Home / Feature Breaking news / देउवाविरुद्ध प्रतिरोध गर्ने निष्कर्षमा दुई महामन्त्री

देउवाविरुद्ध प्रतिरोध गर्ने निष्कर्षमा दुई महामन्त्री

नेपाली कांग्रेसका महामन्त्री गगन थापा पार्टीभित्रको विवाद वा असन्तुष्टिलाई पोख्ने माध्यम सामाजिक सञ्जाललाई प्राय बनाउँदैनन् । पार्टीभित्र उकुसमुकुस अवस्थामा रहेको उल्लेख गर्दै उनले आइतबार भने सामाजिक सञ्जालमार्फत आक्रोश पोखे ।

महामन्त्रीद्वय थापा र विश्वप्रकाशका निकटका नेताहरुका अनुसार सभापति शेरबहादुर देउवाविरुद्ध उनी प्रतिरोध गर्ने अवस्थामा पुगेका छन् । देउवाबाट निरन्तरको वेवास्ता, अवमूल्यन, निर्णय प्रक्रियामा एकलौटीलगायतका कारणले दुई महामन्त्रीले सभापति विरुद्ध प्रतिरोध गर्न लागेका हुन् ।

गत बुधबार भएको शीर्ष नेताको बैठकमा महामन्त्री शर्माले पदबाट राजीनामा दिने चेतावनीसमेत दिएका थिए । बैठकमा सहभागी एक नेता भन्छन्,’रुपान्तरण वा राजीनामाको कुरा महामन्त्री शर्माले उठाउनुभएको हो,’ शर्माको बोली उद्धृत गर्दै ती नेता भन्छन्, ‘यस्तै तरिकाले पार्टी चल्न सक्दैन । मसँग दुई विकल्प छन् । पार्टीमा सुधार या महामन्त्रीबाट राजीनामा ।’

महाधिवेशन सकिएको डेढ वर्षमा सभापति देउवाबाट उनी सधैं प्रताडित हुन पुगेको नेताहरुको बुझाइ छ । सभापतिले एकलौटी तरिकाले चलेको निष्कर्ष निकाल्दै त्यसको प्रतिवाद गर्ने निचोडमा महामन्त्री थापा पुगेका छन् । तेस्रो उमेर समूहबाट महामन्त्रीमा निर्वाचित थापा र शर्माको विचार, क्षमता तथा ऊर्जालाई सभापति देउवाले पहिचान गर्न नसकेको थापा निकटका नेताहरुको बुझाइ छ । ‘महामन्त्री दुईलाई नेविसंघको महामन्त्री जस्तो व्यवहार सभापतिले गरेको देखिन्छ,’ केन्द्रीय सदस्य मधु आचार्य भन्छन्, ‘पार्टीको महामन्त्रीको व्यवहार सभापतिबाट देखिएन ।’

पूर्व सभापति गिरिजाप्रसाद कोइरालाले आफ्ना प्रतिस्पर्धी नरहरि आचार्यप्रति लिएको नीति स्मरण गर्छन् । त्यो क्रम अहिले पूर्णरुपमा टुटेको भन्दै देउवाप्रति नेताहरुको रोष छ । ‘नरहरि आचार्य दाइ संगठनमा कमजोर हुनुहन्थ्यो । तर, गिरिजाबाबुले उहाँको विचार सुन्नुहुन्थ्यो,’ कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘संविधान सभा र संवैधानिक राजतन्त्रबाट गणतन्त्रमा जानुपर्ने नरहरि दाइको नीतिलाई पार्टीको नीति बनाउनुभयो ।’

२०६२ भदौमा भएको ११औं महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग आचार्य सभापतिमा पराजित भएका थिए । कोइरालाले १२१५ मत पाउँदा आचार्यले १६५ मत मात्रै पाएका थिए ।

सभापतिमा न्युन मत पाएका आचार्यको नीतिलाई महत्व दिने गिरिजाको विशेषतालाई समेत देउवाले स्मरण गर्न नसकेको नेताहरुको बुझाइ छ ।

