Home / Feature Breaking news / किन बढ्दै छ सम्वन्ध विच्छेदको घटना ?

किन बढ्दै छ सम्वन्ध विच्छेदको घटना ?

दाङ,२७ असार । सम्बन्ध विच्छेद सुन्दैमा नकारात्मक कुरा हो । तर यही कुरामा जिल्ला अदालतमा दैनिक जसो बहस हुने गरेको छ । केही समय यता दाङ जिल्लामा सम्बन्ध विच्छेदका घटना बढेका छन् । दाङ देउखुरी जिल्ला अदालतका अनुसार आर्थिक वर्ष २०७४र०७५ को साउन महिनादेखि यही असार १८ गते सम्म पाँच सय ४२ वटा मुद्दा दर्ता भएका छन् ।

जिल्ला अदालतका श्रेष्तेदार गम्भीर रानाका अनुसार सम्वन्ध विच्छेदका मुद्दा मध्य चार सय ६१ जनाको मुद्दा फैसला गरिएको छ अर्थात सम्बन्ध विच्छेद गरिएको छ । बाँकी ८१ जोडीको मुद्दा फैसला किनारा लाग्न बाँकी छ । जिल्ला अदालतका न्यायधीश हेमन्त रावलका अनुसार २० देखि ४५ बर्ष उमेर समुहका जोडीहरु सम्बन्ध विच्छेदका लागि आउने गरेको छन् । रावलले पति पत्नी बीच हुने सम्बन्ध विच्छेद आफैमा समाधान नभएको बताउछन । सम्वन्ध विच्छेद समस्या होइन । तर, यसले समस्या भने निम्त्याउँछ । जब पति–पत्नी अलग हुन्छन्, त्यसको असर उनीहरुले मात्र झेल्नुपर्दैन । यसको सबैभन्दा ठूलो असर परिवार र छोराछोरीको मनोविज्ञानमाथि पर्छ । सानैमा आमाबुवाको सामिप्यता वा अभिभावकत्व गुमाएपछि बच्चाहरु बिचलित हुने संभावना रहन्छ । उनीहरु अस्थिर र भयग्रस्त हुनसक्छन् । उनीहरुमा हिनताबोध पैदा हुनसक्छ ।

यस्ता छन सम्बन्ध विच्छेद हुनुको कारण 

सम्बन्ध विच्छेद अनौठो कुरा होइन् । श्रीमान, श्रीमती मन मिल्दा संगै बस्ने नमिल्दा छुटिने । मननै नमिलेपछि किन संगै बस्ने भन्ने बिषयमा कुरा भइरहेका हुन्छन् । पति–पत्नी एकसाथ अगाडि बढ्नै नसक्ने अवस्था आउँछ, उनीहरुले अलग हुने निर्णय गर्छन् । यस्ता निर्णयले उनीहरुको क्षणिक समस्याको समाधान हुन्छ । अहिले जिल्ला अदालतमा महिलाहरुले श्रीमानले खान लाउन दिएन्, राम्रो व्यवहार गरेन, हेरबिचार राम्रो गरेन् भन्दै सम्बन्ध विच्छेदका मुद्धा दर्ता गर्नेहरुको संख्या अत्याधिक छ । भित्रि रुपमा कारण फरक भएपनि अधिकासंले यही बिषय बनाइँ अंश सहितको सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गर्ने गरेको जिल्ला न्यायधीश रावलले बताए ।

