Home / Feature Breaking news / दाङमा बाटोको कथाः नेताको दिमागमा ‘दामोदर’ पसोस्

दाङमा बाटोको कथाः नेताको दिमागमा ‘दामोदर’ पसोस्

सुदीप गौतम
दाङ, ९ भदौ

आज दाङमा कुन कुराको सबैभदा बढी विकास भएको छ भन्यो भने सम्भवतः सबैले एउटै स्वरमा बाटोघाटो भन्ने छन् । तर आजभन्दा ६० वर्ष पहिलेसम्म दाङमा न त चौडाबाटाघाटा थिए, न त नाप–नक्सा गरिएका बाटा नै ।

घोडा र पैदल हिड्ने केही बाटाहरु थिए, तिनी पनि कुनै नाप–नक्सा र डिजाइनबिनाका । त्यत्तिकैमा दाङमा एउटा व्यक्ति हाकिम भएर आए, दामोदर शर्मा घिमिरे ।

४९ दिन बडाहाकिम रहेका उनै दामोदरले बाटोघाटोका क्षेत्रमा कायापलट गरिदिए । दाङभर जताततै रोडैरोड बने र तिनलाई मानिसहरुले चलनचल्तीमा भन्नथाले ‘दामोदररोड’ ।

अहिले पनि दाङका धेरै ठाउँमा यिनै दामोदररोड चलनचल्तीमा छन् ।

वि.सं. १९५० मा भारतको गैसडी भन्ने स्थानसम्म रेलसेवा प्रारम्भ भएपछि नजिकैको कोइलावासमा वस्ती बस्न शुरु भयो । नानीबाबु सुब्बाले कोइलावास वस्ती बसालेका हुन् ।

त्यसको झण्डै १२ वर्षपछि १९६२ मा भारत जरवामा रेलसेवा प्रारम्भ भयो र कोइलावास बजारको रुपमा विकास भयो ।

त्यहाँ प्रभु वानियाले गल्लामण्डी र हाटबजार शुरु गरे । त्यतिबेलासम्म घोराहीमा बजार शुरु भएको थिए । नून, पनी भोटबाटै आउँथ्यो । यसको १५÷२० वर्षपछि मात्र घोराही बजार विकसित भएको भेटिन्छ ।

१९६५ सालमा देवीकोटमा डुडुवापहाड अमिनी र हुलाक स्थापना भयो र छिल्ली बिजौरीमा शाखाको रुपमा छोटी अमिनी खुल्यो ।

देविकोट र छिल्लीकोट आवतजावतको लागि छिल्ली मालका तत्कालीन सुब्बा हेरम्ममान सिंहले कालाखोलादेखि कुहिरेपानीसम्म मूलसडक बनाउन लगाए । सम्भवतः नक्सांकन सहितको पहिलो सडक यही हो ।

१९८१ सालमा भोग्य समशेर बडाहाकिम हुँदा सरीकोटबाट (देविकोटका अया अपायक भयो भनि वि.सं १९६९ मा सरीबोटमा सारिएका थिए) घोराही सार्ने निर्णय भयो र कार्यालयहरु घोराहीमा सरे ।

कोइलावास र घोराहीको सम्बन्ध विस्तारै–विस्तारै बढ्दै जाँदा एउटा बाटोको परिकल्पना भयो । स्थानीय स्तरमै त्यसलाई निर्माण गरियो ।

वि.सं १९९० सालमा घनिबगियाका घिमिरे परिवार (दामोदर घिमिरेको सगोलको परिवार)ले सप्ताह लगाए । यो परिवार दाङको सम्भ्रान्त परिवारमा गनिन्थ्यो  र सप्ताहको समापनमा सामाजिक कार्य गर्ने भन्दै उनीहरुले घोराही कोइलावास जाँदा बाटोमा पर्ने खोलाहरुमा सहज ढङ्गले घोडा, राँगा र मानिस हिडडुल गर्न मिल्ने गरी बाटो मर्मत गरे ।

त्यसबेला भारु १५ हजार खर्च गरी घोराही कोइलावास १२ महिना नै आवतजावत गर्न मिल्ने गरी बाटो व्यवस्थित गरियो । त्यही क्रममा उदयपुर प्यूठान घोराही बाटो ट्रयाक खोल्ने काम पनि भयो ।

२००७ सालको क्रान्तिपश्चात स्थानीय जनसरकारको पहलमा भारत मुम्बईका ‘चिकागो’ कम्पनीका इञ्जिनियर डिएम जयकरले पहिलोपटक घोराही कोइलावास बाटोको सर्भे गरे ।

