Home / Feature Breaking news / अमेरिकाले रोक्यो नेपाल लगायतका देशलाई दिँदै आएको एक खर्ब बढीको सहायता

अमेरिकाले रोक्यो नेपाल लगायतका देशलाई दिँदै आएको एक खर्ब बढीको सहायता

 विश्वकै धनीमध्ये एक एलन मस्क प्रमुख रहेको संस्थाले अमेरिकाले नेपाल लगायतका देशलाई उपलब्ध गराउँदै आएको ७५ करोड अमेरिकी डलर (लगभग एक खर्ब तीन अर्ब रुपैयाँ) सहायता रोक्ने निर्णय गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सरकारी खर्च घटाउने उदेश्यले स्थापना गरेको डिपार्टमेन्ट अफ गर्भमेन्ट इफिसिएन्सी (डीओजीई)ले उक्त निर्णय गरेको हो । डीओजीईको प्रमुख विश्वकै धनी व्यक्ति एलन मस्क हुन् ।

उक्त निर्णयमा अमेरिकाले संघीयता र जैविक विविधताका क्षेत्रमा नेपाललाई उपलब्ध गराउँर्दै आएको करिब साढे पाँच अर्ब रुपैयाँ पनि परेको छ ।

डीओजीईले सामाजिक सञ्जाल एक्समार्फत नेपाली समयअनुसार आइतबार बिहान उक्त निर्णय सार्वजनिक गरेको हो ।

डीओजीईले नेपालको संघीयताका क्षेत्रमा दुई करोड र जैविक विविधता क्षेत्रमा एक करोड ९० लाख गरी कुल तीन करोड ९० लाख अमेरिकी डलर (लगभग पाँच अर्ब ३९ करोड रुपैयाँ) सहायता रद्द गरिएको जनाएको छ ।

डीओजीईले नेपाल, मोजाम्बिक, कम्बोडिया, पराग्वे, सर्विया, माल्डोभा, भारत, बंगलादेश, लाइबेरिया, माली लगायतका देशलाई उपलब्ध गराउँदै आएको सहायता रद्द गरेको घोषणा गरेको हो ।

अमेरिकाले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) मार्फत सन् २०२२ यता नेपाललाई प्रत्येक वर्ष औसतमा १२ करोड ५० लाख अमेरिकी डलर (करिब १७ अर्ब २९ करोड रुपैयाँ) उपलब्ध गराउँदै आएको छ ।

यूएसएआईडीले अनावश्यक रूपमा सहायता उपलब्ध गराउँदै आएको आरोप लगाउँदै राष्ट्रपति भएलगत्तै ट्रम्पले यसबाट दिँदै आइएको सहायता तीन महिनाको लागि रोक्ने आदेश जारी गरेका थिए ।

त्यसपछि जीओजीईले यूएसएआईडीले उपलब्ध गराएको सहायताको अनुसन्धान गर्दै आएको छ । यसैक्रममा डीओजीईले नेपाल लगायतका देशलाई उपलब्ध गराइँदै आइएको ७५ करोड अमेरिकी डलरभन्दा बढी रकम रोक्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*