Home / Feature Breaking news / निर्वाचित भए सेवा सुविधा लिँदैन : पोख्रेल

निर्वाचित भए सेवा सुविधा लिँदैन : पोख्रेल

दाङ, २५ वैशाख । पहिलो स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूले सरकारबाट सेवा सुविधा लिए । ५ वर्षसम्म मासिक रूपमा आर्थिक सेवा सुविधा लिँदा जनप्रतिनिधिहरूलाई ‘तलवी कर्मचारी’ को ट्याग समेत लाग्यो । फलतः जनप्रतिनिधिहरू जनतालाई सेवा सुविधा प्रदान गर्ने प्रतिनिधिका रूपमा रहेकाले कुनै पनि सेवा सुविधा नलिएर जनताको काममा खटिनु पर्ने सुझाव समेत आए ।

आसन्न स्थानीय तहको निर्वाचनमा भिडेका एक उम्मेदवारले भने आफू निर्वाचित भएमा कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका छन् । बरु आफूलाई प्राप्त हुन आउने सेवा सुविधावाफतको रकम शिक्षा तथा वृद्धवृद्धाहरूको स्वास्थ्य सेवामा खर्चने उनले उद्घोष गरेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १३ मा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेसका डुल्लुराम पोख्रेलले आफू वडाध्यक्षमा निर्वाचित भए जनप्रतिनिधिका रूपमा कुनै पनि सरकारी सेवा नलिने उद्घोष गरेका हुन् ।

उनले आफ्नो सेवा सुविधाका नाममा प्राप्त हुने रकम विपन्नवर्गका विद्यार्थीहरूको शिक्षामा खर्चने भएका छन् । आर्थिकका कारण अध्ययनबाट वडाका कुनै पनि बालबालिका वञ्चित नहोउन् भन्ने उद्देश्यले आफ्नो सेवा सुविधा उनीहरूकै पठनपाठनमा खर्चने उनले बताए । ‘म जनप्रतिनिधि बनेँ भने आफ्नो कार्यकालभरि मैले कुनै पनि सरकारी सेवा सुविधा नलिएर जनताका लागि काम गर्छु’, उनले भने, ‘मलाई सेवा सुविधा वाफत आउने रकम म आर्थिक रूपमा विपन्न परिवारका बालबालिकाको शिक्षामा लगाउँछु ।’

यसैगरी उनले आफूलाई प्राप्त हुने सेवा सुविधा वापतको रकम बृद्धबृद्धाहरूको उपचारमा लगाउने समेत बताए । यस्ता बृद्धबृद्धाहरूलाई घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिने समेत उनले उद्घोष गरे । बृद्धबृद्धाहरूलाई हरेक सेवा सुविधाका लागि वडा कार्यालयमा आउन नपर्ने गरी काम गर्ने एजेण्डा वडाध्यक्षका उम्मेदवार पोख्रेलको छ । उनले बृद्धबृद्धाहरूलाई वडाबाट प्रदान हुने हरेक सेवा सुविधा घरमै पुगेर दिइने बताए । ‘म वडाध्यक्षमा निर्वाचित भएँ भने बृद्धबृद्धाहरूलाई सेवा सुविधाका लागि वडा कार्यालयमा आउनु पर्ने बाध्यता हटाउँछु’, उनले भने, ‘घरमै पुगेर उहाँहरूलाई सेवा प्रदान गर्ने वातावरण मेरो कार्यकालमा बन्नेछ ।’

प्रत्येक महिना वडाका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य जाँचका लागि शिविर सञ्चालन गर्ने उनको अर्को अजेण्डा छ । ‘प्रत्यक महिना वडाका विभिन्न स्थानमा नियमित रूपमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर स्वास्थ्यको क्षेत्रमा काम गर्ने योजना बनाएको छु’, उनले भने, ‘अहिले मासिक रूपमा तय गरेको छु, आवश्यकताअनुसार शिविर बढाउने छु ।’

वडाको आर्थिक पारदर्शीता आफ्नो अर्को मूललक्ष्य रहेको भन्दै जनताले तिरेको करको सही सदुपयोग हुनेमा विश्वस्त हुन आग्रह समेत गरेका छन् । ‘स्थानीय सरकारमा आर्थिक पारदर्शीतामा अहिले केही समस्याहरू भएको देखेको छु’, उनले भने ‘मेरो पहिलो प्राथमिकता आर्थिक पारदर्शीता हो, वडामा सुशासन र पारदर्शीतामा खलल पुग्न दिने छैन ।’

यसैगरी उनले उत्कृष्ट विकासको मोडलका रूपमा वडालाई विकसित गर्ने योजना बुनेका छन् । उनले आफ्नो प्रतिबद्धतामा वडा स्तरमा एक टोल एक खेल मैदानको अवधारणा अघि सारेका छन् । वडाका चोक तथा सार्वजनिक स्थलहरूमा फ्री वाईफाईको योजना बनाएका छन् । यस्तै वडामा प्राप्त हुने गुनासाहरू सुनुवाइका लागि छुट्टै इकाई स्थापना गर्ने र ती गुनासालाई सम्बोधन गर्दै वडाबासीलाई सहज सेवा प्रदान गरिने उनको योजना छ ।

वडाबाट प्रदान गरिने सेवा सुविधालाई चुस्तदुरुस्त राखेर भेदभावरहित ढङ्गबाट प्रवाह गरिने संकल्प गरेका पोख्रेलले बालबालिका तथा युवाहरूलाई लागूऔषधको दुव्र्यसनबाट मुक्त गरिने योजना बनाएका छन् । विपन्न नागरिकको आय आर्जनका लागि विभिन्न रोजगारमूलक कार्यक्रम चलाइने योजना बनाएका उनले रोजगारीलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*