नागरिक दैनिकमा कार्यरत् पत्रकार कार्यालय अगाडि धर्नामा बसेका छन्।
नेपाल रिपब्लिक मिडियाद्वारा प्रकाशित नागरिक दैनिकसँग आवद्ध ती पत्रकारले तीन वर्षदेखि काम गरेको पारिश्रमिक नदिएपछि धर्नामा बस्नुपरेको बताएका छन्।
बुधबारबाट ती पत्रकारले कार्यालय समयबाट धर्ना दिइरहेका छन्। धर्नामा बस्ने पत्रकारमध्ये पाँचथरका नेपाल पत्रकार महासंघ अध्यक्ष गिरिराज बाँस्कोटा र सर्लाही शाखाका अध्यक्ष टंक क्षेत्री पनि छन्।
उनका अनुसार धर्नाअघि इमेल, जिल्ला ब्युरो, नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय, रिपब्लिक मिडियाको मानव संशाधन शामा बोदार्थ गरिएको थियो। ध्यानाकर्षण पत्रमा साउन १० गतेभित्र सबै पारिश्रमिक भुक्तानी नगरिए ११ गतेबाट कार्यालयमा धर्ना एवम् तालाबन्दी लगायतको कार्यक्रम गर्ने जानकारी गराइएको थियो।
‘तर, प्रधान सम्पादक गुणराज लुइँटेल र मानव संशाधनका कर्मचारीबाट कुनै सुनुवाइ भएन। त्यसपछि प्रवन्ध निर्देशक विनोदराज ज्ञवालीलाई भेट्न खोज्दा नदिइएपछि धर्नामा बस्यौं,‘ पाँचथर संवाददाता बाँस्कोटाले भने।
धर्नाका बसेका सबै पत्रकार स्ट्रिञ्जर पदमा कार्यरत् थिए। उनीहरूलाई लामो समयदेखि बढुवा पनि गरिएको छैन।
‘कसैको दुई, कसैको अढाइ, कसैको तीन वर्षदेखि पारिश्रमिक दिइएको छैन,’ बाँस्कोटाले भने।
बाँस्कोटाका अनुसार धर्ना सुरू गर्नुअघि भेट्दा प्रधान सम्पादक लुइँटेलले किस्ताबन्दीमा पैसा दिने भनी आश्वस्त पार्न खोजेका थिए। ‘हामीले त्यस्तो आश्वासनमा विश्वास गरेनौं, कसैको समाचार छापिएको छैन, सेवाबाट हटाएको जानकारी पनि आएको छैन,’ बाँस्कोटा भन्छन्।
बाँस्कोटाले श्रमजीवी पत्रकार ऐन पनि रिपब्लिक मिडियामा लागू नभएको गुनासो। बाँस्कोटाका अनुसार अहिले छ जना धर्नामा बसिरहेका छन्। धर्नामा पारिश्रमिक नपाएका अन्य १८ जना पत्रकारले ऐक्यवद्धता जनाएका छन्।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरी धर्नामा बसेका पत्रकारहरूकहाँ बुधबार पुगेका थिए।
पत्रकार महासंघका महासचिव रोशन पुरीले व्यवस्थापनलाई बिहीबार लिखित रूपमा समस्या समाधान गर्न अल्टिमेटम दिइएको बताए।
‘यसअघि पनि नागरिकमा धर्ना भएको थियो, हामीले पटक-पटक मौखिक रूपमा भन्यौं, कुरा सकारात्मक गर्ने तर काम नगर्ने भएकाले लिखित रूपमै चिठी काटेका छौं,’ पुरीले भने।
तत्काल समस्या समाधान नगरे पत्रकारहरूको सेवा सुविधा र हकहितका लागि दबाबमूलक संघर्षका कार्यक्रम गर्ने चेतावनी पनि महासंघले दिएको उनले बताए।
प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीले पत्रकारहरूको मागबारे आफू छलफलमा रहेको बताए। ‘म धर्नामा बसेका साथीहरूको मागबारे छलफलमा छु,’ उनले भने।
प्रधान सम्पादक लुइँटेलले यो विषयबारे आफूलाई नसोध्न अनुरोध गरे। उनले पत्रकारहरूले पैसा पाइरहेको जानकारी आफूले पाएको बताए।
RaptiSandesh RaptiSandesh