Home / Feature Breaking news / सामाजिक र आर्थिक रुपान्तरण हाम्रो अभियान : अध्यक्ष न्यौपाने

सामाजिक र आर्थिक रुपान्तरण हाम्रो अभियान : अध्यक्ष न्यौपाने

नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ वि.स २०५० भदौ ३ गते स्थापना भएको गैरसरकारी संस्था हो । तत्कालिन मध्य तथा सुदुरपश्चिममा महिलाहरुले मात्र स्थापना गरेका पहिलो संस्थाको रुपमा पहिचान बनाएको यस संस्थाले महिला तथा बालबालिकाहरुलाई विशेष लक्षित गरि क्रियाकलापहरु सञ्चालन गर्दै आएको छ । दिगो शान्ति स्थापना, बालिका शिक्षा, मानव अधिकार संरक्षण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन, लघुवित्त, स्वरोजगार, क्षमता अभिवृद्धि लगायत काम गर्दै आएको यस संस्थाले सफलताकासाथ ३० औँ बर्ष पुरा गरि ३१ औँ बर्षमा प्रवेश गरेको अवसरमा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेसँग गरिएको कुराकानीः

कल्पना न्यौपानेः अध्यक्ष, नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ

नेपाल महिला सामुदायिक सेवा केन्द्र स्थापना भएको ३० बर्ष पुगेको छ । संस्था स्थापनाको दिनलाई कसरी सम्झनुहुन्छ ?

नेपाल महिला सामुदायिक सेवा केन्द्र वि.स २०५० सालमा स्थापना भएको गैरसरकारी संस्था हो । त्यो समयमा हामी क्याम्पस पढ्दै गरेका दिदिबहिनीहरु मिलेर यो संस्थाको स्थापना गरेका हौँ । हामी पढ्दै गर्दा विभिन्न कामहरुमा ग्रामीण भेगसम्म पुग्दै गर्दा त्यहाका महिलाहरुको अवस्था उहाँहरुको दैनिकी देख्दा मनमा धेरै कुरा खेल्थ्यो । अनि महिलाहरुको लागी केही गर्नुपर्छ भन्ने उद्धेश्यकासाथ आदरणीय दिदि बिमला योगीको नेतृत्वमा हामीले नेपाल महिला सामुदायिक सेवा केन्द्र गठन गरेका हौँ । विशेष गरि महिला तथा बालबालिकाहरुको क्षेत्रमा काम गर्ने भनेर नै हामीले यो संस्था स्थापना गरेका हौँ । जुन संस्थाले यही भदौ ३ गते सफलताको ३० बर्ष पुरा गरेको छ ।

संस्थाले अहिले के गरिरहेको छ ?

स्वावलम्बी तथा चेतनशिल महिला समाजको सृजना गर्ने परिकल्पना स्थानीय सिप तथा श्रमको उपयोग गरेर सामाजिक शसक्तीकरण तथा आर्थिक सशक्तिकरण गर्ने ध्यय र लक्ष्यकासाथ वि.स २०५० सालमा स्थापना भएको यस नेपाल महिला सामुदायिक सेवा केन्द्रले दिगो शान्ति स्थापनाका लागी सामुदायिक जागरण, बालिका शिक्षा, मानव अधिकार संरक्षण तथा प्रवद्र्धन, द्धन्द्ध प्रभावित क्षेत्र तथा समुदायको पुनःनिर्माण तथा पुर्नस्थापनामा सहयोग, वातावरण÷पर्यावरण संरक्षण तथा विपद व्यवस्थापन, लघुवित्त कार्यक्रम, सहकारी मार्फत सामुदायिक विकास र उद्यम विकास कार्यक्रम मार्फत युवाहरुमा स्वरोजगार निमार्ण लगायतका कामहरु गरिरहेको छ । हामीले बालबालिकाहरुको शिक्षालाई जोडदारका साथ प्राथमीकता दिएर काम गरिरहेका छौँ ।

