Home / समाचार / भारतबाट बोरामा भित्रिन्छ पैसा, एक वर्षमा स्रोत नखुलेका करिब ५ करोड रूपैयाँ बरामद

भारतबाट बोरामा भित्रिन्छ पैसा, एक वर्षमा स्रोत नखुलेका करिब ५ करोड रूपैयाँ बरामद

स्थान वीरगन्ज–१६ रजतजयन्ती चोक, मिति साउन ४ । सीमावर्ती रक्सौलबाट आएका पूर्वी चम्पारणका २५ वर्षीय राकेशकुमारलाई प्रहरीले जाँचका लागि रोक्यो । उनले चलाएको बीआर०५एन ०२३८ नम्बरको मोटरसाइकलको सिटमुनि र ट्यांकीमा ४१ लाख ५५ हजार रुपैयाँ बरामद भयो ।

पर्साका एसपी रमेशकुमार बस्नेतका अनुसार स्रोत नखुलेको पैसा भारतबाट लुकाइछिपाइ भित्रिँदै गरेको प्रहरीलाई पूर्वसूचना थियो । राकेश कुमारलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरुद्धको कसुरमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

स्थान जनकनन्दनी–१ इनर्वा, धनुषा, मिति असार २१ । सीमावर्ती भारतबाट नेपालतर्फ मोटरसाइकलमा आइरहेका थिए जनकनन्दनी–५ का ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डल । उनीहरूका साथमा थियो आलुको बोरा । तर सशस्त्र प्रहरीको टोलीलाई शंका लाग्यो । रोकेर बोरा खोल्न लगाउँदा नगद ८३ लाख ६४ हजार रुपैयाँ बरामद भयो । इनर्वा बीओपीका इन्स्पेक्टर शम्भु कटुवालको टोली छक्क त पर्‍यो नै, यो घटनापछि उक्त क्षेत्रमा जाँच कडा पारियो ।

पक्राउ पर्नेमा राजेश घरै बसेका बेरोजगार युवक हुन् । घर खर्चका लागि आलु ल्याउने भन्दै उक्त दिन ईश्वरले राजेशलाई सँगै सीमापारि लगेका थिए । आलुको बोरामा रुपैयाँ राखेकोबारे आफूलाई केही थाहा नभएको दाबी राजेशले बयानमा गरेका छन् । ईश्वरले भने बहिनीको विवाहमा १५ लाख ऋण लागेपछि पछिल्लो ८ महिनादेखि नेपाली रुपैयाँ भारतबाट ओसार्ने काम गरिरहेको र जनकपुरसम्म पटक–पटक पुर्‍याएको बयान दिएको सशस्त्रका एसपी प्रकाशकुमार सुवेदीले बताए ।

ईश्वर र राजेश पक्राउ परेको तीन दिनपछि अर्थात् असार २४ मा प्रहरीले भारतीय मोटरसाइकल चढेर नेपालतर्फ आउँदै गरेका बिहारको सीतामढी सोनवर्षाका अवधेश कुमारलाई सर्लाहीमा पक्राउ गर्‍यो । खुट्टामा लगाउने प्याडमा रुपैयाँ बाँधेर नेपाल छिर्दै गरेका अवधेशका साथबाट ५ लाख १० हजार ८ सय नेपाली रुपैयाँ बरामद भएको थियो । सोनवर्षाको मोबाइल पसलमा काम गर्ने अवधेशले दैनिकजसो भारतबाट स्रोत नखुलेको पैसा नेपालतर्फ ओसार्ने गरेका थिए । पसल सञ्चालकले दिएको नेपाली रुपैयाँ मलंगवामा तोकिएको व्यक्तिलाई बुझाएर उनी सोनवर्षा नै फर्किन्थे । दैनिक ज्यालादारीमा मोबाइल पसलमा काम गर्दै आएका अवधेशले ३/४ महिनादेखि नेपाली रुपैयाँ ओसार्ने भरियाका रूपमा काम गर्दै आएको प्रहरीले जनाएको छ ।

सीमावर्ती भारतबाट नेपाल आइरहेकाहरूको साथबाट स्रोत नखुलेको ठूलो परिमाणको रकम बरामद भएका यी प्रतिनिधि घटना मात्रै हुन् । ०७८ माघ १६ मा प्रदेश २–०२–००१प०४८०८ नम्बरको अपाचे मोटरसाइकललाई नेपाल–भारत सीमाको नगराइन–२ जटही चोकमा प्रहरीले खानतलासी लियो । ट्यांकीभित्रबाट ३८ लाख ३५ हजार रुपैयाँ बरामद भयो । यस घटनामा धनुषाको लक्ष्मिनिया–२ सिंगरजोडाका २३ वर्षीय अमितकुमार यादव पक्राउ परे ।

उनी एक महिनापछि सोही वर्ष फागुन १६ मा भन्सार कार्यालय जनकपुरमा ४० लाख ४६ हजार जरिवाना बुझाएर तारेखमा छुटे । थुनामुक्त भएका यादव अहिले बेरोजगार छन् । भन्सार कार्यालयमा उनले आफू इँटाभट्टामा मजदुरी गर्ने गरेको र राम्रो कमाइ हुने लोभमा भारतबाट पैसा बोक्न पहिलो पटक गएको बयान दिएका छन् । भन्सार स्रोतका अनुसार उनलाई थुनामुक्त गराउन आवश्यक धरौटी रकम भारतबाट नेपाली रुपैयाँ ओसार्ने गिरोहले नै परिवारलाई उपलब्ध गराएका थिए । भन्सार कार्यालयमा अमितका मामा पर्ने नरेशकुमार यादवले जरिवानाको रकम बुझाएका थिए । यस घटनामा पक्राउ परेकाको बयानबाट प्रहरीले अमितको पछिपछि आइरहेको अर्को मोटरसाइकलले ४२ लाख रुपैयाँ ओसारिरहेको सूचना पाएको थियो । तर अमित पक्राउ पर्नेबित्तिकै त्यो मोटरसाइकल भारततिरै भाग्यो ।

