काठमाडौं,५ असोज । रेडियो नेपाल दिपायल प्रसारण केन्द्रबाट निकालिएका पत्रकारहरूको पुनर्बहालीको माग गर्दै नेपाल पत्रकार महासंघले सिंहदरबार परिसरमा धर्ना दिएको छ।
प्रसारण केन्द्रमा काम गर्दै आएका पत्रकार सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई एक महिनाअघि रेडियो नेपाल व्यवस्थापनले निकालेको थियो।
ती पत्रकारहरूको पुनर्बहालीको माग गर्दै पत्रकार महासंघ आन्दोलनमा छ। केही दिनअघि सिंहदरबारभित्र रेडियो नेपाल परिसरमा धर्ना बसेका पत्रकारलाई प्रहरीले गिरफ्तार गरेको थियो।
आइतबारको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै महासंघ उपाध्यक्ष विपुल पोख्रेलले राजनीतिक आस्थाका आधारमा श्रमजीवी पत्रकारलाई सरकारले निकालेको आरोप लगाए।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले महासंघको आन्दोलन जारी रहेको बताएका छन्। तर तत्कालका लागि भने आन्दोलनका कार्यक्रम घोषणा हुन बाँकी रहेको बताएका छन्।
धर्नामा महासंघका महासचिव रमेश विष्ट, सचिव रामप्रसाद दाहाल, प्रेस युनियनका बाला अधिकारी, मधेसी पत्रकार मन्चका मोहनसिं, महासंघ काठमाडौं अध्यक्ष शान्ताराम बिडारी, रेडियो नेपाल शाखाका दुर्गा फुयाललगायतले निकालिएका पत्रकारलाई तत्काल पुनर्बहालीको माग गरेका थिए।
RaptiSandesh RaptiSandesh