Home / Feature Breaking news / बाह्रौ राष्ट्रपति रनिङ सिल्ड : दाङ स्पोट्र्स ‘एरिना’, खेलजगत उदासीन

बाह्रौ राष्ट्रपति रनिङ सिल्ड : दाङ स्पोट्र्स ‘एरिना’, खेलजगत उदासीन

खेमराज रिजाल
बेलझुण्डी, १८ असार । बाह्रौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता उद्घाटन भइरहँदा खेल क्षेत्रमा सम्बद्ध अधिकारीहरूले दाङ जिल्लालाई खेल क्षेत्रको एरिना (खेलाडीहरूको घम्साघम्सी गर्ने स्थान) हो, बताइरहँदा पछिल्ला केही वर्षयता यहाँको खेलजगत उदासीन छ । खेल संरचनाहरू एकपछि अर्को तहसनहस बन्दै गएका छन् । बाह्रौ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा देखिएको सहभागिताले उदासीनताको पुष्टि गरेको छ ।

राष्ट्रपतिको नाम जोडिएको यो प्रतियोगितालाई स्थानीय पालिकाले नै अर्थपूर्ण रूपमा प्राथमिकता दिएनन् । प्रतियोगिताको उद्घाटन समारोहमा देखिएको झिनो सहभागिता पनि यसको थप पुस्ट्याइ हो । मंसिर पुसमा हुने भनिएको यो प्रतियोगिता सर्दैसर्दै असारे झरीमा आयोजना हुन थालेको छ । यसमा सहभागी पालिकाले प्रतियोगितालाई औपचारिक रूपमा झारा टार्ने प्रतियोगिताका रूपमा मात्र लिन थालेका छन् ।

कुनै बेला पालिकाका जिल्ला समन्वय समितिको संयोजकत्वमा जनप्रतिनिधिको बाक्लो सहभागिता, स्थानीय प्रशासनका अधिकारीहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाका प्रतिनिधि, विभिन्न विधाका खेलकुद संघका पदाधिकारी, प्रशिक्षक एवं अधिकारकर्मी, पत्रकार र उत्साहजनक रूपमा नागरिक सहभागिता हुने यो प्रतियोगिता अहिले बाघ दुब्लाएर बिरालो बनेजस्तै भएको खेलप्रेमीले बताएका छन् । कारण कुनै पालिकाले प्रतियोगितामा सहभागिता समेत जनाउन चाहेनन्, धेरै पालिकाले यसलाई औपचारिक निम्तो स्वीकार गरेको रूपमा मात्रै लिए ।

यस्तै झिनो उपस्थितिबीच शुक्रवार तुलसीपुर उपमहानगरपालिकाको बेलझुण्डी स्थित रंगशालामा विधिवत रूपमा शुभारम्भ भएको छ । जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री डिल्लीबहादुर चौधरीले खेल क्षेत्रको स्वामित्व र अपनत्व लिन प्रदेश सरकार तयार रहेको अभिव्यक्ति दिएका छन् । ‘खेल क्षेत्रमा अझै पनि केन्द्रीकृत अधिकारको विकेन्द्रीकरण हुन सकेको छैन, संघीय संरचनाले अधिकार जमाइरहेको छ, त्यसलाई जबर्जस्त रूपमा तोडेर खेल क्षेत्रको अधिकार प्रदेश सरकारले लिँदै छौँ’, प्रमुख अतिथि चौधरीले भने ।

साथै उद्घाटन कार्यक्रममा खेल क्षेत्र एउटा टिम बिल्डिङको क्षेत्र भएकाले यसले राष्ट्रिय एकतालाई समेत मजबुत बनाउने बताए । उनले वेलझुण्डी रंगशालाको जिर्णोद्वार तथा निर्माण भइसकेका संरचनाको संरक्षणमा प्रदेश सरकारले कार्यविधि बनाएर ओनरसिप लिन थालेको पनि खुलासा गरे । ‘अब यो रंगशाला र जिल्ला खेलकुद विकास समितिको पनि ओनरसिप हामीले लिने छौँ’, प्रमुख अतिथि चौधरीले भने, ‘जिर्णोद्वार भवन मर्मतका लागि प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्नेछ । साथै उनले खेल क्षेत्रमा संघीयता कार्यान्वयनमा ल्याउन र जिल्ला समन्वय समितिको काम, कर्तन्वय र अधिकारलाइए थप प्रभावकारी बनाउन प्रदेश सरकार लागिसकेको पनि उनको अभिव्यक्ति थियो ।