विभिन्न समुदायका बालबालिकाहरु अझै पनि आर्थिक अभावका कारण शिक्षाबाट बञ्चीत हुनुपर्ने अवस्था छ । अति विपन्न परिवारका बालबालिकाहरु विभिन्न कारणले शिक्षाबाट बञ्चीत भईरहेको अवश्था देखीसकेपछी हामीले संस्था स्थापनासँगै ती बालबालिकाहरुलाई शिक्षामा सहयोग गर्नुपर्छ । आर्थिक अभावका कारण कोही निर्दोष बालबालिका शिक्षाबाट टाढा हुनुहुदैन भनेर उनीहरुको शिक्षामा सहयोग गरिरहेका छौँ । त्यस्तै सशस्त्र द्धन्दको समयदेखी नै हामीले द्धन्दपीडित परिवारहरुसँग काम गरिरहेका छौँ । द्धन्दप्रभावित परिवारलाई सहयोग देखी उहाँहरुको मनोबल बढाउने कुरामा हामीले काम ग¥यौ र अहिले पनि हामीले ती द्धन्दप्रभावित परिवारसँग काम गरिरहेका छौँ ।

द्धन्दमा भएका विभिन्न घटनाका पीडितहरु अहिले पनि मानसिक रुपमा पारिवारिक रुपमा विक्षिप्त हुनुहुन्छ । शान्तिको क्षेत्रमा काम गर्ने नागरिक आवाज ललितपुरसँगको सहकार्यमा हामीले द्धन्दप्रभावितहरुसँग निरन्तर काम गरिरहेका छौँ । ती द्धन्दप्रभावित महिलाहरुको मानसिक स्वास्थ्य र उहाँहरुलाई विभिन्न तालिम पश्चात आयआर्जनमा जोड्ने काम गरिरहेका छौँ । युवाहरुलाई कृषी र पशुपालनमा जोड्नकालागी दंगिशरण गाउँपालिका र हेफर प्रोजेक्टसँगको सहकार्यमा कृषी तथा पशु विकासमा आधारित परियोजना सञ्चालन गरिरहेका छौँ ।

विपद व्यवस्थापन, विपद पश्चातको आपतकालीन राहतमा काम गर्नकालागी सामुदायिक सुरक्षा जालो कार्यक्रम अन्तरगत पनि काम भईरहेको छ । विद्यालय सुधार कार्यक्रम अन्तरगत विभिन्न सामुदायिक विद्यालयहरुको भौतिक तथा शैक्षिक सुधारका लागी काम गरिरहेका छौँ । घोराही उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको बराह क्षेत्र मावि सेवार बनगाउँमा बहुउद्धेश्यीय सभाहल, शुद्ध पिउने पानीको व्यवस्था, बाल उद्यान निर्माण गरेका छौँ । घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको सानी अम्वापुर विद्यालयमा तीनकोठे पक्की भवन निर्माण गरेका छौँ । घोराही उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको रात्री प्रावि वेलुवामा एक कोठे पक्की भवन निर्माण गरेका छौँ । विभिन्न सामुदायिक विद्यालयहरुलाई सहयोग गरेका छौँ । करिब एक दर्जन बढि विद्यालयहरुलाई पुस्तकालय, प्रयोगशाला, शुद्ध खानेपानी लगायत आवश्यकता अनुसारको सहयोग गरेका छौँ ।

यसका साथै महिला स्वः रोजगार तालिम केन्द्र र हरियो बजार संस्थाले सञ्चालन गरिरहेको छ । महिला स्वः रोजगार तालिम केन्द्रमा हिंसा प्रभावित दिदिबहिनीहरुले काम गरेर आयआर्जन गरिरहनुभएको छ भने हरियो बजारमा हाम्रो सदस्यहरुले उत्पादन गरेको स्थानीय वस्तुलाई बजारिकण भईरहेको छ ।

तपाईहरुको संस्थाले सञ्चालन गरेको यो शिक्षामा सहयोग कार्यक्रम कस्तो चलिरहेको छ ?

