Home / समाचार / शुल्कबृद्धिको बिरोधमा विद्यार्थीद्धारा प्रदर्शन

शुल्कबृद्धिको बिरोधमा विद्यार्थीद्धारा प्रदर्शन

घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको शुल्कबृद्धिको विरोधमा घोराहीमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

घोराहीका विभिन्न कलेज तथा स्कुलबाट सहभागी विद्यार्थीहरुले शुल्क बृद्धिको निर्णय तत्काल फिर्ता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग माग समेत गरेका छन् । सत्तारुढ दल नेकपा निकट अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त रुपमा प्रदर्शन गरेका हुन । घोराहीको रझेना चोकबाट शुरु भएको जुलुशका विद्यार्थीहरु राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेर चर्को नारावाजी गरेका थिए ।

विद्यार्थीहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शुल्क बृद्धि फिर्ता गर, भ्रष्ट उपकुलपति संगिता भण्डारी राजिनामा दे, निशुल्क सुत्केरी सेवा सुचारु गर, जनताको निशुल्क स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गर, गरिबले पनि बाच्न पाउने अधिकार सुनिश्चित गर भन्दै नारा लगाएका थिए ।

उपकुलपति भण्डारी बस्ने प्रतिष्ठानको मुख्य कार्यालय गेटमा केही नारावाजी गरेर विद्यार्थीहरु पुनः ट्राफिक चोकहुँदै तुलसीपुर चोकमा गएर कोण सभामा परिणत भएको थियो ।
कोणसभालाई सम्वोधन गर्दै अखिल क्रान्तिकारी दाङका इञ्चार्ज सन्तोष पोख्रेलले उपकुलपति संगिता भण्डारीलाई गलत हर्कत तत्काल बन्द गर्न आग्रह गरे । उनले आधारभूत स्वास्थ्य सेवामा समेत चर्को शुल्क तोक्नु संविधान विपरित भएकाले संविधान कार्यान्वयन गर्न अटेर गर्ने भण्डारीलाई सरकारले तत्काल बर्खास्त गर्नुपर्ने बताएका थिए ।

अखिल क्रान्तिकारी दाङका संयोजक जंग रोकाले प्रतिष्ठानको शुल्क बृद्धि फिर्ता नभएर आगामी दिनमा थप कडा संघर्षका कार्यक्रम गर्ने चेतावनी दिए ।
अनेरास्ववियुका अध्यक्ष विरवल खड्काले प्रतिष्ठानले बढाएको शुल्क आम विपन्नवर्गका नागरिकले तिर्न नसक्ने भन्दै निर्णय फिर्ता लिन आग्रह गरे ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले यस अघि प्रदान गर्दै आएको सेवाभा भारी शुल्क बृद्धि गरेको छ ।

यस अघि सम्म सुत्केरी सुबिधा निसुल्क थियो । तर, अब भने सामान्य सुत्केरी गराउँदा ३ हजार रुपैयाँ, जटिल सुत्केरी गराउँदा ५ हजार र अप्रेसन गर्नुपरेमा १२ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने छ । त्यसैगरी यस अघि २५ रुपैयाँमा हुने ओपिडी सेवा एक सय रुपैयाँ पुर्याइएको छ ।यस अघि ३० रुपैयाँमा हुने इमर्जेन्सी सेवा बढाएर दुई सय रुपैयाँ पुगेको छ ।

यस बेड निशुल्क थियो । अब भने प्रतिदिन २ सय २० रुपैयाँ लाग्ने छ । यस अघि भिडियो एक्सरे ५ सय रुपैयाँमा हुन्थ्यो । अब भने भिडियो एक्सरेका लागि सर्वसाधारणले ६ सय रुपैयाँ तिर्नुपर्ने छ । त्यसैगरी यस अघि मुख्य सल्यकृयामा ५ हजार रुपैयाँ लाग्थ्यो । अब भने उक्त सेवाका लागि १२ हजार रुपैयाँ लाग्ने छ । यस अघि १५ सयमा भइरहेका मध्यम सल्लिकृयालाई बढाएर ६ हजार ५ सय पु¥याइएको छ । एक हजारमा हुने सामान्य सल्यकृयालाई बढाएर २ हजार ५ सय पु¥याइएको छ ।

त्यस्तै ल्याब सर्जरी बाफत १५ हजार, जनरल एनेस्थेसियाको ३ हजार ५ सय र स्पाइनल एनेस्थेसिको शुल्क २ हजार पाँच सय रुपैयाँ लाग्ने छ ।

यस अघि कुपोषित बालबालिकाहरुलाई मध्यनजर गर्दै बनाइएको पोषण गृहलाई प्रतिष्ठानले बन्द गर्ने प्रकृया शुरु गरेको छ । सो गृहमा विपन्नवर्गका कुपोषित बालबालिकालाई निशुल्क रुपमा आवास तथा खान सहित उपचार गरिदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*