Home / समाचार / अनुमतिबिनै महाकालीमा भारतको काठेपुल

अनुमतिबिनै महाकालीमा भारतको काठेपुल

सन्तोष कोट्टारी
दार्चुला, २९ कार्तिक । भारतले नेपालको अनुमतिबिनै महाकाली नदीमाथि अस्थायी काठे पुल निर्माण गरेको छ । सरकारले २ स्थानमा काठेपुल निर्माण गर्न अनुमति दिए पनि भारतले ३ स्थानमा अस्थायी काठेपुल निर्माण गरेको हो ।

त्रिदेशीय सीमा नाकासम्म सडक पुर्‍याउने उद्देश्यका साथ भारतले घटियाबगर–लखनपुर–लिपुलेक सडकको निर्माणलाई प्राथमिकता साथ निर्माण गरिरहेको छ । त्यही सडकको सामान ढुवानीका लागि भन्दै भारतले बिनाअनुमति व्याँस गाउँपालिका–२ मा पर्ने तम्पाकु र थीइको भीर तथा मालपामा ३ अस्थायी काठेपुल निर्माण गरेको हो ।

महाकाली नदीका २ स्थानमा काठेपुल निर्माण गर्न सरकारले अनुमति दिए पनि भारतले ३ स्थानमा बनाएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर कुवँरले जानकारी दिए ।

गत वर्ष पनि भारतले नेपाली प्रशासनलाई जानकारी नदिई आधा दर्जनभन्दा बढी स्थानमा काठे पुल निर्माण गरेको थियो ।

एक देशले अर्को देशको भूमि प्रयोग गर्न अनुमति लिनुपर्ने प्रावधान छ । तर, विभिन्न ३ स्थानमा काठेपुल निर्माण गरिरहेको भारतले नेपालको अनुमतिविनै बाटोसमेत बनाएको छ ।

ठेकेदार साजन बिष्टले काठेपुल नजिकै भारतले बाटोसमेत निर्माण गरिरहेको बताए ।

दोहोर्‍याउँदै गल्ती

गत वर्ष भारतको यस्तो रवैयाको चर्को विरोध भएको थियो । नेपाल–भारत सीमा समन्वय बैठकमा समेत नेपाली अधिकारीहरुले यो विषय उठाएका थिए । बैठकपछि भारतीय प्रशासनले केही पुल आफैं हटाएको थियो भने केही नेपालीहरुले भत्काइदिएका थिए । तर, अघिल्लो वर्ष बलमिच्याइ गरेको भारतले यस वर्ष पनि विनाअनुमति पुल र बाटो निर्माणलाई निरन्तरता दिएको छ ।

भारतले गलत ढंगले नेपाली भूमि प्रयोग गर्दै आए पनि प्रशासन भने मौन देखिएको छ । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी कुँबर अनुमतिविना अर्को देशको भूमि प्रयोग गर्नु अवैधानिक हुने भए पनि व्यवहारिक रुपमा चलिरहेको हुनसक्ने बताउँछन् । तर, राष्ट्र र राष्ट्रियताको विषय भएकाले यसलाई नेपाली प्रशासनले गम्भीरतापूवर्लक लिनुपर्ने स्थानीयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*