यो कार्यक्रम संस्था स्थापनासँगै हामीले सञ्चालन गरिरहेका छौँ । आर्थिक विपन्नताका कारण औपचारिक शिक्षाबाट बञ्चीत भएका बालबालिकाहरुलाई शिक्षामा सहयोग गर्ने उद्धेश्यकासाथ यो कार्यक्रम सञ्चालन भएको हो ।

जसलाई हामीले शसक्तीकरणकालागी शिक्षा कार्यक्रम भनेर नामाकरण गरेका छौँ । प्रजातन्त्र तथा विकास केन्द्रको केही सहयोग र अन्य संस्थाको आन्तरिक स्रोतबाट यो कार्यक्रमलाई हामीले सञ्चालन गरिरहेका छौँ । जसमा हाल ६ सय ५२ जना बालबालिकाहरुले अध्ययन गरिरहनुभएको छ । संस्थाको एउटा मान्यता छ कि कोही बालबालिका पनि मैले पढ्न पाएन अर्थात अभिभावकले मैले मेरा बच्चालाई पढाउन सकेन भनेर आउछ भने खाली नफर्काउने ।

त्यसैले हाम्रो संस्थामा नयाँ शैक्षिक सत्र अर्थात विद्यालय भर्नाको समयमा त पुरै भिड हुन्छ । कक्षा नर्सरीदेखी प्लस टु उतिर्णसम्म संस्थाले सहयोग गर्ने गरेको छ । अति आवश्यक भएका केही बालबालिकाहरुलाई स्नातक तहमा नि हामीले सहयोग गरिरहेका छौँ । केही प्राविधिक क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीहरु पनि हुनुहुन्छ । हामीले सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई शिक्षामा सहयोग गर्ने गर्दछौँ ।

यो कार्यक्रम सञ्चालन गर्दा त आर्थिक स्रोत जुटाउन गाह्रो हुन्छ होला नि ? कसरी व्यवस्थापन गर्नुभएको छ ?

गाह्रो त छ तर भगवान्को आशिर्वादले हामीले संस्थाको सम्पर्कमा आएका बालबालिकाहरुलाई सहयोग गरिरहेका छाँै । कतिपयलाई उनीहरुको आवश्यकता अनुसार (ड्रेस, शैक्षिक सामाग्री, भर्ना शुल्क) सहयोग गरेका छौ भने धेरैजसोलाई पूर्ण रुपमा सहयोग गरेका छौँ । कोरोना महामारीपछि त झन् बालबालिकाको संख्या एकदमै बढेको छ । यसको स्रोत संकलनमा केही प्रजातन्त्र तथा विकास केन्द्रले सहयोग गरेको छ । संस्थाको कार्यसमितिले एवं साधारण सदस्यहरुले पनि स्वः ईच्छाले सहयोग गर्ने गर्नुहुन्छ । संस्थामा आवद्ध कर्मचारीहरुले पनि स्वः ईच्छाले यस कार्यक्रमकालागी सहयोग गर्नुहुन्छ ।

कतिपय संस्थाले पढाएका बालबालिकाहरु अहिले विभिन्न पेशामा हुनुहुन्छ, केही विदेश जानुभएको छ । उहाँहरुले पनि स्वच्छीक रुपमा मलाई संस्थाले पढाएर यहाँसम्म आएँ अब म पनि केही गर्नुपर्छ भनेर बालबालिकाहरुलाई पढाउछु भनेर सहयोग गर्नुहुन्छ । यसमा अझ हामीलाई बलियो साथ र सहयोग यस संस्थाका संस्थापक अध्यक्ष आदरणीय दिदी विमला योगीले व्यक्तीगत लगानीमा ‘विमला योगी बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्नुभएको छ । जसले गर्दा हामीलाई ठुलो हौसला प्राप्त भएको छ ।

महिला स्वःरोजगार तालिम केन्द्र पनि सञ्चालन गरेका छौँ भन्नुभयो । केन्द्रमा के हुन्छ ?

संस्थाले महिला स्वरोगजार तालिम केन्द्र पनि सञ्चालन गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ काठेकोहलमा रहेको यस केन्द्रमा विशेष गरि हिंसा प्रभावित महिला दिदिबहिनीहरु हुनुहुन्छ । उहाँहरुको आवासकोलागी संस्थाको संस्थापक अध्यक्ष विमला योगीले घोराही उपमहानगरपालिका १३ मा आफ्नो व्यक्तीगत ६ कठ्ठा जग्गा दिएर सुरक्षा आवास निर्माण भएको छ । जहाँ ती दिदिबहिनीहरु बस्नुहुन्छ ।

