Home / समाचार / साझाले काठमाडौंमा अपांगमैत्री ३० बस थप्ने

साझाले काठमाडौंमा अपांगमैत्री ३० बस थप्ने

११ चैत, काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकामा अपांगमैत्री र युरो ३ गुणस्तरयुक्त थप ३० वटा बस भित्र्याउने भएको छ । यी बस भित्रिएपछि साझाको बस संख्या ४६ पुग्नेछ ।

नयाँ बसहरुमा काठमाडौं महानगरपालिकाको १० करोडको सेयर लगानी छ । ति बसहरुको खरिदबारे बिहीबार साझा यातासात र भारतीय कम्पनी अशोक ले-ल्याण्ड कम्पनीबीच सम्झौता भएको छ । सम्झौतापत्रमा साझा सहकारी लिमिटेडका अध्यक्ष कनकमणि दीक्षित र अशोक ले-ल्याण्डका गौरव कुमारले हस्ताक्षर गरे ।

अब साझाले भित्र्याउने सबै नयाँ बस युरो-३ मापदण्डका हुने कम्पनीका कायममुकायम प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए । दुईवटा ढोका हुने बस अपांगमैत्री हुनेछ । बसको पछिल्लो भागको ढोकाबाट ह्वील चियर प्रयोगकर्ताहरु सजिलै बस चढ्न सक्नेछन् ।

४० सिट क्षमताको बसमा २५ वटा ह्यांगर पनि राखिने छ । बसमा मनोरञ्जनका लागि टिभी जडान हुनेछ भने सुरक्षाका लागि सीसी क्यामारा पनि जोडिनेछ । साझाले ०७० को वैशाखदेखि राजधानीमा १६ वटा बस सञ्चालन गरिरहेको छ ।

अहिले नयाँ बसपार्कदेखि लगनखेलसम्म ६ वटा बस चलिरहेका छन् भने नयाँ बसपार्कदेखि त्रिभुवन विमानस्थलसम्म ४ वटा बसले सेवा दिइरहेका छन् । लगनखेलदेखि बुढानिलकण्ठसम्म ६ वटा बस सञ्चालनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*