Home / Feature Breaking news / कृष्णबहादुर महरा रोल्पा पुगेर भने– ‘चुनावमात्र दाङबाट लड्ने हो, रोल्पाको विकासमा क्रियाशील छु’

कृष्णबहादुर महरा रोल्पा पुगेर भने– ‘चुनावमात्र दाङबाट लड्ने हो, रोल्पाको विकासमा क्रियाशील छु’

दाङ, २२ कार्तिक
माओवादी नेता कृष्णबहादुर महरा यसपटक रोल्पाबाट उम्मेदवार बन्न चाहन्थे । बाधक बने अर्का नेता वर्षमान पुन ।

उनले महराको योजना सफल हुन दिएनन् । बाध्य भएर दाङको क्षेत्र न‌ं. मा २ झरे, महरा । उनले चुनाव प्रचार थालिसके । तर, रोल्पालाई अझै पनि पहिलो प्राथमिकतामा राखेको संकेत दिइरहेकै छन् । उनी आफ्नो चुनावी क्षेत्र दाङ छोडेर सोमबार टुप्लुक्क लिबाङ पुगे ।

रोल्पा नगरपालिका–१ मेबाङस्थित आफ्नो पुरानो घरबास रहेको ठाउँमा स्थापित टेक्निकल कलेज उद्घाटन कार्यक्रमको बहाना बनाएर उनी आफू यही रहेको सन्देश दिन पुगेका थिए ।

महरा दाङको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनीधी सभा सदस्यकालागि संयुक्त गठबन्धनबाट उमेद्वार बनेका छन् ।

उनले भाषणमा पटकपटक आफुले रोल्पा नछोडेको अभिव्यक्ति दिइरहे । ‘म दाङबाट चुनाव लड्न थाले पनि रोल्पा छोडेको छैन । यही छु । मलाई यही भएको ठान्नुस्,’ उनले भने– ‘म यहीकै विकासमा क्रियाशील छु । चुनाव उताबाट लड्ने कुराले केही फरक पार्दैन ।’

उनले दाङबाट चुनाव लड्नु बाध्यता भएको भाव व्यक्त गरे । लिबाङमा आयोजित पत्रकार भेटघाटमा भने पुन पनि सहभागी भए ।

पुनको छेउमा पनि महराले आफू रोल्पामै रहेको दोहोर्‍याए । कलेज उद्घाटन कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता महरालाई फूलमालासहित स्वागत गर्न लामबद्ध भए । एक किलोमिटरको दूरी पर्ने लिबाङ बजारमा रहेका पुन उक्त कार्यक्रममा गएनन् ।

चुनावको समयमा महरा आफ्नो क्षेत्रमा आएकोप्रति पुन सन्तुष्ट थिएनन् । महराले अनावश्यक चुनावी चलखेल गर्न थालेको पुनको आशंका थियो ।

कलेज उद्घाटनका क्रममा गरेको भाषणमा महराले एकपटक पनि पुनको नाम उच्चारण गरेनन् । प्रदेशसभा सदस्यका उम्मेदवार कुलप्रसाद केसी र दीपेन्द्रकुमार पुनलाई भोट मागे तर पुनबारे केही बोल्न चाहेनन् ।

रोल्पामा एउटा मात्रै निर्वाचन क्षेत्र भएकाले यहाँको अगुवा को बन्ने भन्नेमा महरा र पुनबीच लामै संघर्ष चलिरहेको छ ।

महरा अनेक उपायले रोल्पा नछोडेको प्रमाणित गर्न खोज्ने गरेको आजको कान्तिपुर दैनिकले समाचार प्रकाशन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*