Home / Feature Breaking news / स्थापित हुदै प्राविधिक शिक्षा

स्थापित हुदै प्राविधिक शिक्षा

दाङ,२० भदौ । कुनै बेलामा प्राविधिक शिक्षा अध्ययनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको थियो । प्राविधिक शिक्षालयका रुपमा लालमटियामा रहेको राप्ती प्राविधिक शिक्षालय बाहेक अनेत्र प्राविधिक शिक्षा पढाई हुदैन थियो । जिल्लामा प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यालय तथा कलेजहरु नहुदा अध्ययनकालागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको थियो । तर पछिल्ला बर्षहरुमा प्राविधिक शिक्षाका लागि दाङ हवका रुपमा विकास हुदै गएको छ ।

अहिले जिल्लाका दश वटै स्थानीय सरकारले फरक क्षमताका विद्यार्थीहरुलाई च्वाइसको शिक्षा दिन प्राविधिक शिक्षाको निति अवलम्वन गरेका छन् । त्यसै अनुरुप अहिले जिल्लामा दशै स्थानीय तहहरुले प्राविधिक शिक्षालाई पहिलो प्राथमिकतामा पारेका छन् । चलेका क्याम्पसहरुले पनि प्राविधिक शिक्षाको थालनी गरेका छन् । अव चितवन, पोखरा र काठमाण्डौ जानुपर्ने छैन, तुलसीपुरमै विएससी एजीको पठनपाटन सुरु भैसकेको छ । त्यसैगरी प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परीषदबाट स्वीकृति लिएर विभिन्न स्कूलहरुले अन्य प्राविधिक शिक्षा सञ्चालन गरिसकेका छन् भने केहि संस्था प्राविधिक शिक्षामा मात्र केन्द्रित भएरै सरकारी स्वामित्वमा सन्चालन भएका छन् ।

जिल्लामा सहरी क्षेत्रमा मात्र होइन,गाउँगाउँमा समेत प्राविधिक शिक्षाको पहुँज पुगेको छ । पछिल्लो समय दाङमा प्रि—प्राइमेरी तहमा मन्टेश्वरी प्रविधिदेखि कृषिमा आई.एस्सी. एजी, स्वास्थ्यमा बिएएमएस (डाक्टर), नर्सिङ तथा इञ्जिनियरिङमा स्नातकका कक्षा जिल्लामै पढाई हुने गरेका छन् । करिव एक दशक अघिसम्म जिल्लामा प्राविधिक विषय अध्ययन गर्ने विद्यालय नहुदा विद्यार्थीहरुलाई एसएलसी पछि जिल्ला बाहिर जानुपर्ने बाध्याता हटेको छ । तर पछिल्लो समयमा जिल्लामा एक पछि अर्को खुल्दै गएका कलेज तथा विद्यालयका कारण जिल्ला प्राविधिक शिक्षाको बिस्तार मात्र होइन पश्चिम नेपालकै केन्द्रका रुपमा दाङ अघि बढ्दै छ ।

एक दशकयता जिल्ला शैक्षिक उन्नतिका दृष्टिले निकै अगाडि बढेको छ । प्रविधिको कुरा होस् या गुणस्तरीय शिक्षामा होस । घोराही उपमहानगरपालिकामा अहिले करिव आधा दर्जन सामुदायिक विद्यालयहरुले कृषि,सूचना प्रविधि, इन्जिनियरिङ, इलेक्ट्रोनिक, अमिन,कम्प्युटर, अटोमोबाइल,वन विज्ञानलगायतका कक्षाहरु सञ्चालन गर्दै आएको घोराही उपमहानगरपालिका शिक्षा शाखाका बिप्लव अधिकारीले बताए । अधिकारीका अनुसार अहिले घोराहीका पद्मोदय पव्लीक नमूना माध्यामिक विद्यालय भरतपुर, माध्यामिक विद्यालय गोग्ली, माध्यामिक विद्यालय रझेना, बालबिकास माध्यामिक विद्यालय नयाँ बजार, सरस्वती माध्यामिक विद्यालय काठेकोहल, शहिद कृष्ण सेन बहुप्राविधिक शिक्षालय कर्जहीलगायतका विद्यालयहरुमा प्राविधिक शिक्षा पढाई सञ्चालन भईरहेको छ ।

अन्य केही विद्यालयहरु सञ्चालनको तयारीमा रहेका छन । ‘प्राविधिक शिक्षाका दृष्टिले घोराही उपमहानगरपालिकाले राम्रो गर्दै गएको छ’,अधिकारीले भने,‘यसले विद्यार्थीलाई सहजता बनाउनका साथै दाङको शैक्षिक विकासमा महत्वपुर्ण योगदान छ ।’ प्राविधिक शिक्षाकालागि खुल्दै गएका शैक्षिक केन्द्रका अनुसार जिल्लामा सवै प्राविधिक शिक्षा अध्ययन गर्ने संख्या बढ्दै गएको छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिका पनि आधा दर्जन सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षा हुदै आएको छ । तुलसीपुरमा सूचना प्रविधि, बालि विज्ञान, पशु विज्ञान, सभओभरसियर, भेटनरीलगायतका विषयहरु सामुदायिक विद्यालयमा पढाई हुने गरेको तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाका मुकुन्द रिजालले जानकारी दिए ।

