Home / Feature Breaking news / गठबन्धनको साझा प्रतिवद्धता: “अनावश्यक हाेईन, पुरा गर्न सकिने बिषयमा प्रतिबद्ध छाै”
smart

गठबन्धनको साझा प्रतिवद्धता: “अनावश्यक हाेईन, पुरा गर्न सकिने बिषयमा प्रतिबद्ध छाै”

दाङ, १८ कार्तिक । दाङ क्षेत्र नं. २ गठबन्धनले बर्षौदेखि अलपत्र परेर रहेको कुइरेपानी–घोराही–तुलसीपुर फोरलेन सडक दुई बर्षभित्र पुरा गर्नेदेखि गाउँनगर समेट्ने गरी निःशुल्क अपाङ्गमैत्री विद्युतीय नगर बस सेवा सञ्चालन गर्ने साँझा प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । शुक्रवार विहान घोराहीमा एक कार्यक्रमको आयोजना गरेर नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा, क्षेत्र नं २ प्रतिनिधि सभाका उम्मेदवार रेखा शर्मा, क्षेत्र नं २ (१) का उम्मेदवार राजु खनाल, क्षेत्र नं २ (२) का उम्मेदवार प्रचण्डविक्रम न्यौपानेलगायतका अन्य अतिथिहरुले प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् ।

प्रतिवद्धता पत्र सार्वजनिक गर्दै उम्मेदवारहरुले लोकतन्त्र, विकास र समृद्धिको आधारसँगै समग्र दाङको विकासका लागि विभिन्न योजनाहरु अघि सारेका हुन । सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा सघन शहरी क्षेत्रभित्र बनेका सडक भत्कने हिलो र धुलोले बजार कुरुप बन्दै जाने, आवागमन प्रभावित हुने अवस्था बढ्दै गएकाले त्यस्ता स्थानमा अविलम्ब सुधारका लागि पूर्वाधार एम्वुलेन्स खडा गरी भत्केको खबर प्राप्त हुनेवित्तिकै मर्मत गर्ने गरी स्रोत साधन तथा जनशक्ति परिचालन गरिने बताइएको छ । त्यसैगरी दाङमा अहिले भएको विमानस्थल विस्तारसँगै अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माणका लागि पहल गरिने उल्लेख गरिएको छ ।

कक्षा १२ सम्म निःशुल्क र प्राविधियुक्त गुणस्तरीय शिक्षा सुनिश्चित गरिने, सामुदायिक विद्यालयहरुलाई पूर्वाधार तथा सुविधासम्पन्न बनाउँदै शैक्षिक गुणस्तर वृद्धि गरिने, सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई प्रभावकारी बनाई दाङलाई शैक्षिक हव बनाइने, दाङमा महिला विश्वविद्यालय स्थापनाका लागि पहल गरिने, प्राविधिक शिक्षालयहरुमा सीप सिकाउने र उत्पादन बढाउने उद्देश्यले सिक्दै कमाउँदै कार्यक्रम लागू गरिने, बंगलाचुलीमा आंगिक क्याम्पस स्थापना गरिने, घोराही–१८ नवलपुरमा गिरिजाप्रसाद कोइराला मुटु अस्पताल स्थापना गरिने, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा महिला स्वास्थ्य कक्ष स्थापना गरिनेलगायतका योजनाहरु रहेका छन् ।

त्यसैगरी अति विपन्न परिवारलाई २० युनिटसम्म निःशुल्क विद्युत उपलब्ध गराइने भएको छ । व्यवस्थित वस्ती सुरक्षित घर सुन्दर र सभ्य गाउँ शहर निर्माणका लागि विभिन्न कार्य अगाडि बढाइने छ । जनताको रहर पर्यटकीय गाउँ शहर, इतिहास कला संस्कृति, समाजमा भातृत्व युवाको नेतृत्व, गुणस्तरीय वस्तु सुलभ दर उपभोक्ताको हित राज्यको सरोकार, भ्रष्टाचाररहित पारदर्शी सोच सार्वजनिक सेवामा नागरिकको सहज पहुँच, आधुनिक जीवनको आधार सूचना र सञ्चारअन्र्तगत विभिन्न कार्य गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

कार्यक्रम क्षेत्र नं. २ गठबन्धन दलको चुनाव प्रचार–प्रसार समिति संयोजक हेमराज शर्माको अध्यक्षता तथा पूर्व सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महराले दाङको विकास र समृद्धिको लागि आफू सधै प्रतिवद्ध रहेको बताएका थिए । प्रतिवद्धता–पत्रमा उल्लेख गरिएका प्रतिवद्धताहरु जनताका आधारभूत आवश्यकता भएको भन्दै उनले गठबन्धनले पूरा गर्ने बताए । कार्यक्रमको सहजीकरण आर.के. शितलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*