उनले पुलपुलेसा, कल्भर्ड समेत गरी भारु १६ लाख लाग्ने प्रतिवेदन तयार गरे । त्यही प्रतिवेदनलाई नेपाल सरकारका चिफ इञ्जिनियर के.एस शाहीले अनुमोदन गरी तत्कालीन निर्माण यातायातमन्त्री भद्रकाली मिश्रलाई बुझाइएको थियो, तर सरकारले आफ्नो खर्चमा रोड बनाउने नीति नलिएको भन्दै प्रक्रिया अगाडि बढाएन ।

तात्कालीन जनसरकारका यातायातमन्त्री रामप्रसाद श्रेष्ठले घोराही बजार आसपास बाटो चौडा गराउन शुरु गरेका थिए, तर जनसकरकार गठनको ३४  दिनमै २००७ साल फागुन १९ गते उनको असामयिक निधनपछि त्यो कार्य त्यसै रोकियो ।

२०१५ साल माघमा राजा महेन्द्र भैरहवा आउँदा दाङका तत्कालीन बडाहाकिम झुलेन्द्रविक्रम राणाले प्रस्तुत गरेको प्रतिवेदनमा कोइलावासबाट देउखुरी हुँदै दाङसम्म मोटररोड बनाउने सर्भे गरी लागत स्टिमेट चाँडो तयार गर्नु भन्ने हुकुम प्रमाङ्गी गरिदिए ।

त्यस अनुरुप नेपाल सरकारका ओभरसियर मनोहरलाल र प्रितम सिंह सर्भेका लागि आए, तर पाहाडी बाटो ओभरसियरको सर्भेले हुँदैन भन्दै दामोदरलगायत यहाँका व्यक्तिहरुले फिर्ता पठाइदिए ।

नेपाल सरकारका तात्कालीन यातायात सचिव सुरेन्द्र शंशेर राणाले सरकारसँग पर्याप्त इञ्जिनियर नभएको भन्दै त्यसको कार्यान्वयन अघि बढाएनन् ।

२०१७ सालमा वडाहाकिम दामोदरले घोराही–देउखुरी–कोइलावास मोटरबाटो सर्भे गरिपाउँ भनी निवेदन दिँदा नेपाल सरकरबाट त्रिवर्षे योजनामा पारे, तर उनी हटाइए । २०१८÷०१९ को बजेटमा यस कार्यको लागि जिल्ला विकास वोर्डलाई रु. १५००० निकाशा भए पनि यो कार्य खासै प्रगति भएन ।

सरकारी कदम अघि नबढेपछि दामोदरकै अगुवाईमा २०१८ साल कार्तिक १८ गतेदेखि देउखुरीका जनताले देउखुरी कोइलावास सडक निर्माण गर्न श्रमदान शुरु गरे, जनसहभागितामा सडक तयार भयो । २०१६ सालमा भारतले जलकुण्डीबाँध निर्माण गर्ने तयारीका काममा नेपालगञ्जदेखि रिहारसम्म मोटर बाटो  बनाएको थियो ।

जलकुण्डीबाँध बाँध्ने कार्य जनदबाबमा रोकियो, तर मोटरबाटो यथावत थियो । पश्चिम दाङका जनताले २०१९ सालमा जनश्रमदान गरेर जलकुण्डीदेखि तुलसीपुरसम्म मोटरबाटो ल्याए, त्यो बाटो तुहीदाङका चुर्णबहादुर वली क्षेत्रीले नक्सांकन गरेअनुसार निर्माण भयो ।

२०१७ सालको काण्डपश्चात २०१७ साल पुस १३ गते दाङको बडाहाकिमको रुपमा दामोदर शर्मा घिमिरे नियुक्त भए ।

दामोदर घिमिरे २००७ सालमा संलग्न व्यक्तिमात्र थिएनन्, दाङको सामाजिक विकासका लागि एउटा उदाहरणीय व्यक्ति नै थिए । उनले २००७ सालको क्रान्ति पश्चात राजनीति छाोडेर सामाजिक अभियानमा संलग्न थिए ।

उनी हठी र निडर स्वभावका थिए । उनले भरतपुर स्कूल भवन बनाउँदा चन्दा संकलन गर्न जाने र चन्दा नदिनेहरुका घरमा अनसनसमेत बस्ने गरेबाट त्यतिबेला तेरो घरमा ‘दामोदर पसोस्’ भन्नेसम्म गाली बनेको सुनिन्छ ।

यस्ता निडर, हठी, दृढनिश्चियी र समाजसेवी व्यक्तित्व ‘पावर’मा आएपछि केही परिवर्तन देखिनु स्वाभाविक हो । उनले प्रस्तुत गरेको हठीपनले एउटा परिणाम दियो–
दाङलाई बाटाघाटाले एउटै सञ्जालमा जोड्ने ।