कार्यक्रममा विशिष्ट अतिथि तथा तुलसीपुर उपमहानगरपालिकाका कार्यवाहक प्रमुख स्यानी चौधरीले तुलसीपुर उपमहानगरपालिकाले खेल क्षेत्रमा आवश्यक मात्रामा बजेट विनियोजन गर्दै आएको बताएकी छिन् । साथै उपमहानगरपालिकाको क्षेत्रमा रहेका खेल संरचनाहरूको ओनरसिप लिन पनि उपमहानगरपालिका तयार रहेको उनको अभिव्यक्ति थियो । ‘खेल क्षेत्रलाई जगाउन अब स्थानीय सरकार लाग्नु पर्छ, यो रंगशालालाई खेलाडीको कुम्भ भेलाका रूपमा स्थापित गर्ने हामीले तयारी गरिसकेका छौँ’, कार्यवाहक प्रमुख चौधरीले कार्यक्रममा भनिन् ।
अर्का विशिष्ट अतिथि तथा लुम्बिनी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव जयप्रकाश भट्टराईले दाङ जिल्ला खेल क्षेत्रको एरिना भए पनि पछिल्लो समयमा खेलजगत अग्रगामी लक्ष्यमा पुग्न नसकेको बताए । उनले अझै पनि खेल क्षेत्रमा संघीयता आइनसकेको बताउँदै खेलकुद क्षेत्रमा देखिएको केन्द्रीकृत अभ्यासलाई संघीयताको संरचनामा ल्याउन कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेशमन्त्री चौधरीको ध्यानाकर्षण गराए । उनले यहाँको खेल जगतले प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पनि दाङ जिल्लाले आफ्नै पहिचान बनाइसकेको बताए । यस्तो खेल जगतको उर्वर भूमि अर्थात् खेल क्षेत्रको कुम्भ मेला हुने स्थानमा खेल क्षेत्र भने उत्साहित बन्न नसकेको पनि उनको अभिव्यक्ति थियो ।

साथै कार्यक्रममा विशिष्ट अतिथि भट्टराईले प्रदेश स्तरीय खेलकुद प्रतियोगिता पनि दाङमै हुने बताए । ‘हामीले विधिवत रूपमा निर्णय पनि गरिसकेका छौँ, यसै महिनाको २४ गतेदेखि २६ गतेसम्म प्रदेश स्तरीय खेलकुद प्रतियोगिता पनि यही जिल्लामा हुनेछ’, प्रदेश सदस्य सचिव भट्टराईले भने ।

कार्यक्रमका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले खेल क्षेत्र स्वास्थ्य, अनुशासन र राष्ट्रियतासँग पनि जोडिएको बताउँदै यो क्षेत्रलाई अझै सशक्त रूपमा लैजान वडा तहदेखि संघीय सरकारसम्म क्रियाशील हुने बताए । साथै उनले जिल्लाको खेल गरिमालाई थप बलियो बनाउन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको उत्पादन थलो दाङलाई बनाउन आफूले तीनै तहका सरकार तथा समस्त खेल क्षेत्रसँग समन्वयकारी भूमिका निर्वाह गर्ने अभिव्यक्ति दिए ।

दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख पद्मा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण खेलकुद पत्रकार मञ्च दाङका अध्यक्ष तथा खेलकुद पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न ६ विधाका खेलमा खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा भलिबल, एथ्लेटिक्स, कराँते, कबड्डी, तेक्वान्दो खेलहरू हुने भएका छन् । प्रतियोगितामा स्थानीय तहबाट छनोट भएका खेलाडीले भाग लिन पाउने छन् । स्थानीय तहमा यो प्रतियोगिताका लागि खेलाडी छनोट गर्ने काम सम्पन्न भइसकेको छ । निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीले प्रतियोगितामा सहभागी भएका छन् । हरेक वर्ष आयोजना हुने राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता कोरोना भाइरसको संक्रमणका कारण विगत दुई वर्ष आयोजना हुन सकेको थिएन । प्रतियोगितामा उसु समावेश भए पनि जिल्लामा खेल मैदान अभावका कारण उसु भने हुने छैन ।
लुम्बिनी प्रदेशस्तरिय रास्ट्रपति रनिङ शिल्ड दाङमा

लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिता–२०७९ तयारीसम्बन्धी छलफल कार्यक्रम तुलसीपुरमा भएको छ । लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईको अध्यक्षतामा भएको छलफलले असार २४ देखि २६ गतेसम्म दाङको बेल्झुन्डीमा सञ्चालन गर्ने तयारी भएको छ । प्रतियोगिताका लागि सुरक्षा, यातायात, आवास, भोजन, स्वास्थ्यलगायतलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा सम्बन्धित सरोकारवाला निकायसँग छलफल भएको दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख पद्मा चौधरीले बताइन ।

कार्यक्रममा दाङ तुलसीपुरको बेल्झुण्डीमा प्रदेश स्तरको प्रतियोगिता हुनु समग्र जिल्लाको सान र गौरवको विषय भएकाले यसलाई कसरी भव्य एवम् सभ्य तवरले सार्थक र परिणाममुखी बनाउन सकिन्छ भन्नेमा आफू गम्भिरतापूर्वक लाग्ने सम्बन्धित सबैले प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख नलप्रसाद उपाध्याय, जिल्ला समन्वय समिति दाङका सदस्य सरस्वती नेपाली, लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजाल, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, त्रीसिद्धेश्वरी यातायात राप्ती प्रालिका मदन वली, तुलसीपुर होटल व्यवसायी संघका सहसचिव दिलबहादुर भण्डारीलगायतले आ–आफ्नो सुझाव सहितको धारणा राखेका थिए । लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य हरिष वलीको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका लेखा अधिकृत मीनबहादुर जिसीले गरेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*