Home / Feature Breaking news / आरोपितले नाम लिएका ‘हाइप्रोफाइल’को बयान लिने प्रहरीको तयारी

आरोपितले नाम लिएका ‘हाइप्रोफाइल’को बयान लिने प्रहरीको तयारी

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा पक्राउ परेकाहरुले बयानमा नाम लिएका व्यक्तिहरुको पनि बयान लिने प्रहरीले तयारी गरेको छ। सोमबारबाट अनुसन्धान तथा बयानका लागि थप प्रहरीसमेत खटाएर जिल्ला प्रहरी परिसरले छुट्टै एउटा टोली बनाएर यो घटनाको अनुसन्धानलाई तिव्रता दिएको हो।

पक्राउ परेका आरोपितहरुले बयानमा नाम लिएका हाइप्रोफाइल व्यक्तिहरुको पनि बयान लिने तयारी यो टोलीले गरेको छ। पक्राउ परेका व्यक्तिहरुले नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणदेखि उनकी पत्नी मन्जु र कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवासम्मलाई मुछ्दै बयान दिएका छन्। बयानमा बताएका कुराहरु नलेखे आत्मदाहसम्म गर्ने चेतावनी दिँदै आरोपित सानु भण्डारीले बयान दिएका छन्।

अहिलेसम्म बालकृष्ण खाँण, मन्जु र आरजुकाविरुद्ध बयानमा नाम लिनुबाहेक कुनै प्रमाण फेला नपरेको प्रहरीको दाबी छ। तर बयानमा नामै लिए पनि उनीहरुले किन नाम लिए भन्ने प्रश्न रहने भएकाले आरोपितले नाम लिएका व्यक्तिहरुसँग सोधपुछ तथा बयान लिने तयारी प्रहरीले गरेको छ।

‘अहिले नै पक्राउ पूर्जी जारी गर्नका लागि पर्याप्त प्रमाण फेला परेका छैनन्। यद्यपि, आरोपितहरुले बयानमा नाम लिएकाहरुसँग सोधपुछ र बयान लिने काम भने हुन्छ’ एक उच्च प्रहरी अधिकारीले नेपाल लाइभसँग भने।

मन्जु, आरजुलेसमेत रकम बुझेको अडिओ सार्वजनिक भएपछि प्रहरीले यो प्रकरणमा थप प्रमाण संकलनको काम पनि सँगै गरिरहेको छ। अडिओमाथि पनि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले बताएका छन्।

‘दलाल र पीडितबीचको अडियो वार्ता हामी कहाँ पनि आइपुगेको छ। अडिओमा उल्लेख गरिएका विषयहरुलाई तथ्यले पुष्टि हुने ठाउँ छन्/छैनन् भनेर अनुसन्धान गरिरहेका छौं’ एसएसपी कार्कीले भने।

सार्वजनिक भएको अडिओमा कांग्रेसकी सांसद आरजुलाई साढे २ करोड र अर्की सांसद मञ्जुलाई ६ करोड रकम बुझाएको दाबी गरिएको छ। सार्वजनिक भएको अडियो सत्य नरहेको दाबी गर्दै खाँण र आरजुले गरिरहेका छन्। आइतबारको प्रतिनिधि सभा बैठकमासमेत आरजुले आफूमाथि झुट्टा आरोप लगाइएको दाबी गरिन्।

यता बालकृष्ण खाँणको सचिवालयमा पनि अडिओमा सत्यता नरहेको दाबी गर्दै खण्डन गरिरहेको छ। तर गृहमन्त्री खाँण यो प्रकरणमा जोडिनुमा अडिओमा मात्रै प्रमाण नरहेको रहस्यहरु खुल्दै आएका छन्। २०७८ असारमा गृहमन्त्री भएका खाँणकै जोडबलमा गृह प्रशासनका ज्ञान नै नभएका टेकनारायण पाण्डेलाई गृहसचिवको जिम्मेवारी दिइएको थियो।

Laxmi Bank
IME

एमाले अध्यक्ष केपी ओली सरकारको पालामा गृहमन्त्री रामबहादुर थापा रहेका बेला २०७६ जेठमा भुटानी शरणार्थी समस्या हल गर्ने भन्दै गृहका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल नै गठन गरिएको थियो। कार्यदललेसमेत नक्कली भुटानी शरणार्थीको नाम राखेको भन्दै उक्त प्रतिवेदन कार्यान्वयनमा आएको थिएन।

पछि खाँण गृहमन्त्री र टेकनारायण गृहसचिव भएपछि उनीहरुको अग्रसरतामा पुनः अर्को समिति गठन गरिएको थियो। जिल्ला प्रशासन कार्यालय झापाका सहायक सीडीओको संयोजकत्वमा अर्को समिति गठन गरिएको थियो। उक्त समितिलाई २०७९ भदौ मसान्तसम्म भुटानी शरणार्थीका बारेमा थप कार्यसम्पादन गरी पेस गर्न भनिएको थियो।

आवश्यक परे उक्त समितिले उपसमिति गठन गर्न सक्ने र पन्थी नेतृत्वको समितिले पेस गरेका प्रतिवेदनसमेत अध्ययन गरी छुट भुटानी शरणार्थीको नाम समावेश गर्नसमेत भनिएको थियो। तर जिल्ला प्रशासन कार्यालयले भुटानी शरणार्थी प्रकरण विवादमा परिसकेकाले आफूहरु थप विवादमा नफस्ने भन्दै उनीहरुले काम अघि बढाएनन्।

त्यसपछि अमेरिका जाने भन्दै नक्कली भुटानी शरणार्थी बनेर लाखौं बुझाएकाहरुको रकम डुबेपछि यो विषय बाहिर आएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*