Home / Feature Breaking news / क्रूर श्रीमान् : श्रीमतिले गुमाइन् ज्यान

क्रूर श्रीमान् : श्रीमतिले गुमाइन् ज्यान

यही जेठ १२ गते चितवनको मुसहर बस्तीका ४० वर्षीय रामचन्द्र माझी र उनकी ३८ वर्षीया श्रीमती गीताले आधा किलो मासु र भात पकाए । खाना खाने क्रममा रामचन्द्रले गीतासँग पैसाको कुरा निकाले ।

दिनभरि ज्यालादारी गरेर आएकी गीताले ‘पैसा छैन’ भनेपछि रामचन्द्रले कुटपिट गर्न सुरु गरे । गीताको सुरुवाल खोलिदिए । अगेनोछेउमा बाल्न राखेको दाउरा जबर्जस्ती मलद्वारमा घुसाए । छिनभरमै दाउराले भित्रैसम्म छेड्यो, पीडाले चिच्याएकी गीताको चिच्याहट छिमेकीका घरसम्म पुग्यो । छिमेकी नआइपुग्दै रामचन्द्रले गीतालाई आँगनमा फ्याँकिदिए ।

छिमेकी ज्ञान्ती पासवानको काखमा ढलेकी गीताको यौनांगबाट रगतको भेल बगिरहेको थियो । मासुको डल्लो पनि बाहिरै झुन्डिएको थियो । छिमेकी मिलेर रामचन्द्रलाई त्यहीँ बाँधेर राखे । केही बेरपछि प्रहरीको जिम्मा लगाए । एम्बुलेन्समा राखेर गीतालाई भरतपुर अस्पताल पुर्‍याए ।

ज्ञान्ती घटना भएको स्थान खैरहनी नगरपालिका–१० की वडा सदस्य पनि हुन् । उनी भन्छिन्, “उनीहरू बूढाबूढी मात्रै बस्थे, कुटाकुट त सधैँजसो हुन्थ्यो । त्यो दिन ज्यानै लिने गरीको क्रूर काम गरियो ।”

ज्ञान्तीका अनुसार रामचन्द्र दिनभरिजसो रक्सीको नशामा हुन्थे । गीता ज्यालादारी गर्थिन् । दैनिक ५०० रुपैयाँसम्म कमाउँथिन् । त्यही पैसा रामचन्द्र रक्सी पिउनलाई माग्थे । यही निहुँमा उनीहरूबीच दिनहुँजसो झगडा हुन्थ्यो ।

गएको बिहीबार राति भरतपुर अस्पताल पुर्‍याइएकी गीताको साथमा देउरानी उमा माझी र केही छिमेकीहरू थिए । अस्पतालले तत्काल उपचार प्रक्रिया सुरु गर्‍यो । तर, गीताका आफन्तसँग न औषधि ल्याउने पैसा थियो न कसैसँग आर्थिक सहयोग माग्ने पहुँच नै । भरतपुर अस्पतालले एकद्वार संकट व्यवस्थापन प्रणाली (ओसीएमसी)मार्फत निःशुल्क उपचार प्रक्रिया अघि बढायो ।

भरतपुर अस्पतालका प्रवक्ता डा. गोविन्द कँडेलका अनुसार गीताको मलद्वारबाट छिराइएको दाउराको चोटले योनि र मलद्वारबीचकोे खाली भाग त्यातिएको थियो । पाठेघरको भित्तासम्म घाउ बनाएको थियो । घाउको संक्रमणमा केही सुधार भएपछि सोमबार दिउँसो २ देखि ४ बजेसम्म उनको शल्यक्रिया गरियो ।

डा. कँडेल भन्छन् “शल्यक्रियापछि पनि बिरामीको अवस्था त्यति खराब थिएन, राति ८ बजेसम्म सामान्य नै थियो । तर, ८ बजेपछि काम्ने, मुटुको धड्कनमा असन्तुलन हुने देखियो । हामीले हृदयाघातका कारण उनको मृत्यु भएको आशंका गरेका छौँ । किनकि, उनलाई हाइपरटेन्सन पनि देखिएको थियो ।” भरतपुर अस्पतालले सोमबारै राति ११ः५५ बजे गीताको मृत्यु भएको घोषणा गरेको थियो ।

घटनाको चार दिनपछि मृत्यु भएकी गीताको शव अहिले भरतपुर अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । पोस्टमार्टमपछि मृत्युको यकिन कारण खुल्नेछ ।

चितवनका एसपी नवराज अधिकारीका अनुसार गीताकी जेठी छोरीले मंगलबार बाबुविरुद्ध किटानी जाहेरी दिएकी छन् । किटानी जाहेरीसँगै पोस्टमार्टम प्रक्रिया अगाडि बढाइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका रामचन्द्रविरुद्ध प्रहरीले आफ्नै प्रतिवेदनमा आधारित भएर ज्यानसम्बन्धी कसुरमा मुद्दा अगाडि बढाएको डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।

उता, काजक्रियाका लागि समेत खर्च नभएपछि वडा तथा विभिन्न संघ–संस्थामार्फत रकम जुटाइरहेको वडा सदस्य ज्ञान्तीले बताइन् ।

गीताका तीन छोरीमध्ये २० वर्षीया जेठीको विवाह भइसकेको छ । १४ र १२ वर्षीया दुई छोरी घटना भएको दिन घरमा थिएनन् । कामको खोजी गर्दै विभिन्न ठाउँमा पुग्ने गरेका थिए । छोरीहरूले काजक्रिया गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*