपनिर्वाचनका क्रममा आचार संहिता उल्लंघनका १६ वटा उजुरी निर्वाचन आयोगमा दर्ता भएका छन् । आचार संहिता उल्लंघन भएको बारे मिडियामा आएका समाचारलाई पनि आयोगले नोटिसमा लिएको हुनाले यो संख्या अरु बढ्ने आयोगले जनाएको छ ।

‘अहिलेसम्म निर्वाचन आयोगमा १६ वटा उजुरीहरु दर्ता भएका छन्,’ आयोग स्रोतले अनलाइनखबरसँग भन्यो, ‘मिडियामा आएका समाचारहरुको कटिङसमेत संकलन भइरहेकाले आचार संहिता उल्लंघनको संख्या अरु बढ्न सक्ने देखिएको छ ।’

आचार संहिता उल्लंघनविरुद्ध परेका उजुरीहरु सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फका छन् । बढीजसो सरकारी पक्षले पदीय दुरुपयोग गरेका उजुरी परेका छन् । त्यसैगरी आचारसंहिता विपरीत सवारी साधन प्रयोग गरेको विषयमा पनि उजुरीहरु परेका छन् ।

उपेन्द्र यादवले महोत्तरीमा गरेको भाष र पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले दाङको घोराही उपमहानगरपालिका १६ मा गरेको भाषणलाई पनि आयोगले नोनिसमा लिएको निर्वाचन आयोगले बताएको छ । मुख्यमन्त्री पोख्रेलले मंसीर ११ गते घोराही १६ मा ेकपाका वडा अध्यक्षलाई जिताउनकालागि भाषण गरेका थिए ।

भोलि शनिबार देशभरका ५२ स्थानमा उपनिर्वाचन हुँदैछ । प्रतिनिधिसभाका लागि कास्कीमा उपचुनाव हुँदैछ भने दाङ, बाग्लुङ र भक्तपुरमा प्रदेशसभा सदस्यका लागि उपचुनाव हुँदैछ । त्यस्तै धरान उपमहानगरपालिका, मकालु गाउँपालिका, फाल्गुनन्द गाउँपालिका र पिपरा गाउँपालिकाको प्रमुखका लागि शनिबार मतदान हुँदैछ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपप्रमुखका लागि चुनाव हुँदैछ ।

देशभरिका विभिन्न नगर र गाउँपालिकाका ४३ वडाध्यक्षका लागि शनिबार मतदान हुँदैछ । मतदानका लागि ५५ सय कर्मचारीहरु सम्बन्धित मतदान केन्द्रमा पुगिसकेका छन् । उनीहरु मतदान केन्द्र निर्माणमा व्यस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*