दाङ, २५ भदौ ।
घोराही उपमहानगरपालिकाको नगर उपप्रमुख हुमा कुमारी डिसीले सकारात्मक सोचाइले भविष्य निर्धारण गर्ने बताउँदै निराशाबाट मुक्त हुन जरुरी भएको धारणा राख्नुभयो । मानिसमा सकारात्मक सोचाइको विकास गराउन सकेमात्र आत्महत्या रोकिने बताउँदै उहाँले सकारात्मक सोच विकास गराउन सबै लाग्नुपर्ने धारणा राख्नुभयो ।
विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा घोराही उपमहानगरपालिकाको वडा नं. १० मा आयोजित आत्महत्या रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डिसीले बालबालिका भोलिको देशको भविष्य भएको भन्दै उनीहरुका लागि उपयुक्त वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । बालबालिकाहरुमा सकारात्मक सोच विकासका लागि सबै पक्ष संवेदनशील भएर लाग्नुपर्ने उहाँको भनाइ थियो । कार्यक्रम पशुपती विद्याश्रमका प्रिन्सिपल केशव थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रमका सहजकर्ताहरुले आत्महत्या सम्बन्धी सोच हटाउने उपायहरु, सकारात्मक सोचको विकास, समय व्यवस्थापन, सामाजिक क्रियाकलापमा सहभागगिता लगायतका विषयमा जानकारी गराउनुभएको थियो । घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्धन शाखा प्रमुख राधा पौडेल र मनोपरामर्शकर्ता सुशीला आचार्यले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।
घोराही उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्धन शाखा र सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको आयोजना तथा नेपाल महिला सामुदायिक सेवा केन्द्र र हेल्थ फाउन्डेशन नेपालको सहआयोजनामा वडा नं. १० को पशुपती विद्याश्रम र मानव कल्याण समाज (सेवा घर)मा कार्यक्रम गरिएको हो ।
विद्याश्रम र मानव कल्याण समाज केन्द्रमा आयोजित भिन्दाभिन्दै कार्यक्रममा १५० बढी सहभागीहरु रहेका थिए । कार्यक्रममा शिक्षक, विद्यार्थी, प्रहरी, मानव कल्याण समाज (सेवाघर)मा आश्रित व्यक्ति, संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।