Home / Feature Breaking news / सगरमाथाको नयाँ उचाई दुई महिनामा पत्ता लाग्ने

सगरमाथाको नयाँ उचाई दुई महिनामा पत्ता लाग्ने

काठमाडौं,२८ असोज । चीनका राष्ट्रपति सी जिनपिङको हालै सम्पन्न दुईदिने नेपाल भ्रमणपछि जारी भएको संयुक्त वक्तव्यको आठौं बुँदामा सगरमाथाको उचाई संयुक्त रुपमा घोषणा गर्ने भन्ने एउटा बुँदा समेत रहेको छ । के सगरमाथाको नयाँ उचाई पत्ता लागिसकेको हो त ?

नेपालले अहिले सगरमाथाको मापन कार्य अन्तिम चरणमा पुर्याएको छ । सगरमाथाको मापन कार्यमा संलग्न चिफ सर्भे अफिसर तथा मापन कार्यमा संयोजक रहेका सुशील डंगोलले भने,‘‘मापन कार्य हामीले अन्तिम चरणमा पुर्याएका छौं । अब करिब १० प्रतिशत काम मात्रै बाँकी रहेको छ । अबको दुई महिना भित्रमा मापन सम्पन्न हुनेछ ।’’

चीनका राष्ट्रपतिको भ्रमणका क्रममा संयुक्त रुपमा घोषणा गर्ने भनिएको प्रसंगको बारेमा जानकारी माग्दा उनले भने, ‘‘हामीले मापन पूरा गर्न लागिसकेका छौं । मापनका लागि कसैको पनि सहयोग लिनु आवश्यक छैन । तर, सगरमाथा चीनको सीमामा रहेका कारण दुवै देशले एकैपटक घोषणा गर्दा झन् राम्रो सन्देश जान्छ ।’’

सगरमाथाको पछिल्लो उचाई ८,८४८ मिटर भए पनि भूकम्पलगायतका भौगर्भिक गतिविधिले पहिलाको तुलनामा उचाई थपघट भयो कि भन्ने आशंका उत्पन्न भइरहेको बेलामा नेपालले आर्थिक वर्ष २०७४–७५ देखि यसको मापन प्रक्रिया अघि बढाएको हो । यो काम अहिले अन्तिम चरणमा पुगेको छ । विश्वको सर्वोच्च शिखर भएकोले सगरमाथालाई नेपालको गौरवको रुपमा लिइने गरेको छ ।

मापनका लागि यसअघि भारत सरकारका तर्फबाट चासो देखाइए पनि नेपाल आफैंले सो कार्य अघि बढाएको हो । मापनको सिलसिलामा अहिलेसम्म करिब २५ करोड खर्च भएको जनाइएको छ ।

सगरमाथाको अहिलेको उचाईलाई सन् १९५५ मा सर्भे अफ इन्डियाले पत्ता लगाएको हो भने सर्भे अफ चाइनाले पनि त्यसलाई सन १९७५ मा मान्यता दिएको थियो । बृटिश सर्भेयर जनरल अफ इन्डियाका तत्कालीन प्रमुख सर जर्ज एभरेस्टको नामबाट यसको नाम सन् १९६५ मा अंग्रेजीमा माउन्ट एभरेस्ट राखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*