Home / Feature Breaking news / ३ दिने एकदिवसीय सिरिज: क्यानडा विरुद्ध नेपालको क्लिन स्वीप

३ दिने एकदिवसीय सिरिज: क्यानडा विरुद्ध नेपालको क्लिन स्वीप

ओपनर अनिलकुमार शाह र भीम सार्कीको कीर्तिमानी शतकसँगै नेपालले क्यानडाविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृंखला ‘क्लिन स्विप’ गरेको छ । तेस्रो खेलमा नेपालले क्यानडालाई नाै विकेटले हरायो । नेपालले पहिलो खेल सात रन र दोस्रो खेल सात विकेटले जितेको थियो । नेपालको जितमा ओपनर अनिलकुमार शाह र भीम सार्की दुवैले शतक बनाए ।

यसअघि टस हारेर सुरुवाती ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ३२ रन बनाएको थियो । प्रत्युत्तरमा नेपालले एक विकेट गुमाउँदै ४४.२ ओभरमा लक्ष्य पूरा गरेको हो ।

भीम र अनिलबीच कीर्तिमानी साझेदारी बनेको छ । यसअघि एक सय ७१ रनको साझेदारी भएको थियो । कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेट लागि जिम्बावेविरुद्ध एक सय ७१ रनको साझेदारी गरेका थिए । जुन कीर्तिमान दुई खेलाडीले भंग गरेका छन् । दुईबीच एक सय ८९ रनको अविजित साझेदारी भएको छ ।

नेपालको इनिङ्समा दोस्रो विकेटको लागि भीम सार्की र ओपनर अनिल शाहबीच अर्को कीर्तिमानी साझेदारी भएको छ । यसअघि गत वर्ष नामिबियाविरुद्ध कीर्तिपुरमै ज्ञानेन्द्र मल्ल र आसिफ शेखले एक सय ३९ रनको साझेदारी गरेका थिए ।

अनिलले एक सय २३ बलमा १२ चौका र एक छक्कासहित एक सय १२ रन बनाए । भीमले एक सय २९ बलमा ११ चौका र एक छक्कासहित एक सय एक रन बनाएका हुन् ।

यसअघि अनिलले आठ चौकासहित ५० बलमा ५० रन बनाएका हुन् । यसअघि क्यानडाविरुद्ध नै अनिलले पहिलो अर्धशतक बनाएका थिए । अनिलले अर्धशतक बनाउँदा नेपाल १४.४  ओभरमा ८३–१ को स्थितिमा थियो ।

त्यस्तै, भीमले ७८ बलमा पाँच चौकासहित ५२ रन बनाए । ३१औँ ओभरमा भीमले अर्धशतक बनाउँदा नेपाल १४१–१ को स्थितिमा थियो ।
यसअघि ओपनर कुशल भुर्तेल १४ बलमा तीन चौकासहित १३ रन बनाएर आउट भएपछि अनिल र भीमले नेपालको इनिङ्स उकासेका थिए ।

नेपालले दोस्रो इनिङ्समा ब्याटिङ गर्नुअघि नै पाँच रन पेनाल्टी पाएको थियो । क्यानडाको कप्तान साद विन जाफर पिचमा दुईपटक हिँडेपछि रेफ्रीले पेनाल्टी लिएका हुन् । अम्पायरले क्यानडाका कप्तानलाई ४९औँ ओभरमा दुईपटक चेतावनी दिँदा पनि पिचमा हिँडेपछि कारबाहीस्वरूप नेपाललाई पाँच अंक प्रदान गरिएको हो ।

पहिलो इनिङ्समा क्यानडाका नभनित धलिवालले अर्धशतक बनाए । नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गरेका हेमन्त धामीले सर्वाधिक तीन विकेट हात पारे ।

नेपालविरुद्धको इनिङ्समा क्यानडाका ओपनर नभनित धलिवालीले अर्धशतक बनाए । क्यानडाविरुद्ध धलीवालीले ८२ बलमा ५० रन बनाएर आउट भए । पाँच चौका प्रहार गरेका धलिवालीलाई ललितनारायण राजवंशीले आकाश चन्दबाट क्याच गराएका थिए । धलिवाली आउट हुँदा २७औँ ओभरमा क्यानडाले एक सय १ रन बनाएको थियो ।

यसअघि ओपनर ओरोन जनसनलाई १० बलमा चार रन बनाउँदा डेब्यु गरिरहेका हेमन्त धामीले देव खनालबाट क्याचआउट गराएका थिए । श्रीमन्थ विजयेरात्नेले २२ रन बनाए । श्रीमन्थ र नभनितबीच दोस्रो विकेटको लागि ४८ रनको साझेदारी भएको थियो ।

१२ बलमा तीन रन बनाए निकोलस किर्टनलाई कुशल मल्लले भीम सार्कीबाट क्याच गराएका हुन् । हर्ष थाकुरले ५७ बलमा दुई चौकासहित २९ बनाए । उनलाई कुशल मल्लले व्यक्तिगत दोस्रो विकेटको रपमा एलबिडब्लू धरापमा पारे ।

मध्यक्रमका ब्याटर निखिल दत्त र श्रेयस मोभाले छैटौँ विकेटको लागि ४७ रनको साझेदारी गरेपछि क्यानडा प्रतिस्पर्धात्मक चुनौती निकाल्न सफल भएको थियो । ३६.५औँ ओभरमा १३२–५ अवस्थाबाट दुई जोडीले क्यानाडालाई ४५.४ ओभरसम्म १८६–६ मा पुर्‍याएका थिए । श्रेयसले २९ बलमा एक चौकासहित २५ रन बनाएका हुन् ।

छैटौँ नम्बर क्रिजमा पुगेका निखिल ६२ बलमा ४५ बनाएर रनआउट भए । दुई चौका र एक छक्का प्रहार गरेका निखिललाई भीम सार्की र विकेटकिपर अनिलकुमार शाहले रनआउट गराएका थिए । कप्तान साद बिन जफरले १५ बलमा तीन चौका र दुई छक्कासहित ३१ रनको योगदान गरेका थिए ।

नेपाल राष्ट्रिय टिमबाट डेब्यु गरेका बलर हेमन्त धामीले सर्वाधिक तीन विकेट लिए । कुशल मल्लले दुई विकेट हात पारे । ललितनारायण राजवंशी र आकाश चन्दले समान एक विकेट लिएका हुन् । कुशल भुर्तेल र पवन सर्राफ विकेटविहीन भए । लगातार दुई खेलमा ६ विकेट लिएका कप्तान रोहितले तेस्रो खेलमा बलिङ गरेनन् ।

क्यानडाविरुद्धको तेस्रो खेलमा प्रशिक्षक मोन्टी देशाईले बलर हेमन्त धामीलाई राष्ट्रिय टोलीबाट डेब्यु गरे। हेमन्त एकदिवसीय क्रिकेटमा डेब्यु गर्ने ४१औँ खेलाडी बने । उनलाई पूर्वखेलाडी राजु बस्नेतले क्याप हस्तान्तरण गरे। अघिल्लो दुई खेलमा डेब्यु गरेका सूर्य तामाङ र रिजन ढकालसँगै ओपनर आसिफ शेख र बलर सोमपाल कामीलाई विश्राम दिइएको थियो।

अब, नेपालले आइसिसी क्रिकेट विश्वकप लिग– २ को खेलमा नेदरल्यान्ड्स र नामिबियासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*