प्रदेश प्रहरी कार्यालयका अनुसार मधेसका आठ जिल्लाबाट ०७८ साउनदेखि गत असार २४ सम्म मात्रै भारतबाट ल्याउँदै गरेको स्रोत नखुलेको ४ करोड ९६ लाख ७३ हजार ६ सय ८० रुपैयाँ बरामद भएको छ । यसमा सशस्त्रले ३ करोड १५ लाख २६ हजार ४ सय ४० र नेपाल प्रहरीले १ करोड ८१ लाख ४७ हजार २ सय ४० रुपैयाँ बरामद गरेको तथ्यांक छ । स्रोत नखुलेको धेरैजसो रकम बरामद सुराकीकै कारण मात्रै सम्भव भइरहेको छ । अवैध रकम ओसार्नेहरूबीचकै मनमुटावका कारण मात्र सूचना चुहिरहेको सशस्त्र प्रहरीका एक अधिकृतले बताए ।

भारतबाट कसरी नेपाली पैसा आइरहेको छ, त्यो पनि ठूलो मात्रामा ? प्रहरीसँग प्रस्ट जवाफ छैन । नेपालीले सीमावर्ती भारतीय बजारमा गएर किनमेल गर्दा जम्मा हुने रकम जम्मा पारेर भित्र्याएको हुन सक्ने नेपाल प्रहरीका अनुसन्धान अधिकारीहरूको अनुमान छ । नेपाली मुद्राको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक हो । बैंकका पदाधिकारी अनभिज्ञता प्रकट गर्छन् । ‘यसबारे हामी थाहा छैन, कुनै औपचारिक अनुसन्धान पनि भएको छैन,’ बैंकको जनकपुर शाखाका उपनिर्देशक अशोककुमार राईले भने, ‘सामान्यतया भारतीय बजारमा नेपालीले गर्ने किनमेलकै पैसा थुप्रिने हो । अन्य कुनै माध्यमबाट नेरु भारत जाँदैन ।’ कतिपय भारतीयले स्रोत नखुलेको रकम नेपालीमा साटेर राखेको र त्यसलाई नेपाल ल्याएको हुन सक्ने पनि उनको अनुमान छ ।

प्रहरी अधिकारीहरू भने किनमेलको रकम मात्रै भारतमा थुप्रिएको तर्कमा शंका गर्छन् । अवैध रूपमा हुन्डी कारोबार र अवैध सामग्रीको कारोबारसँग पनि यसलाई जोडेर हेर्नुपर्ने उनीहरूको तर्क छ । एक उच्च अधिकारीले संगठित सुन तस्करी, अवैध हातहतियार र लागूऔषधको कारोबारसँग यसलाई जोडेर हेर्नुपर्ने बताए । नेपालमा कालो धन कमाएर स्रोत खुलाउन नसकेपछि भारतमा लुकाएको र नेपालमा जग्गा खरिदबिक्री गर्न भारतबाट हुन्डीका रूपमा नेपाली रुपैयाँ आएको हुन सक्ने प्रहरीको अनुमान छ । यस्ता पैसा लुकाउने व्यापारी र राजनीतिक दलका व्यक्ति रहेको प्रहरीको दाबी छ ।

तेस्रो मुलुकबाट ल्याउने सामान खरिद र नेपालीले दिनहुँ भारतीय बजारमा गर्ने खरिदारीबाट नेपाली रुपैयाँ भारतमा थुप्रिएको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डीआईजी गणेश ठाडामगरको भनाइ छ । ‘बैंक प्रयोग नगरी सीमापारि थुप्रिएको नेपाली रुपैयाँ फिर्ता ल्याउने स्रोत खुलाउन सक्ने अवस्था नहुँदा आलुको बोरामा राखेर भित्रिएको हो,’ उनले भने, ‘नेपाल आउनुपर्ने विदेशी मुद्रासमेत अहिले बाहिरबाट भारतमा आउँछ । भारतमा वैदेशिक मुद्रा राखेर स्रोत नखुलेको नेपाली रुपैयाँ नेपाल ल्याउन भरियाको प्रयोग हुन्छ ।’ तेस्रो मुलुकबाट न्यून बीजकीकरण गरेर सामान ल्याउनाले पनि यस्तो भएको हुन सक्ने उनले बताए ।

नेपालभित्र नेपाली मुद्रा कानुनी ग्राह्य (लिगल टेन्डर) का रूपमा रहेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टको भनाइ छ । यसकारण अरू मुलुकमा नेपाली मुद्राको कारोबार हुनु भनेको अनौपचारिक गतिविधिलाई प्रश्रय पुग्ने सम्भावना धेरै रहने उनको भनाइ छ । उक्त रकम अनौपचारिक क्रियाकलापमा पनि प्रयोग भएको हुन सक्ने भएकाले नियन्त्रणका लागि राज्यका सबै अंगबीच प्रभावकारी समन्वय गरेर अघि बढ्नुपर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*