Home / Feature Breaking news / केपी ओली र प्रचण्डलाई कांग्रेसको ४ बुँदे जवाफ

केपी ओली र प्रचण्डलाई कांग्रेसको ४ बुँदे जवाफ

दाङ, ८ साउन

सोमवार पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्तव्य दिनेक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसलाई लक्षित गरी दिएको अभिव्यक्तिप्रति कांग्रेसले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । पार्टी प्रबक्ता बिश्वप्रकाश शर्माले ४ वटा बुँदामा उहाँहरुको अभिव्यक्ति र लाञ्छनाको जवाफ दिएका छन् ।

प्रेस बिज्ञप्ती मार्फत प्रबक्ता शर्माले भनेका छन्, नेपाली कांग्रेस हलुका र दम्भयुक्त शब्द लफ्फाजी भन्दा माथी उठेर तत्कालै समाधानमा पुग्न सम्माननीय प्रधानमन्त्रीज्यू र सिंगो सत्तापक्षलाई सचेत गराउन चाहन्छ ।

प्रबक्ता शर्माले जारी गरेको बिज्ञप्तीमा प्रधानमन्त्री केपी शर्मा ओली र नेता पुष्पकमल दाहालले व्यक्त गर्नु भएको धारणाप्रति हाम्रो ध्यानाकर्षण भएको उल्लेख गर्दै यस्तो जवाफ दिइएको छ ।

१. प्रधानमन्त्रीज्यूले हाल भइरहेको आन्दोलनलाई लक्षित गर्दै डा. गोविन्द केसी र उहाँको मुद्धालाई समर्थन गर्नुलाई त्यान्द्रो समाएर राजनीति गरेको भन्नु भन्ने अभिव्यक्ति दयनीय त छ नै आपत्तिजनक पनि छ । हामी स्मरण गराउन चाहन्छौं, लोकतन्त्र भनेको लाख मानिसले जुलुश गर्न पाउने अधिकार मात्र होइन, केवल एकजना व्यक्ति मात्रैले पनि न्यायको लागि आवाज उठाउँछ भने राज्यले त्यसलाई सुनुवाई गर्नु वास्तविक लोकतन्त्र हो । त्यसमा पनि डा. गोविन्द केसी केवल एकजना व्यक्ति मात्र नभई यतिबेला आम नेपालीले समर्थन गरिरहेका अभियन्ता हुनुहुन्छ । उहाँको न्यायोचित मागका पक्षमा उभिनुलाई त्यान्द्रो समाएर राजनीति गरेको भन्नु र राजनीतिक आग्रह राखेर डा. केसीलाई हेर्नु प्रधानमन्त्री पदको उचाई अनुरुपको स्वभनिय अभिव्यक्ति विल्कुलै होइन ।

२. डा. केसीले विगतमा गर्नु भएको अनसन र मागलाई सम्वोधन गर्ने क्रममा नेपाली कांग्रेसका तत्कालिन सभापति शुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले डा. केदारभक्त माथेमाको संयोजकत्वमा उच्च स्तरीय कार्यदल गठन गरेको थियो । सोही कार्यदलको प्रतिवेदनमा आधारित रहेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको अघिल्लो सरकारले अध्यादेश जारी गरी डा. गोविन्द केसीले उठाउनु भएका मागहरु पुरा गरेको थियो ।

३. आजको मितिमा उत्पन्न भएको समस्या नेपाली कांग्रेस वा डा. केसीका कारण नभई सो अध्यादेशलाई उल्ट्याउनतर्फ ओली सरकार उद्धत भएका कारण उब्जिएको समस्या हो । सबैमा जगजाहेर नै छ ।

४. प्रष्ट भाषामा के प्रष्ट्याउन चाहन्छौ भनेः– डा. केसीको मागलाई सम्बोधन गरी उहाँको जीवन रक्षा गर्न पक्ष र प्रतिपक्ष दुबै ऐक्यवद्ध ढंगले गम्भीर हुन जरुरी छ । तर संसदलाई समेत छलेर सडकमा दमनको अस्त्र प्रयोग गर्ने सरकारलाई सच्चिनका लागि दवाव दिनु पर्नेमा उल्टै नेता दाहालले कांग्रेस माथि लासको राजनीति गरेको आरोप लगाउनु दुःखद छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*