ती दिदिबहिनीहरुलाई बस्नको व्यवस्था त भयो तर आर्थिक रुपमा बलियो पनि बनाउनुप¥यो भन्ने उद्धेश्यकासाथ महिला स्वरोजगार तालिम केन्द्रको स्थापना भयो । ती दिदिबहिनीहरुले केन्द्रमा कटाईसिलाई तालिम लिएर अहिले प्रशिक्षकको रुपमा पनि व्यवसाय सञ्चालन गरिरहनुभएको छ । केन्द्रमा हिंसा प्रभावित, द्धन्दप्रभावित, अति विपन्न परिवारका महिलाहरुलाई निशुल्क रुपमा कटाईसिलाई तालिम दिईरहेका छौँ । केन्द्रले सेनेटरी प्याड, मास्क, तैयारी कपडा उत्पादन गरिरहेको छ ।

केन्द्रमा आजभोली २५ जना भन्दा बढि महिलाहरुले तालिम लिईरहनुभएको छ । उहाँहरुले उत्पादन गरेको सेनेटरी प्याड संस्थाले खरिद गरेर ग्रामीण क्षेत्रका विद्यालयका छात्राहरुलाई, जोखीममा रहेको समुदायका महिलाहरुलाई निशुल्क रुपमा वितरण गर्ने गरेका छौँ । केन्द्रबाट उत्पादन भएका सेनेटर प्याड, मास्कहरु अमेरिका, बेलायत, जापान, चीन, भारत लगायत विदेशमा पनि पठाएका छौँ । सुदुरपश्चीमको छाउपडी प्रथा रहेको जिल्लाहरुमा पनि पटक पटक पुगेर हामीले ती सेनेटरी प्याड र मास्कहरु निशुल्क वितरण गरेका छौँ ।
अब अलिकति हरियो बजारको कुरा गरौँ । यो हरियो बजार भनेको के हो ?

हरियो बजार भनेको स्थानीय उत्पादन पाईने एउटा बजार हो । जहाँ सदस्यहरुले उत्पादन गरेको स्थानीय अर्गानिक वस्तुहरु पाईन्छ । हामीले कृषीमा लगानी गरौ पशुपालनमा लगानी गरौँ भन्यौ । सरकार पनि त्यही भन्छ तर उत्पादित वस्तुको बजारिकणमा ध्यान दिन सकेनौँ र धेरै किसानहरु कृषीबाट विस्तापीत हुनुभयो । त्यसैले हामीले सदस्यहरुलाई कृषीमा पशुपालनमा लगानी गर्नुस् भन्दै गर्दा उहाँहरुले उत्पादन गरेको वस्तुलाई संकलन गर्ने र बजारिकण गर्ने भन्ने उद्धेश्यकासाथ हरियो बजार स्थापना गरेका हौँ ।

हरियो बजारमा स्थानिय कृषकहरुले उत्पादन गरेको कृषीजन्य उत्पादनहरु दाङको पहिचान तोरीको तेल, विभिन्न जातका स्थानीय चामल, गेडागुडी, दाल, मसला, बेसार, अदुवा, भांगो, टिमुर, तील, सिन्कामारी, सिन्की, सुकेको साग, पाते पाप्रो, मस्यौरा लगायत अन्य घरायसी दैनिक उपभोगकालागी आवश्यक पर्ने सम्पूर्ण वस्तुहरु संकलन गरेर विक्री गरिन्छ । हरियो बजारमै हामीले सदस्यहरुले गाई भैसी पालन गरेकोमा त्यहाबाट उत्पादन भएको दुध संकलन गरि बजारिकरण गर्ने एवं नेपाल सरकारको मापदण्डमा रही प्रशोधन गरिएको प्याकेजीङ दुध, दही, पनिर, खुवा, घ्यू, बटर, पेडा, रसबरी, बेकरी आईटमहरु पाउरोटी, डोनट, ब्रेड, पेस्टीज उत्पादन एवं विक्री गर्दै आएको छ । हाल दैनिक एक हजार लिटर क्षमताको डेरी समेत संचालनमा आएको छ ।

भर्खरै तपाइको संस्था सम्मानित भएको छ । के काम गर्नुभएको थियो र देशभरकै उत्कृट संस्थाको रुपमा सम्मानित हुनुभयो ?