महामन्त्रीको विचार सुन्दै नसुनेको उनी निकट नेताहरुको गुनासो छ । ‘प्राविधिक रुपमा मात्रै यी महामन्त्री हुन् । राजनीतिक रुपमा महामन्त्री होइनन् भन्ने खालको व्यवहार सभापतिबाट भयो,’ थापा निकट गण्डकीका प्रदेश सांसद डिल्लीराम सुवेदी भन्छन्, ‘महामन्त्रीलाई दिनुपर्ने भूमिका र राजनीतिक महत्व दिन मूल नेतृत्वले स्वीकार नगरेको देखिन्छ ।’

विगत डेढ वर्षमा देउवाले आफूखुसी निर्णय गर्ने र त्यसको अपजसको भागिदार महामन्त्रीलाई बनाउने रणनीति अंगिकार गरेको कांग्रेस नेताहरु टिप्पणी गर्छन् । पार्टी हितका लागि दलले लिनुपर्ने नीति पटकपटक प्रस्तुत गरेपनि त्यसलाई सभापतिले देउवाले लत्याएको बुझाइ थापा निकट नेताहरुमा छ । महामन्त्रीले सभापतिको शैलीले दिक्क भएका थापाले लेखे,’कहिले मौन रहें त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो ।’

अब पनि देउवा शैलीको प्रतिवाद नगर्ने हो भने पार्टीको क्षय रोक्न नसकिने अवस्थामा थापा पुगेका छन् । महाधिवेशन सकिएपछिको यो अवधिमा आफ्नो सुझावलाई सभापतिले मनन नगर्दा दल दिशाविहीन हुने भय थापामा छ । सभापतिको निर्णय प्रक्रियालाई अब पनि स्वीकार जाँदा नयाँ पुस्ताको राजनीतिक जीवन सकिने निष्कर्षसहित थापाले आक्रोश पोखेको उनी निकट नेताहरु बताउँछन् ।

कांग्रेसभित्र र बाहिरको जनमानसले अपेक्षा गरेका नेताका रुपमा थापाले पहिचान बनाएका छन् । संस्थापन पक्षले पार्टीभित्र र बाहिर आफ्नो छवि बिगार्ने प्रयत्न गरेको बुझेर नै थापाले नयाँ कदम लिन लागेको उनी निकट नेता दाबी गर्छन् । ‘कांग्रेस कार्यकर्ताका लागि भरोसा र आड पनि हो । अन्य दलसँग प्रतिवाद गर्ने क्षमता राख्ने नेता हो,’ कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्,’देउवाले आफूखुसी निर्णय गर्छन् । गलत निर्णयको दुई महामन्त्रीले विरोध किन नगरेको भनेर आवाज उठ्छ । जस आफूले लिएर अपजस जति महामन्त्रीमा देउवाले थोपरिदिन्छन् ।’

उप निर्वाचनमा कांग्रेस दुवै स्थानमा पराजित भयो । त्यसको विषयमा हालसम्म समीक्षा पनि हुन सकेको छैन । कतिपयको नेताको बुझाइमा मूल नेतृत्वका कारणले कांग्रेसका उम्मेदवार पराजित भएका हुन् ।

संस्थापनइतरका नेता भन्छन्, ‘तनहुँ चितवनमा कार्यकर्ताले कांग्रेस हुँ तर मत फेर्छु भने । मूल नेतृत्वसँग कार्यकर्ता रिसाएका छन् ।’ सभापति देउवा र पत्नि आरजु राणासँग जोडेर महामन्त्रीद्वयको मूल्यांकन गर्ने प्रवृत्ति समेत मौलाएको छ । संस्थापन पक्षले महामन्त्रीलाई कमजोर बनाउन उनीहरुले पनि के गरेर ? भन्ने भाष्य जबरजस्त निर्माण गर्न लागेको थापा निकट नेताहरुको बुझाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव जित्नका लागि मूल मुद्दा नै सुशासनको बनायो । पुराना दल सुशासन र डेलिभर गर्न नसकेको चुनावी प्रचार सामग्री बनाएर जित्यो । सुशासनको मुद्दा पेचिलो बनेको बेलामा त्यसमा आत्मसमीक्षा कांग्रेसमा हुनै सकेन । ‘केन्द्रमा कांग्रेस सहभागी सरकार छ । ३२९ पालिकामा कांग्रेसको सरकार छ । प्रदेशमा मुख्यमन्त्री र बनेका छन्, ‘संस्थापनइतरका नेता भन्छन्, ‘एकपटक पनि सुशासन र डेलिभरीको छलफल नै हुँदैन । सुशासनको कुरा उठाउनेलाई सभापतिले पेलेको पेल्यै गर्छन् ।’

