दाङ, १७ कार्तिक । नेपाल पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष तथा पे्रस काउन्सिल नेपालका पूर्व अध्यक्ष नारायणप्रसाद शर्माले पत्रकारिता क्षेत्रमा विकृति देखा परेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
उनले पछिल्नो समय पत्रकार भन्न पनि लाज लाग्ने अवस्था सिर्जना भएको बताए । ‘पत्रकारले आफ्नो आदर्श, मूल्य नै भुलेका छन्’, पत्रकार महासंघ दाङले दशै, तिहार पर्वको अवसरमा मंगलवार गढवाका कुलपानी सामुदायिक वनमा गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा संस्थापक अध्यक्ष शर्माले भने– ‘यो विकृतिलाई सच्याउँदै पत्रकारिता पेशालाई मर्यादित बनाउनुको विकल्प छैन ।’ उनले पत्रकारको संख्यामा बृद्धि भए पनि पत्रकारिता क्षेत्रको विकास भने अपेक्षाअनुसार नभएको बताए ।
पत्रकार भनेको समाज रुपान्तरण गर्ने शक्ति भए पनि पछिल्लो समय त्योबाट विमुख भएको बताए । उनले पत्रकारहरु आत्मालोचना सुन्नसमेत तयार नभएको बताए । ‘पत्रकारहरु आत्मालोचना गर्न तयार छैनन्’, संस्थापक अध्यक्ष शर्माले भने– ‘आफ्नो कर्तव्य समेत पत्रकारले भुलेका छन् । यसमा सुधारको खाँचो छ ।’
उनले पत्रकारिताको मर्म, धर्म र कर्तव्यबाट विमुख नहुनसमेत पत्रकारहरुलाई सुझाव दिए । उनले ठूूलो त्याग गरेर लोकतन्त्र ल्याए पनि त्यसलाई संस्थागत गर्ने काम नभएकोमा दुखेसो गरे । ‘त्याग र आन्दोलनबाट लोकतन्त्र स्थापना भयो’, उनले भने– ‘तर निहित व्यक्तिले मात्र त्यसको फाइदा लिने गरेकोले लोकतन्त्रमा समेत खिया लाग्दै गएको छ ।’
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य रेश्मीराज नेपालीले वर्तमान गठबन्धन नै असफल भएको बताए । ‘संसद चलेको छैन, न्यायपालिकासमेत आन्दोलन छ । सरकारले निकास दिन सकेको छैन’, उनले भने– ‘यस कार्यले मुलुक नै गम्भीर मोडमा पुगेको छ ।’ उनले पछिल्लो समय राष्ट्रियतासमेत कमजोर बनेको भन्दै राष्ट्रको पक्षमा कलम चलाउन पत्रकारलाई सुझाव दिए ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य सुलोचना गौतम, प्रेस चौतारीका केन्द्रीय सदस्य सुरेश सुमन डाँगी, प्रेस सेन्टर दाङका इन्चार्ज पुरन शर्मा, प्रगतिशील पत्रकार संघ दाका अध्यक्ष महेश रिजाल, सामुदायिक रेडियो प्रसारक संघ लुम्बिनी प्रदेशका निवर्तमान संयोजक केपी घिमिरे, पत्रकार महासंघ दाङका निवर्तमान उपाध्यक्ष लिला शाह र कुलपानी सामुदायिक वन समूहका अध्यक्ष नवराज शर्मालगायतले मन्तव्य राखेका थिए । पत्रकार महासंघ दाङका उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव आर.के. शीतलले गरेका थिए । यसैबीच वन समूहले पत्रकार महासंघ दाङको नेतृत्वलाई स्वागत सम्मान समेत गरेको छ ।
RaptiSandesh RaptiSandesh