संस्थाले समाजकालागी गरेको कामको सबैले मुल्यांकन गरिरहेको हुन्छ । सोही आधारमा नेपाल महिला सामुदायिक सेवा केन्द्र विभिन्न समयमा विभिन्न क्षेत्रबाट सम्मानित हुँदै आएको छ ।

यसै क्रममा हालैमात्र स्वावलम्बन विकास केन्द्र काठमाडौँले आफ्नो ३२ औँ बार्षिकोत्सवको अवसरमा यस नेपाल महिला सामुदायिक सेवा केन्द्रले विभिन्न माध्यमबाट समाज रुपान्तरण एवं सामाजिक तथा आर्थिक विकासकालागी उत्कृष्ट कार्य गरेको र आफ्ना सदस्यहरुले उत्पादन गरेको वस्तुहरुको बजारिकणकालागी हरियो बजार स्थापना गरि देशकै नमूना कार्य गरेकाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको आतिथ्यमा भएको कार्यक्रममा सम्मान पाएको हो ।

यो हामी सबैको पुरस्कार एवं सम्मान हो । समुदायको विश्वास, तपाईहरुको माया र सद्भावले नै संस्थाले यो पुरस्कार पाएको छ । सहयोगी तथा शुभचिन्तक सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु ।

यस संस्थामा आवद्ध भएका कारण क–कसको आर्थिक सुधार र परीवार पाल्ने बाटो निर्धारण भयो ?

त्यस्ता धेरै उदाहरणहरु छन् । यहाँ म कसको उदाहरण देउ । संस्थाकै कारण कसैको जिवनमा आर्थिक सुधार भयो वा परिवार पाल्ने बाटो निर्धारण भयो त भन्दैनौ । किनकी संस्थाले गरेरमात्र पनि हुने होईन । संस्थाले त साथमा साथ, हातमा हात दिएको मात्र हो । उहाँहरुको मेहनत परिश्रमले उहाँहरुको जिवन सहज भएको छ । जसमा हामीलाई स्थानीय तह एवं अन्य सरोकारवालाहरुको सहयोगले सहज भएको छ । जसको जिवन सहज भएको छ, ती व्यक्तीहरुसँग तपाईले बुझ्न्भयो भने अझ उहाँहरुकै मुखबाट सुन्नुभयो भने राम्रो होला । होईन र ?

किन तपाईहरुको संस्थाले महिलालाइ मात्र फोकश गरेको ?

कुनै पनि संस्थाको आफ्नो निति नियमावली हुन्छ । विशेष गरि महिला तथा बालबालिकाहरुको क्षेत्रमा काम गर्ने उद्धेश्यकासाथ यो संस्था स्थापना भएको हो । धेरै महिलाहरु अझै पनि चुह्लो चौकोबाट बाहिर आउन सक्नुभएको छ्रैन । उहाँहरुमध्ये धेरैको जिवन एकदमै दर्दनाक छ । ती महिलाहरुकोलागी काम गर्ने भनेर स्थापना भएको संस्थाले महिलाहरुको क्षेत्रमा काम गर्नु स्वाभाविक पनि हो । तर संस्थाले महिलाहरुकोलागी मात्र पनि काम गरेको छैन । विभिन्न कार्यक्रमहरुमा पुरुषहरु पनि समेटिनुभएको छ ।

लघुवित्त कार्यक्रम असफल भैरहेको अवस्थामा लघुवित्त कसरी सञ्चालन गरिरहनुभएको छ ?

यस नेपाल महिला सामुदायिक सेवा केन्द्रले वि.स २०६० सालबाट लघुवित्त कार्यक्रम सञ्चालन गर्दै महिला सामुदायिक लघुवित्त वित्तिय संस्था लि.स्थापना गरि महिलाहरुलाई समूहमा आवद्ध गरि बचत गर्न, आवश्कता अनुसार ऋण लिएर व्यवसाय सञ्चालन गर्न उत्प्रेरित ग¥यो । जुनबेला हामीले लुम्बिनी प्रदेश र कर्णाली प्रदेश कार्यक्षेत्र बनाएर काम गरिरहेका थियौँ । नेपाल राष्ट्र बैंकको मर्जर निति अनुरुप हामीले यस लघुवित्तलाई पोखराको जाल्पा लघुवित्त वित्तिय संस्था लि.सँगको मर्जरपश्चात अहिले जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को नाममा सञ्चालनमा रहेको छ । जसले देशभर शाखा विस्तार गरेर काम गरिरहेको छ । हाल एक सय शाखा मार्फत एक लाख बढि दिदिबहिनीहरु आवद्ध हुनुहुन्छ । यस लघुवित्तले आफ्ना सदस्यहरुको हितकालागी विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गरिरहेको छ । यस लघुवित्तप्रति अहिलेसम्म कुनैपनि गुनासोहरु सुनिएका छैनन् । त्यस्ता केही सकारात्मक प्रतिक्रीया आएमा हामी तुरुन्त सुधारेर अगाडी बढ्न तयार छौँ ।