गत बुधबार र शुक्रबार बसेको शीर्ष नेताको बैठकमा परम्परागत तरिकाले पार्टी सञ्चालन गर्न नहुने भन्दै महामन्त्रीद्वयले सभापतिलाई चेतावनी पनि दिए । तर पनि उनीहरुको कुरामा सुनुवाइ गर्ने गुञ्जायस कतै भेटेनन् । सभापतिले आफूलाई मन लागेको बेला जुनसुकै निर्णय लिनसक्ने तर जायज निर्णय समयमा नभएको गुनासो पार्टीमा छ । महामन्त्रीद्वय केन्द्रीय सदस्यमा डा. मिनेन्द्र रिजाल र चन्द्र भण्डारीलाई मनोनित गर्न बेला बेलामा सभापतिलाई सुझाव दिँदै आएका थिए ।

उनीहरुको बोलीलाई देउवाले वेवास्ता गर्दै आएका थिए । अस्ति अकस्मात् रिजाललाई देउवाले केन्द्रीय सदस्य बनाए । ‘मिनेन्द्र रिजाललाई केन्द्रीय सदस्य बनाउन मन लाग्यो, बनाइदिए,’ संस्थापनइतरका नेता भन्छन्, ‘पहिले महामन्त्रीले बनाउन सुझाव दिँदा किन बनाएनन् ? उनलाई मन लागेको बेला त जे पनि हुने रहेछ, भ्रातृ संस्थालाई किन पूर्णता दिएनन् ?’

पछिल्लो समय पार्टीभित्र कस्तो सम्म रह्यो भने गठबन्धनको बैठक बस्दा देउवाले अन्य/अन्य नेतालाई साथमा लिएर बालुवाटार छिर्ने गरे । महामन्त्रीलाई खबरसमेत गरेनन् । सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन लागि महामन्त्रीद्वयलाई कुनै भूमिका दिइएन । ‘उहाँहरुलाई देउवाले केही होइनन् जस्तो गर्छन् । देउवाले गरेको निर्णय अनलाइन हेरेर थाहा पाउनुपर्दछ,’ गगन निकट विद्यार्थी नेता भन्छन्,’मन्त्री बनेको अनलाइन पढेर महामन्त्रीले थाहा पाउने अवस्था छ ।’

आफूलाई अप्ठ्यारो परेको बेला भने महामन्त्रीद्वयको देउवाले साथ लिने गरेका छन् । एमसीसीको चर्को विरोध हुँदा त्यसको प्रतिवाद गर्न तथा नेताहरुसँग संवादमा देउवाले महामन्त्रीलाई भूमिका दिएका थिए । ‘महामन्त्रीहरुको प्रयास विना एमसीसी पारित गर्ने कल्पना सभापतिले गर्नुभएको थियो?’ थापा निकट प्रदेश सांसद सुवेदी भन्छन् ।

कांग्रेसको विधानमा पदाधिकारीको व्यवस्था छैन । कार्यसम्पादन र केन्द्रीय समितिको बैठक भने विधानमा भएको व्यवस्था अनुसार देउवाले बोलाउँदैनन् । विधानले नचिनेको पदाधिकारी बैठक डाकेर कतिपय विषयमा सहमति खोज्ने प्रयास गर्छन् । निर्णय आफूखुसी गर्ने तर विधानले नचिनेको पदाधिकारी बैठक डाक्नुको अर्थ नभएको नेताहरु बताउँछन् । ‘पदाधिकारी बैठक बोलाएर आफुखुसी निर्णय गर्ने अब सहने अवस्थामा महामन्त्री हुनुहुन्न,’ थापा निकट केन्द्रीय सदस्य भन्छन्, ‘देउवाको कार्यशैलीको अब प्रतिरोध हुन्छ । देउवा प्रवृत्तिका विरुद्धमा अब लडाइँ हुन्छ ।’

आइतबार अपराह्न महामन्त्रीको थापाले आक्रोशित रुपमा सामाजिक सञ्जालमा लेखेपछि शंका उपशंका पार्टीभित्र र बाहिर उठेका थिए ।

