दाङ,२२ असार । दाङ प्रहरीले दुई दिनमा दुई लाख बढि नगदसहित १४ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । प्रहरीले शुक्रवार र शनिवार राती जिल्लाका दुई स्थानवाट दुई लाख २३ हजार चार सय २० रुपैयाँ नगदसहित १४ जना जुवाडेहरुलाई पक्राउ गरेको हो ।
अवैध रुपमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयवाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले शुक्रवार राती तुलसीपुर उपमहानगरपालिका –१३ तुईखोला स्थीत प्रकाश कार्कीको घरमा छापामारी नगद एक लाख ६२ हजार एक सय रुपैयासहित सात जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिए । उनीहरुको सातवाट प्रहरी कौडा,मोवाइललगायतका सामग्रीहरु समेत नियन्त्रणमा लिएको छ ।
त्यस्तै शनिवार राती घोराही उपमहानगरपालिका–६ बचाह स्थीत नमराज चौधरीको घरवाट जुवा खेलिरहेका ७ जना जुवाडेसहित नगद ६१ हजार तीन सय २० रुपैयाँ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक शाहले जानकारी दिए । जुवातास नियन्त्रणका लागि प्रहरीले दाङमा सक्रियता बढाएको छ ।
पक्राउ परेकालाई मुलुकी अपराध संहिता ऐन २०७४ को सार्वजनिक नैतिकता विरुद्धको दफा १२५ बमोजिम कसुरमा आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।