Home / Feature Breaking news / कांग्रेस महाधिवेशन सर्ने निश्चित तर ‘अब सम्भव छैन’ भन्न हच्किँदैछन् शीर्ष नेता !

कांग्रेस महाधिवेशन सर्ने निश्चित तर ‘अब सम्भव छैन’ भन्न हच्किँदैछन् शीर्ष नेता !

काठमाडौं । नेपाली कांग्रसको आउँदो महाधिवेशन सर्ने करिब निश्चित भएको छ । तर, महाधिवेशनका लागि ३४ दिन मात्र बाँकी रहँदा पनि सभापति शेरबहादुर देउवा भने ‘महाधिवेशन हुन्छ’ भनिरहेका छन् ।

सभापति देउवाले बुधबारको पदाधिकारी बैठकमा पनि ‘महाधिवेशन एक हुन्छ, दुई हुन्छ, तीन हुन्छ’ भनेका थिए । त्यसपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकटहरुलाई सभापतिले ‘महाधिवेशन हुन्छ, हुन्छ’ भनेर अहिलेसम्म गरेको ढिलाइ ढाकछोप गरिरहेको बताएका छन् । उनले सभापति देउवा महाधिवेशन सार्ने रणनीतिमा लागिसकेको भन्दै प्रक्रियाले नै नभ्याउने अवस्थामा पु¥याएर महाधिवेशन रोक्ने प्रपञ्च गरिएको बताएका छन् ।

“क्रियाशील सदस्यता छानबिनमा देउवा पक्षकै इच्छाअनुसार ढिलाइ भइरहेको छ,” पौडेलले आफूनिकटहरुसँग भन्ने गरेका छन्, “विवाद समाधान गर्नेभन्दा विवाद बल्झाउने र त्यसमै अल्झाउने नीति देउवाले लिएका छन् ।”

वरिष्ठ नेता पौडेलले आफूनिकटसँग भनेको भनाइ उद्धृत गर्दै उनीनिकटका एक केन्द्रीय सदस्यले भने, “अब निर्वाचन समितिले प्राविधिक कामका लागि पनि समय पुग्दैन भन्न थालेको छ ।” अब अरुले नै भ्याउँदैन भनेपछि हो त नि भ्याउँदैन ! भन्नका लागि देउवाले तयारी गरिरहेका छन् ।”

देउवानिकट नेताहरु भने अझै पनि सभापतिले भ्याउने गरी नयाँ कार्यतालिका ल्याउने भनकोले महाधिवेशन भदौ १६ गते नै हुने दाबी गर्छन् ।

“सभापतिज्यू भदौमा महाधिवेशन गर्ने विषयमा एकदमै रिजिड हुनुहुन्छ, उहाँले आज (बुधबार)को बैठकमा पनि एक हुन्छ, दुई हुन्छ, तीन हुन्छ भन्नुभएको छ,” कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाले भने, “सदस्यता छानबिनको काम हामीले ९५ प्रतिशत पूरा गरेका छौँ । केही दिनमा काम सकेर निर्वाचन समितिलाई सदस्यता हस्तान्तरण हुन्छ ।” उनले संविधानानुसार पनि महाधिवेशन सार्न नमिल्ने भन्दै भदौ १९ भित्र जसरी पनि महाधिवेशन हुने दाबी गरे ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भने महाधिवेशनको तयारी तीव्र रूपमा भएको भन्दै तयारी भए पनि कोरोनाको अवस्थाले महाधिवेशन हुने/नहुने सुनिश्चित हुने बताउँछन् ।

“भोलिको बैठकमा पुग्नुपूर्व आजको बैठकमा जस्तै देशव्यापी रूपमा कोरोनाको ग्राफ (कति घट्दो छ, कति बढ्दो छ, त्यसले पर्ने प्रभाव के छ, जिल्लाबाट साथीहरुले के भनिरहनुभएको छ) बुझ्ने छौँ,” प्रवक्ता शर्माले भने, “एउटा जिम्मेवार राजनीतिक दलले आफ्नो महाधिवेशन सम्पन्न गर्दैगर्दा तलको वस्तुस्थिति र आन्तरिक व्यवस्थापन हेरेर मात्र टुंगोमा पुग्नुपर्ने हुन्छ ।” उनले प्रष्ट शब्दमा महाधिवेशन सर्छ नभनिकनै महाधिवेशन सर्छ भन्ने स्पष्ट संकेत गरे ।