थापा निकटका व्यक्तिहरुलाई कार्यकर्ताले निरन्तर फोन गरे । थापाको अभिव्यक्तिलाई लिएर २/३ कोणबाट व्यक्तिहरुले विश्लेषण गरे । पार्टी विभाजन गर्न लागेका हुन् ? भन्दै कार्यकर्ताको फोन आएको थापा निकट एक नेताले सुनाए । पार्टीभित्र रहेर देउवा प्रवृत्तिविरुद्ध संघर्ष गर्ने उद्घोषका रुपमा बुझ्न कार्यकर्तालाई उनीहरुले बुझाए ।

नेताहरुका अनुसार कुन रुपमा अघि बढ्ने बारे थापाले केन्द्रीय सदस्य, कार्यकर्ता गायतमा छलफललाई व्यापकता दिने छन् । उनीहरुको राय अनुसार कठोर कदम चाल्न समेत तयार रहेर महामन्त्री अघि बढेको उनी पक्षीय नेताहरुको दाबी छ । ‘केन्द्रीय सदस्य, सांसद, भ्रातृ संस्थाका नेताहरु, कार्यकर्ताहरुसँग छलफल गर्नुहुन्छ,’ थापा निकट केन्द्रीय सदस्य भन्छन्,’जुन हदसम्म जाने गरी निर्णय लिन सकिन्छ । पार्टी जोगाउन लागि कठोर निर्णय लिन पनि महामन्त्री तयार हुनुहुन्छ ।’

देउवाको शैलीलाई आजित महामन्त्रीद्वयले केन्द्रीय समिति बहिष्कारसम्मको रणनीति बनाउन सक्ने उनीहरु निकट नेताहरु बताउँछन् । ‘एकलौटी निर्णय गर्दै प्रवृत्ति कायमै रहेको अवस्थामा केन्द्रीय समितिको बैठक बहिष्कार गर्नुहुन्छ । पदीय भूमिका अनुसार काम गर्न नपाए पदबाट राजनीमा दिएर विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलनमा लाग्नुहुन्छ,’ महामन्त्री निकट एक नेता भन्छन् ।

महामन्त्रीको सामाजिक सञ्जालमा व्यक्त विचार सभापति देउवाप्रतिको असन्तुष्टि थियो नै । संस्थापनइतरका नेता डा. शेखर कोइरालासँगको कार्यशैलीलाई लिएर थापा आक्रोशित बनेको उनी निकट नेताहरु बताउँछन् ।

समूहलाई नेतृत्व गर्न नसकेको र शक्तिको अभ्यास गर्न शेखर चुकेको संस्थापनइतरका नेताहरु नै उनलाई आरोप लगाउँछन् । ‘शेरबहादुरसँग विचारको लडाई पनि शेखर दाइ गर्नुहुन्न् । आफ्नो समूहको एकीकृत विचारका लागि लड्ने हिम्मत पनि उहाँमा देखिन्न्,’ एक केन्द्रीय सदस्य भन्छन् ।

संस्थापनइतरबाट मन्त्री बनाउनेको नाम शेखरले गगनसँग छलफल नै नगरी देउवालाई बुझाइदिएका थिए ।

कांग्रेस स्रोतका अनुसार उपसभापति पूर्णबहादुर खड्काले शेखरले नाम दिइसकेको जानकारी थापालाई गराएका थिए ।

वैशाख १९ साँझ देउवालाई भेटेर शेखरले आफ्नो तर्फबाट मन्त्री हुनेको सूची दिएका थिए ।

वैशाख २० मा शेखर पक्षबाट उपसभापति धनराज गुरुङ र मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुले मन्त्रीको शपथ लिए ।

‘आपसी समूहमा छलफल त गर्नुपर्ने हो । मन्त्री हुनेको नाम दिएर आँखाको उपचार गर्न विदेशतिर लाग्नुभयो,’ गगन निकट नेता भन्छन् ।

गगन-शेखर सम्बन्धमा चिसोपना आएको छ । दुई नेताबीच पछिल्लो समय संवादले निरन्तरता पाएको छैन । संस्थापनइतरका एक नेताका अनुसार राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले समन्वय गरेर मिलाउन सके मात्रै एउटा विकल्प रहेको उनले सुनाए ।

शेखर-गगनलाई विगतमा संवादमा ल्याउन समन्वय गरेका आचार्य भन्छन्, ‘दुवै जना जाने /बुझेका व्यक्ति हुन् । कांग्रेस र देशको हित बुझेकै होलान् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*