तपाईहरु महिला अधिकार संगै द्धन्द्धपिडित महिलाहरुको गन्तव्यका विषयमा पनि जोडिनु भएको छ, के त्यो अभियानलाइ राज्यले संबोधन गर्ला ?

हो हामी सशस्त्र द्धन्दको समयदेखी नै यस क्षेत्रमा अर्थात द्धन्दप्रभावितहरुको पक्षमा उहाँहरुको न्यायको पक्षमा काम गरिरहेका छौँ । सशस्त्र द्धन्द पश्चात विस्तृत शान्ति सम्झौता भएको पनि १७ बर्ष बितिसक्यो तर अझै पनि द्धन्दप्रभावितहरुको पीडा एकदमै भयावह छ । केही मुद्धाहरु सरकारले सम्बोधन पनि गरेको छ । धेरै मुद्धाहरु अझै पनि जस्ताको त्यस्तै छन् । हामीले लामो समयदेखी यस क्षेत्रमा काम गरिरहेका छौँ । द्धन्दपीडितहरुको पीडाहरु सुन्नुभयो भने तपाई पनि रुनुहुन्छ ।

द्धन्दमा भएका घटनाका कारण कतिले अभिभावक गुमाउनुभयो, कतिले सन्तान गुमाउनुभयो, सयाँै व्यक्ती अझै पनि वेपत्ताको लिस्टमा हुनुहुन्छ, परिवार अझै पनि जिउदै फर्कने आशामा बसिरहेको छ । द्धन्दको समयमा हिंसामा परेका दिदिबहिनीहरु मनभित्रै पीडा लुकाएर बसिरहनुभएको छ । घाईते व्यक्ती अशक्त भएर जिवन विताईरहनुभएको छ । हामीले सरकारलाई विभिन्न समयमा द्धन्दपीडितका मुद्धा यी छन् है भनेर घचघच्याईरहन्छौँ ।

स्थानीय तहले द्धन्दप्रभावितहरुको क्षेत्रमा केही नमूना काम पनि गर्नुभएको छ । हामीले पनि संस्थाबाट मनोविमर्श सेवा प्रदान गरिरहेका छौँ । स्थानीय सरकारले द्धन्दप्रभावितहरुकोलागि निशुल्क स्वास्थ्य बिमा गरिदिनुभएको छ । ती समुदायकालागी विभिन्न शिर्षकमा बजेट छुट्याएर कार्यक्रमहरु पनि सञ्चालन गर्नुभएको छ । कतिपय स्थानीय सरकार यस विषयमा गम्भीर बन्नुभएको छ ।

अन्त्यमा यस पत्रिका मार्फत आम पाठकहरुलाई केही भन्न चाहनुहुन्छ ?

सर्वप्रथम त नेपाल महिला सामुदायिक सेवा केन्द्र ३० बर्ष पुरा गरि ३१ औँ बर्षमा प्रवेश गरेको यस अवसरमा हामीलाई संस्थागत कुराहरु राख्ने अवसर दिएकोमा यस गोरक्ष राष्ट्रिय दैनिक परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । तपाईहरु सबैको माया, साथ, सल्लाह र हौसलाले हामीले सफलताकासाथ ३० बर्ष पुरा गरेका छौँ ।

आगामी दिनमा पनि तपाईहरु सबैको साथको अपेक्षा गर्न चाहन्छौँ । सामाजिक अभियानमा हातमा हात मिल्यो भने मात्र लक्ष्य उद्धेश्य प्राप्त गर्न सकिन्छ । त्यसैले सबैले सामाजिक रुपान्तरणकालगी हातेमालो गरौँ भन्दै सबैलाई आह्वान गर्न चाहन्छु । धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*