Home / Feature Breaking news / लकडाउनमा कागतीका बोटसंग रमाउँदै नेता थापा

लकडाउनमा कागतीका बोटसंग रमाउँदै नेता थापा

केएल बुढाथोकी
दाङ,२२ जेठ । घरको उत्तरतिर ३ कठ्ठा जग्गामा कागतीको मनोरम बगैंचा छ । लहरै रोपिएका सर्लक्क बढेर झुम्म परेका बोटहरुमा फूल र फल पनि उत्तिकै छन् । हरियाली एवं मोहक कागती बगैंचामा सिर्सिरे बतासले गजवको माधुर्यता थप्छ ।

घोराही १७ गुलरिया निवासी राष्ट्रिय जनमोर्चाका नेता सुरेश थापा लकडाउनको यो सकसमय समयमा कागती बगैंचामा रमाउँदै दिनहरु बिताइरहेका छन् । भन्छन्–‘पूmल र फल लागेका कागती बगैंचामा टहल्दा आनन्द अनुभूति हुन्छ । शरीरमा एक किसिमको उर्जा र पुनर्ताजगी पैदा हुन्छ ।’
करीब ५ वर्ष पहिले नेता थापाले ३ कठ्ठा जग्गामा स्थानीय जातको बाह्रमासे कागतीका ५५ बिरुवा रोपेका थिए । तर राजनीतिमा पूर्णकालीन भएको हुँदा उनले कागती खेतीमा खास समय दिन सकेनन् । समयमा सिंचाइ, मल, औषधि, गोडमेल लगायत अन्य हेरचाह गर्न नसक्दा कागतीका बिरुवा अपेक्षाकृत सप्रन सकेका थिएनन् । त्यसमा पनि उनलाई शुरुमा कागती खेतीबारे राम्रो ज्ञान पनि थिएन ।

कोरोना कहरसंगै जब पहिलोपटक देशमा लकडाउन शुरु भयो जिल्ला बाहिर रहेका नेता थापा घर आए र कागतीका बिरुवा स्याहार्न थाले । थापा भन्छन् ‘गत वर्षको लकडाउनमा बल्ल मैले कागतीका विरुवा स्याहार्न पाएँ । मल र औषधि हालेर गोडमेल गरें । त्यसपछि बल्ल कागती सप्रिए ।’ वि सं २०४६ पछि राजनीतिमा सक्रिय रहेका नेता थापा यो वर्षको लकडाउनमा फेरि आफ्नो कार्यक्षेत्रबाट घर फर्किएका छन् र फेरि कागती खेतीको स्याहारमा जुटेका छन् ।

शुरुका वर्षहरुमा त्यति राम्रा नभएका कागतीका बोट अहिले रहर लाग्दा भएका छन् । प्राय सबै बोटहरुमा फल लागेका छन् । कागतीको व्यवसायिक खेती गर्ने योजना विस्तारै मूर्त बन्दै गएकोमा नेता थापा केहीहदसम्म संतुष्ट र रोमान्चित देखिन्छन् । आफ्नो अनुभव र केही सोधखोजले नेता थापाले अब कागती खेतीबारे धेरै ज्ञान हासिल गरिसकेका छन् । कागती खेतीबारेअब उनमा थप जाँगर र उत्साह बढेको छ । उनी लगत्तै थप दुई कठ्ठामा कागती रोप्दैछन् ।

‘खाल्डा खनेर तयार गरिसकेको छु । अब केही दिनमै बिरुवा रोप्ने तयारीमा छु ।’ नेता थापाले भने । करिव १० वर्ष अघि तत्कालीन कृषि विकास कार्यालय घोराहीमा व्यवसायिक खेतीबारे बुझ्न गएका नेता थापालाई वागबानी अधिकृत टिकाराम चौधरीले कागती खेती गर्न सल्लाह दिएका थिए । अधिकृत चौधरीले कागती खेतीका लागि दाङको माटो उपयुक्त भएको र बजार पनि राम्रो भएको बताएपछि नेता थापाले कागती खेती गर्ने सोच बनाए । कागती खेती गर्ने सोच दस वर्षअघि बनेपनि नेता थापाले त्यसको ५ वर्षपछि मात्र कागती खेती शुरु गरे ।

कागतीमा फल लाग्न शुरु गरेपछि उत्साहित र आनन्दित भएका नेता थापालाई यो कागती बगैंचाको स्वच्छ र मनोरम वातावरणले लकडाउनको सकस पनि बिर्साएको छ । उनी अचेल श्रीमती कृष्णा रानासहित कागतीकस बोटहरुसंग रमाउँदै दिन बिताइरहेका छन् । यो संगै नेता थापाले राजनीति र उत्पादनसंग जोडिएर समाजलाई एउटा सुन्दर सन्देश पनि दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*