रिजालका अनुसार उपमहानगरपालिकाले वनहरी माधयामिक विद्यालय खाद्रे,शहिद स्मृति माध्यामिक विद्यालय,बालमितरी माध्यामिक विद्यालयलगायतका विद्यालयहरुमा प्राविधिक शिक्षाका लागि पहल भैरहेको भन्दै यहि बर्षदेखि पढाई सञ्चालन हुने सम्भावना रहेको रिजालले बताए । ‘परम्परागत शिक्षा भन्दा पनि विद्यार्थीहरुलाई प्रविधि युक्त शिक्षा दिनका लागि प्राविधिक शिक्षा सञ्चालन गरेका विद्यालयलाई दश लाख रुपैया समेत दिने गरेको छ’,रिजालले भने,‘यसले विद्यालयलाई प्राविधिक शिक्षा सञ्चालनका लागि सहज बनाइदिएको छ ।’ यीसँगै निजी क्षेत्रवाट पनि प्राविधिक शिक्षा पढाउने काम भैरहेको बताए । सिटीईभिटीवाट मान्यता लिएर सञ्चालन भएका विद्यालय तथा इन्ट्च्यिूटहरु समेत छन ।

तर त्यस्ता निकाय उपमहानगरपालिकाको मातहतमा नहुने भएकाले तुलसीपुरमा कति छन भनेर भन्न सक्ने अवस्था नरहेको समेत बताए । कुनै बेलामा आधारभुत शिक्षासम्म पढ्नलाई मुस्किल पर्ने बंगलाचुली
गाउँपालिकाको सुधा माध्यामिक विद्यालय झेल्नेटामा अहिले बाली विज्ञान पढाई सुरु भएको छ भने देउखुरीको बिकट राजपुर गाउँपालिकाको माध्यामिक विद्यालय सालभौरीमा पनि गतबर्षदेखिपशु विज्ञान पढाई भईरहेको छ । जसले गर्दा सहरी क्षेत्रका मात्र होइन गाउँमै विद्यार्थीहरुले प्राविधिक शिक्षा अध्ययन गर्न पाई रहेका छन । राजपुरमा मात्र होइन गढगा र राप्ती गाउँपालिकामा समेत प्राविधिक शिक्षा पढाई भईरहेको छ । जसले गर्दा प्राविधिक शिक्षा अध्ययन गर्न चाहने पालिका विद्यार्थीहरुलाई अनेत्र जानुपर्ने बाध्यता हटेको छ ।
लमही नगरपालिका तीन सामुदायिक तथा दुई वटा निजी क्षेत्रवाट सञ्चालित विद्यालय तथा कलेजहरुमा प्राविधिक शिक्षा अध्ययन भैरहेको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले जानकारी दिए । उनका अनुसार माध्यामिक विद्यालय देउपुुर,माध्यामिक विद्यालय वनगाउँ र मावि नर्तीमा प्राविधिक शिक्षा पढाई भएको छ ।‘प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीले बाहिर जानुपर्ने छैन’,नगर प्रमुख केसीले भने,‘देउखुरी क्षेत्रका विद्यार्थीले मात्र नभएर जिल्ला बाहिरवाट समेत प्राविधिक शिक्षा अध्ययन गर्न आउने गरेका छन ।’

त्यस्तै दंगीशरण गाउँपालिका,शान्तिनगर,बबई गाउँपालिका,गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा समेत प्राविधिक शिक्षाको पहूँज पुगेको छ । दंगीशरण, शान्तिनगर, बबई र गढवा गाउँपालिकामा बालि विज्ञान पढाई सुभएको छ, भने राजपुर गाउँपालिकामा पशुविज्ञान पढाई भईरहेको छ । त्यस्तै जनता विद्यापीठ बिजौरीमा आयुर्वेदमा विएएमएस कक्षा सञ्चालनमा छ । यो कक्षासँगै जिल्लामा डाक्टरहरु उत्पादन हुने गरेका छन । जिल्लामै इञ्जिनियरिङमा स्नातक, व्यवस्थापनमा स्नाकोत्तरदेखि आधुनिक कोर्ष बिबिए, स्टाफ नर्सलगायतका विषयहरु पढाई हुने गरेका छन ।

जिल्लामा स्नातक तहका लागि हरेक विषयको अध्ययनको केन्द्र बनेको छ भने स्नाकोत्तर तहमा व्यवस्थापन संकाय, शिक्षा संकाय र मानविकी संकायमा विभिन्न विषयको विकल्पसहितका कजेल खुलेका छन् । ५ दशकसम्म प्राविधिक शिक्षाको लागि एकमात्र मानिएको लालमटियाको प्राविधिक शिक्षालयसँगै अब जिल्लाका घोराही, तुलसीपुरमा धेरै विद्यालय र क्याम्पस खुलेका छन् । त्यस्तै सिएमए, इञ्जिनियरिङ, स्टाफ नर्स,पलम्वरलगायतका प्राविधिक विषय समेत पढाई हुन थालेका छन । प्राविधिक विषय आफैमा आत्मनिर्भर बनाउने शिक्षा हो । हिजोसम्म राम्रो शिक्षा प्राप्त गर्न जिल्ला बाहिर जाने विद्यार्थीलाई आज जिल्लामै पढ्न सहज भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*