उनले निर्वाचन समितिले ५३ दिन समय चाहिने भनेकोमा ३४ दिन मात्र बाँकी रहेको भन्दै त्यस्तो अवस्थाको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा भने छलफल बाँकी नै रहेको बताए ।

“कोरोनाको ग्राफ अझ बढेर गयो भने एउटा जिम्मेवार राजनीतिक दलले भन्ने अवस्था आउँछ कि हामी महाधिवेशन पछाडि सार्नेछौँ,” शर्माले भने, “त्यस बेला संवैधानिक, व्यावहारिक र राजनीतिक प्रश्नका लागि पनि कांग्रेस उत्तर दिन तयार भएर बस्नुपर्ने हुन्छ ।”

देउवानिकट नेताहरु भने सभापति देउवाका लागि अहिलेको समय सबैभन्दा अनुकूल रहेको भन्दै यही मितिमा महाधिवेशन गर्न उनी प्रयत्नशील रहेको बताउँछन् ।

“सभापतिजीका लागि पुनः सभापति बन्न यो समय सबैभन्दा फेवरेवल समय हो,” देउवानिकटका ती नेताले भने, “भोलि सरकार अनपपुलर होला, टिमका साथीहरु भाग नपाएर भड्केलान् । विपक्षमा भएकाहरुले सरकार र पार्टीका कमजोरी देखाएर थप कमजोर पार्लान् । ती अवस्था नआउने समयमा महाधिवेशन गर्न सभापति लागिरहेको देखिन्छ ।” उनले सभापतिको मनस्थिति त्यस्तो भए पनि अब भने प्राविधिक रुपमै तोकिएको मितिभित्र महाधिवेशन नहुने बताए ।

“महाधिवेशन गर्न नसक्दा संवैधानिक, नैतिक र राजनीतिक प्रश्न त पक्कै उठ्नेछन्,” ती केन्द्रीय सदस्यले भने, “तर, अन्य दलहरुको अवस्था पनि त्योभन्दा नाजुक भएको र सत्तारुढ दल कांग्रेस नै भएकाले वैधानिकताको संकट समाधान गर्नै नसकिने नहुन सक्छ ।”

कांग्रेसको महाधिवेशन तोकिएको समयमा नहुने हो भने कांग्रेस पार्टीको विधान, राजनीतिक दलसम्बन्धी ऐन र नेपालको संविधान सबै हिसाबले अवैधानिक हुन्छ । ०७६ साल फागुन १९ गते पार्टी विधानानुसार म्याद सकिए पनि कांग्रेसले पार्टीको महाधिवेशन समयमा गर्न नसकेको परिस्थितिलाई असाधारण अवस्था मानेर ०७६ पुसमै एक वर्ष म्याद थप गरिएको थियो । तर, त्यसपछि पनि तयारी नगरी बसेको कांग्रेसलाई विश्वभर आएको महामारी बाहना बनेको थियो ।

०७७ फागुन १९ यता वैधानिक हैसियत समाप्त भएकाले कांग्रेसले संविधानको धारा समातेर पाँच वर्ष ६ महिनामा महाधिवेशन गर्ने व्यवस्थाअनुसार भदौ १९ सम्म म्याद थप गरेको छ । तर, आउँदो भदौ १९ भित्र महाधिवेशन गर्न नसकेर सार्नका लागि भने कांग्रेससँग कुनै वैधानिक हतियार बाँकी छैन । त्यसैले उसले कुनै माध्यमबाट कोरोनाको अवधिलाई शून्य अवधि मानेर डेढ वर्षसम्म लम्ब्याउन सकिने बाटो खोजिरहेको छ । त्यसका लागि पार्टीभित्र सहमति जुटाउन सभापति देउवाले छलफल गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*