खासमा दम्पती भनेको एकअर्काको आड भरोसा हुन् । एकअर्काको दुःखसुःखका साझेदार हुन् । एकअर्काका प्रेम र विश्वासका आधारस्तम्भ हुन् । दम्पतीबीचको यहि प्रेम, विश्वास, भरोसा, आत्मियता, समझदारी आदिले सम्बन्ध टिकाउ हुन्छ । मिठासपूर्ण हुन्छ । पति र पत्नीबीच सम्बन्ध सुमधुर र दिगो भयो भने नै उनीहरुको गृहस्थी जीवन सुखमय बित्ने हो । त्यती मात्र होइन्, उनीहरुका छोराछोरी, शाखा–सन्तान, इष्टमित्र, समाजको आपसी सम्बन्ध बलियो बन्ने हो । हाम्रो शास्त्रहरुमा लेखिएको छ, पति र पत्नी समझदार हुनु । विश्वासको वातावरण कायम रहनु । सन्तान सुख मिल्नु आफैमा ठूलो उपलब्धि हो । तर, कहिले काहिँ दम्पतीबीचको सम्बन्ध त्यती सुमधुर हुँदैन, जति हुनुपथ्र्यो । पती वा पत्नीबीच कतिपय कुरामा तालमेल मिल्दैन , मत मिल्दैन । एकसाथ बस्दा पारिवारिक लय मिल्दैन, आपसमा मनमुटाव हुन्छ, अविश्वास बढ्छ, झैझगडा हुन्छ यसले दाम्पत्य जीवनलाई धराप पारिदिन्छ । साना कुरामा समझदारी तथा मिलाप नहुँदा ठुलै समस्याहरु उत्पन्न गर्ने गरेको मुख्य न्यायाधिश रावल बताउछन ।

यस्ता विभिन्न किसिमको समस्याले घेरा हालेपछि सम्बन्ध विच्छेदको अवस्थासम्म ल्याइपु‍र्याउँछ । यस्तो अवस्थामा आइपुगेपछि ‘सँगै जिउने, सँगै मर्ने’ बाचा गरेर जोडिएका दम्पतीहरु अलग हुन्छन् ।

सम्बन्ध विच्छेदले बालबालिका बढी समस्यामा

जिल्ला न्यायधीश रावल भन्छन ‘एक सम्बन्ध विच्छेद भयो भने अर्को सम्बन्ध राम्रो हुन्छ भन्न सकिदैँन् ।’ समाजमा स्थापित हुन गाह्रो हुन्छ । दुईको सम्बन्ध विच्छेदले सबैभन्दा ठूलो झट्का छोराछोरीले व्यहोर्नुपर्छ । अबोध छोराछोरीले बिना कसुर सजाय झेल्नुपर्छ । छोरा छोरी आमा–बुवा संग बस्न पाउँदैनन् र सहज तरिकाले जीवन यापन हुन सक्दैन् र छोराछारीको भविश्य अन्यौल हुन्छ ।

आमा बुवा नै अलग भएपछि उनीहरुले अभिभावकत्व गुमाउँछन् । आमा बुवाको माया पाउँदैनन् । साथीभाईको अगाडि मुख लुकाउनुपर्ने वाध्यता हुन्छ । सम्बन्ध विच्छेदको नकारात्मक प्रभाव धेरै छ । सम्बन्ध विच्छेदका कारण बालबालिकामा पर्ने मानसिक आघात पहिलो पक्ष हो । बावु आमाको सम्वन्ध विच्छेद पछि छोराछोरी, परिवार, आफन्त, नातेदार सवैले सास्ती व्यहोर्नुपर्छ । छोराछोरीको हकमा चरम मानसिक पीडाबाट गुज्रनुपर्ने स्थिति पैदा हुने गरेको छ । छोराछोरीले अभिभावकत्व गुमाउँछन् , अभिभावकको संरक्षण, माया, स्नेह गुमाउँछन्, जसका कारण उनिहरु गलत काममा लाग्न सक्ने देखिएको न्यायाधीश रावल बताउछन ।

जिल्लामा साउन महिनादेखि असार महिनाको १८ गते सम्म चार सय ६१ जनाले सम्बन्ध विच्छेद गरीसकेका छन्, भने ८१ मुद्दाको किनारा लाग्न बाँकी छ । यो संख्या भयावह रहेको भन्न सकिने न्यायाधीश रावलको भनाई छ ।जसरी सजिलै बिबाह हुन्छ त्यसरी नै सजिलै सम्बन्ध विच्छेद भैरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*