दाङ,३१ साउन । जिल्ला प्रशासन कार्यालय दाङले शनिबार पनि सेवाग्राहीलाई कार्यालयवाट सेवा प्रदान गर्ने भएको छ । सेवाग्राहीहरुको सहजताका लागि भदौदेखि जिल्ला प्रशासन कार्यालय दाङ शनिवार विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कार्यालय खुल्ने भएको प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले बताए ।
भदौ २ गते शनिबारदेखि सेवा दिन शुरु गर्न थालेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए । उनका अनुसार ब्यस्त र टाढावाट आएका नागरिकहरुलाई मध्यनजर गरि शनिबार पनि सेवा दिन थालिएको बताए । ‘कतिपय टाढाका मानिसहरु शुक्रवार प्रशासन आउदा काम बन्दैन र आइतवारसम्म पर्खनुपर्ने हुन्छ भने त्यस्तै कतिपय बस्त हुनुहुन्छ’ प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने,‘ टाढावाट आएका र बेस्त मानिसहरुको लागि शनिबार पनि कार्यालय खुल्ला गर्न लागेका हौं ।’
त्यस्तै अन्य दिनहरुमा कर्मचारी, बिद्यार्थी,व्यवसायीलगायतको सहजताको लागि शनिवार पनि प्रशासन खुल्ला गर्ने निर्णय गरेका हौ । ‘ दुई महिनासम्म शनिवार कार्यालय खुल्ला गरेर सेवा दिने विचार गरेका छौँ, शनिवार सेवाग्राही आउछन कि आउदैन, परिक्षण पनि हुनेछ’ प्रजिअ श्रेष्ठले भने,‘ शनिबार पनि सेवा लिनेको संख्या उल्लेख्य भएमा सेवालाई निरन्तरता दिने छौ ।’ सेवाग्राहीको माग अनुसार शनिबार पनि सेवा दिन थालिएको उनको भनाई छ ।