Home / Feature Breaking news / एमाले सांसद कोइरी निलम्बित
फाईल तस्वीर

एमाले सांसद कोइरी निलम्बित

नेकपा एमालेबाट निर्वाचित प्रतिनिधि सभाका सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन्। कर्तव्य ज्यानको मुद्दाको आरोपीका रुपमा फरार रहेका कोइरीलाई सभामुख देवराज घिमिरेले मंगलबार निलम्बन गरेका हुन्।

प्रतिनिधि सभाको अधिवेशन जारी नरहेको स्थिति रहेकाले निलम्बन सम्बन्धी सूचना टाँस गर्ने तयारी भइरहेको संसद् सचिवालयले जनाएको छ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कोइरी महोत्तरी- १ बाट निर्वाचित भएका थिए। उनलाई पक्राउ गर्न सहयोग माग्दै प्रहरीले आइतबार सभामुख देवराज घिमिरेलाई पत्र लेखेको थियो।

त्यसअघि गत पुस ७ गते पनि पत्र पठाइएको थियो। ‘मिति २०७७/०८/१९ गते सम्मानित उच्च अदालत जनकपुरबाट भएको आदेश कार्यान्वयन गर्ने सम्बन्धमा आवश्यक सहयोग गरिने व्यवस्था हुन सादर अनुरोध गरिएको छ,’ त्यतिबेलाको पत्रमा भनिएको थियो।

तर पुसको पत्रलाई लिएर कुनै पनि प्रक्रिया अगाडि बढेको थिएन। अर्कोतिर उनले प्रतिनिधि सभाका केही बैठकमा भाग लिएका थिए। पछिल्लो समय उनले आफू बिरामी रहेको भन्दै सभामुखलाई पत्र पठाएका थिए। त्यसलाई अनुमोदन गर्न खोज्दा गत शुक्रबार प्रतिनिधि सभा बैठकमा विवाद भएको थियो।

२०७२ को मधेस आन्दोलनका बेलामा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई उपचारका लागि अस्पताल लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो। कोइरीमाथि विकको हत्या आरोप छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*