Home / Feature Breaking news / भान्सा चलाउने उपभोग्य वस्तुको मूल्यवृद्धिले जनजीवन कष्टकर
फाईल तस्वीर

भान्सा चलाउने उपभोग्य वस्तुको मूल्यवृद्धिले जनजीवन कष्टकर

दैनिक भान्सामा प्रयोग हुने उपभोग्य वस्तुको मूल्य वृद्धिले गर्दा जनजीवन कष्टकर बन्दै गएको छ । मूल्य वृद्धिका कारण दैनिक भान्सा चलाउन मुस्किल हुन थालेका छन् । महँगीले सर्वसाधारण नागरिकलाई चुल्हो धान्न गाह्राे भएको छ ।

दैनिक उपभोग्य सामग्रीको मूल्य अहिले ५० देखि १०० प्रतिशतसम्म वृद्धि भएको छ । मूल्य वृद्धिले गरिब तथा बिपन्न परिवार भान्सा चलाउन नै मुस्किल परेका छन् । दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिले दैनिक ज्यालादारी मजदुर र आम्दानी थोर हुने सर्वसाधारणलाई परिवार धान्न चर्को परेको गुनासो बढ्दो छ ।

खानेतेल सबभन्दा बढी महँगिएको उपभोग्य वस्तु मध्ये एक हो । केही महिनाअघि ६० रुपैयाँ पर्ने आधा लिटर खाने तेलको मूल्य अहिले १ सय १० पुगेको छ । दाल, चामल, गेडागुडी सबैको भाउ बढेको छ ।

लसुन, प्याज, अदुवा जस्ता मसलाजन्य वस्तु सबैको भाउ बढेको बेला हरियो तरकारी छोइ नसक्नु भएको छ । १ हजारको नोट लिएर बजार निस्कँदा एक झोला तरकारी पाउन गाह्रो हुने गरेको गृहिणीहरू बताउँछन् । महँगी बढेपछि भान्सा चलाउन समस्या हुने गरेको बताउँछिन् ।

दैनिक मजदुरी गरि खाने त्रियुगा नगरपालिका-१२ बिसनपुरमा बिलट सदाले दैनिक ज्याला मजदुरी गरी ५ सय कमाएर ल्याउँदा उनको परिवारलाई एक छाक टार्न समस्या हुने गरेको बताए । सबै दिन काम हुँदा सहजै भए पनि वर्षायाम भएकाले काम गर्न नपाउँदा जीवनशैली थप कष्टकर बन्न पुगेको उनको भनाइ छ ।

गरिब तथा बिपन्न दैनिक ज्याला मजदुरी गरी खाने समुदायलाई महँगीको मारले उठ्नै नसक्ने गरी थिचेको छ । बजारमा सबैको भाउ आकासिएको छ, यता दैनिक उपभोग्य वस्तुको त्यस्तै । ‘जति नै महँगी बढेतापनि हातमुख त जोड्नै पर्छ । जतिसुकै महँगो भए पनि खान त पर्छ,’ उनले भने । आफ्नो भान्सा चल्नै नसक्ने अवस्था सिर्जना भएको उनले सुनाए ।

उनीहरु जस्ता हजारौँ ज्याला मजदुरी र निम्न आय भएका गरिब र विपन्न वर्ग गाईघाटमा बसोबास गर्छन् । सदरमुकाम र सहरोन्मुख भएकाले गाउँबाट अस्थायी कमाई गर्न दैनिक ज्याला मजदुरी गर्न आउनेको संख्या निकै छ ।

पछिल्लो समय बढेको महँगीले दैनिक ज्याला मजदुरी गरि खाने मजदूरलाई जिवन धान्न समस्या भएको नेपाल बिजुली प्लम्बर तथा पेन्टर संघ (क्युपेक) ले जनाएको छ । ‘महँगीले ज्याला मजदुरी गर्न आउने बाहिरका कामदारको जीवनशैली अत्यन्त पीडा दायक भएको छ । चामल, तेल, दालदेखि हरियो तरकारी सम्मको भाउ दोब्बर बढेको छ भने यता ज्याला नबढ्दा मजदुरहरु परिवार पाल्नै नसक्ने अवस्थामा पुगेका छन् ।

व्यापारीहरूको भनाइ अनुसार गएको १० वर्षमा सब भन्दा धेरै भाउ बढेको यसै वर्ष हो । लगातार २ वर्ष कोभिड कहरको बहानामा पनि निकै मूल्यवृद्धि भएको थियो । तर सरकारले मूल्यवृद्धिलाई नियन्त्रण गर्ने कुनै प्रयास गरेनन् । त्यसपछि स्थानीय तहको निर्वाचनपछि त थेग्नै नसक्ने गरि बजार भाउ बढ्यो । त्रियुगा उद्योग बाणिज्य संघका पूर्व उपाध्यक्ष भरत राईले कोभिड कहरले थलिएको अर्थतन्त्रमा लगातारको आन्दोलन हुँदै स्थानीय तह चुनावसम्म झण्डै डेढ वर्ष अनुत्पादक खर्च भएकाले महँगी बढेको बताए ।

अर्थतन्त्र डामाडोल भएको र त्यसैको उपज धान्नै नसक्ने गरी महँगी बढेको राईको भनाइ छ । बजारमा सवारी साधनमा हाल्ने इन्धनको मूल्य वृद्धिको मात्र चर्चा हुन गर्दछ । तर, त्यो भन्दा धेरै मूल्य भान्सा चलाउने उपभोग्य वस्तुको वृद्धि भएको कुराले भने चर्चा पाउँदैनन् । पेट्रोलिय पदार्थ मूल्यवृद्धि हुँदा त्यसले चर्चा पाउँछ तर पेट्रोलियम पदार्थमा १०/१५ रुपैयाँ बढ्दा सबैको ध्यान जाने तर बजारमा १ सय प्रतिशत मूल्यवृद्धि हुँदा कसैको ध्यान जान सकेको छैनन् कि होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*