दाङ, १० चैत । सरकारले बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । चुनाव नजिकिएसँगै दलहरू पनि चुनावी प्रचार–प्रसारमा केन्द्रित भएका छन् । निर्वाचनमा प्रायः उठ्ने विषय भनेको निर्वाचन आचार संहिता नै हो ।
आयोगले चुनावलाई निष्पक्ष, भयरहित वातावरणमा चुनाव सम्पन्न गराउने दायित्व भएको भन्दै सरोकारवालाई आचारसंहिताको बारेमा जानकारी गराउन कार्यक्रम गर्दै समेत आएको छ । बुधवार दाङमा समेत सरोकारवालाको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले केन्द्रीय तहमा राजनीतिक दलहरूसँगको छलफलबाट आचारसंहिता निर्माण गरेको भन्दै आचारसंहिता कार्यान्वयनमा सबै राजनीतिक दललगायत सबै सम्बद्ध पक्ष जिम्मेवार बन्नुपर्ने बताए ।
‘आचारसंहिताको कार्यान्वयन जरुरी छ । सेवा–सुविधा प्राप्त गरेका व्यक्ति त्यो सेवा सुविधा त्यागेर निर्वाचनमा उम्मेद्वार बन्न पाउने स्पष्ट व्यवस्था छ’ बुधवार निर्वाचन आयोग र नेपाल कानुन समाजले संयुक्त रूपमा आयोजना गरेको निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका विषयक अन्तत्र्रिmया कार्यक्रममा उनले भने ‘कानुन, ऐन, नियमको आधारमा निर्वाचन आयोगले राजिनामाको विषयलाई प्रष्टसँग निर्णय गरेको छ ।
राजीनामको विषयमा मौनता साँधेर बस्दा कसैको रद्ध गरिपाउँ भनेर उजुरी परेमा कानुनमा टेकेर निर्णयमा पुग्नुपर्ने हुन्छ ।’ निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आयोगले आचारसंहिता पूर्ण पालना भए नभएको बारेमा कडा रूपमा अनुगमन हुने बताए । ‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने दायित्व तपाईँ–हामी सबैको हो’ उनले भने–‘आचारसंहित लागू हुन्छ, कार्यान्वयन हुँदैन कि भन्ने दुविधा त्याग्नुस् ।’
कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव धनराज ज्ञवालीले निर्वाचन आचारसंहिता दिशा–निर्देश भएकाले सबैले यसको पालना गर्नुपर्ने बताए । ‘निर्वाचन आचारसंहिता सकैका विरूद्ध जारी भएको राजनीतिक दस्तावेज होइन’, उनले भने, ‘भड्किलो निर्वाचन प्रणालीलाई सुधार गर्नको लागि आचारसंहिताको पालना जरुरी छ । निर्वाचनमा हुने अस्वस्थ खर्च गर्ने परिपाटीलाई नियन्त्रण गर्न खर्चको सीमा समेत तोकिएको छ ।’ नेपाल सरकारले चैत ३ गते राजपत्रमा निर्वाचन आचारसंहिता प्रकाशित गरिसकेको छ ।
कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, प्रदेश निर्वाचन कार्यालय, न्यायाधीश, अधिवक्ता, संघसंस्थाका प्रतिनिधि, नागरिक समाज, प्रहरी, प्रशासन, पत्रकारलगायतको उपस्तिथि थियो । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीको अध्यक्षता तथा उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश नीता गौतम दीक्षितको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
निर्वाचन आचारसंहिताका प्रमुख विषयहरू र सरोकारवालाहरूको भूमिकाबारे प्रधानमन्त्रीको कार्यालयका सचिव धनराज ज्ञवालीले प्रस्तुत गरेका थिए । कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत, नेपाली कांग्रेस जिल्ला सभापति शंकरप्रसाद डाँगी, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्यलगायतका नागरिक समाजका अगुवाहरूले छलफलमा भाग लिएका थिए ।
निर्वाचन आचारसंहिताको कार्यान्वयन तथा अनुगमनबारे निर्वाचन आयोगका उपसचिव लक्ष्मी शर्माले जानकारी गराएकी थिइन् । निर्वाचन आयोगले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति घोषणा गरिसकेकाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, व्यवस्थित, मर्यादित र कानुनसम्मत रूपमा सम्पन्न गराउन सरोकारवालाहरूसँग राय, सुझाव संकलन र आचारसंहिता पालना गर्न अपील गर्दै आएको छ । न्यायपरिषद्का पूर्व सदस्य पदम वैदिकको स्वागतबाट सुरु भएको कार्यक्रमको उद्देश्यमाथि प्रकाश र सहजीकरण हेमा न्यौपानेले गरेकी थिइन् ।
RaptiSandesh RaptiSandesh