त्यसक्रममा उनले पूर्वपश्चिमका कैयौं बाटाहरु परिकल्पना गरे । उनले बाटो निर्माण गर्दा वस्ती नजिकैको, तर खाली जग्गा कटान गरी ठूल्ठूला रोड निर्माण गरेका थिए ।

त्यसमध्ये कति निर्माण गरे, कति कल्पनामै रह्यो । उनले दाङमा उत्तरमध्ये र दक्षिण गरी तीनवटा र देखउरीमा दुईवटा बाटो मुख्यबाटाको रुपमा र अन्य कैयौं सहायक बाटाको रुपमा परिकल्पना गरेको पाइन्छ ।

उनले घोराही–देउखुरी–कोइलावास सडक, दाङको उत्तरमा घोराहीको मध्यदेखि  हापुर निघुवारको तल्लोभाग, अवलडाँडाको तल्लो भाग, गणेशपुरको तल्लो भाग, सक्रामको तल्लो भागबाट तुलसीपुको माथिल्लो भाग गणेशपुरसम्म जोड्ने सडक, कुहिरेपानीदेखि तल्लो मानपुर–उरहरीतर्फको अर्को सडक, उदयपुर, मुर्कुटी, हर्नोक लमही–रामपुर–घोराही सडक तथा घोराही वेलहरी–नैनवार फूलबारी–तुहीदाङ–जलकुण्डी बाटो, कृष्णनगर (शिवराज) कोइलावास बाटो, कोलही–केरुनिया–भालुवाङ तथा गढवा सीक्टा बाटोको परिकल्पना गरेको भेटिन्छ ।

दामोदरले आफ्नो परिकल्पनालाई मूर्त रुप दिने निकै मिहिनेत गरे । ४९ दिनमै उनले यहाँ निकै ट्रयाक खन्ने काम गरे । जनसहगिता पनि उनलाई सोचेजस्तै प्राप्त भयो ।

तर राम्रो काम गरेको नपच्ने व्यक्तिहरु पनि हुन्छन् । उनको काम गराइबाट रुष्ट भएकाहरुले उनलाई पुराना कांग्रेस भएको आरोप लगाई उजुरी गरे र २०१७ साल फागुन ३ गते उनी हटाइए ।

उनको ठाउँमा माधवलाल तवदार बडाहाकिम भई आए । यिनै तवदार बडाहाकिम हुँदा दामोदरको परिकल्पनाअनुसार २०२० सालमा मात्र घोराही–देउखुरी मोटरबाटोले पूर्णता पायो ।

जनश्रमदानबाट घोराही–अर्जुनखोला मोटर ट्रयाक खन्ने काम भयो । दाङले २००८ साल जेठ ३ गते छुट्टै जिल्लाको मान्यता पाई बडाहाकिम बस्न थालेपछि अनिरुद्रप्रसाद सिंह, जयमंगलप्रसाद सिंह, लोकजंग राणा, झुलेन्द्रविक्रम राणा, ठाकुर केदारप्रसाद सिंह, विनोदप्रसाद धिताल, दामोदर शर्मा र माधवलाल तावेदार गरी ८ जना बडाहाकिम (कोहीकोहीले भक्तनारायण चौधरीलाई बडाहाकिम लेखेका छन्, तर उनी बडाहाकिम नभएर डिष्ट्रिक डेभलपमेण्ट अफिसर म्म्इ हुन् ।) भए, तर अरु ७ जनाको कतै नाम सुनिँदैन ।

तर जनताको लागि समर्पित एउटा व्यक्तिको समर्पणलाई आज सम्पूर्ण दाङले स्मरण गरिरहेको छ । दामोदरको कार्यकाल सकिएको ५७ वर्षपछि पनि हामी उनले तयार गरेकोभन्दा थोरै मात्र ट्रयाक थप गर्न सकेका छौं ।

२०४८ सालमा खुमबहादुर खड्का यातायातमन्त्री हुँदा पनि धेरै बाटाहरु खुले, तिनी पनि दामोदररोडकै विस्तार र तिनमा जोडिने लिंकरोड बने । आज सडकमा जेजति थप गरिरहेका छौं ‘दामोदर मोडेल’कै सेरोफोरोमा गरिरहेका छौं ।

विकासको गति नियमित छ, तर दाङ नियमित विकासबाट सन्तुष्ट छैन । दाङले विकासमा दामोदरको कार्यकालजस्तै कायापलट खोेजेकोछ, दामोदरको शैलीलाई आफ्नो रोलमोडेल मान्ने एउटा दृढनिश्चियी र समर्पित राजनेताको खाँचो दाङले महशुस गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*