Home / Feature Breaking news / सांसद रेशम चौधरीले आज शपथ लिदै

सांसद रेशम चौधरीले आज शपथ लिदै

काठमाडौं । राष्ट्रिय जनता पार्टीका सांसद रेशम चौधरीले आज शपथ ग्रहण गर्दैछन । आज ११ बलेलाई भनिएको शपथ अपरान्ह तीन बजेका लागि सरेको छ । १२ बजे संसद् बैठक बस्ने भएकाले शपथ ३ बजेलाई सारिएको राजपाले जानकारी दिएको छ ।

चौधरीले निर्वाचित भएको एक वर्षपछि शपथ ग्रहण गर्न लागेका हुन् । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाका मुख्य अभियुक्त हुन् चौधरी ।
टीकापुर घटनामा सात सुरक्षाकर्मीसहित एक नाबालकको ज्यान गएको थियो । घटनापछि फरार रहँदै आएका चौधरीले गत फागुन १४ गते कैलाली जिल्ला अदालतसमक्ष आत्मसमर्पण गरेका थिए ।

त्यसपछि उनलाई पूर्पक्षका लागि कैलालीको धनगढी कारागारमा राखिएको थियो । पछि अदालतमै अनसन बसेपछि उनलाई काठमाडौं ल्याएर डिल्लीबजार कारागारमा राखिएको थियो ।

टीकापुर घटनापछि फरार रहेका चौधरी २०७४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा कैलाली–१ बाट लडेका थिए । वारेशमार्फत् उमेदवारी दिएर चुनाव लडेका चौधरी भारी मतान्तरले विजयी भएका थिए । उनले ३४ हजार ३ सय ४१ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी तत्कालिन नेकपा एमालेकी मदन कुमारी शाहले १३ हजार ४ सय ६ र कांग्रेसकी ईश्वरी न्यौपानेले ११ हजार २ सय ३ मत प्राप्त गरेका थिए ।

सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लले रेशम चौधरीको मुद्दा कानुनअनुसार अघि बढ्ने बताए । निर्वाचन अयोगले प्रमाणपत्रसहित पत्र पठाएपछि शपथ गराउनु संसदको कर्तव्य भएकाले शपथ गराउन लागिएको उनको भनाइ छ । उनका अनुसार शपथपछि चौधरी निलम्बित सांसदको रूपमा जेलमै रहनेछन् , संसद बैठकमा बस्न पाउँदैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*