Home / Feature Breaking news / दाङमा डेढ लाख बढी बालबालिकालाई टाइफाइड विरुद्ध खोप

दाङमा डेढ लाख बढी बालबालिकालाई टाइफाइड विरुद्ध खोप

दाङ, ११ बैशाख । दाङमा डेढ लाख बढी बालबालिकाहरुलाई टाइफाइडविरुद्धको खोप लगाइएको छ । जिल्लामा चैत २३ देखि सुरु भएको टाइफाइडविरुद्धको खोप अभियानका क्रममा हालसम्म जिल्लाका दशवटै पालिकामा १ लाख ७० हजार बालबालिकाहरुलाई टाइफाइडविरुद्ध खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिएका छन् ।

दाङमा १५ महिनादेखि १५ बर्षसम्मका करिब २ लाख २ हजार १ सय ३४ बालबालिकाहरुमध्ये शुक्रवारसम्म १ लाख ७० हजार बालबालिकाहरुलाई खोप दिइएको कार्यालय प्रमुख शाहीले बताए । ‘जिल्लामा २ लाख बढी बालबालिकालाई खोप दिने हाम्रो लक्ष्य हो । अहिलेसम्म १ लाख ७० हजार बढी बालबालिकालाई खोप दिइसकेका छौँ’, स्वास्थ्य कार्यालय प्रमुख शाहीले भने– ‘अभियान अझै केही दिन चल्ने भएकाले लक्ष्य अनुसार नै बालबालिकालाई खोप दिन सफल हुनेमा विश्वस्त छौँ ।’

कार्यालय प्रमुख शाहीले १५ महिनादेखि १५ बर्षसम्मका २ लाख बढी बालबालिकामध्ये अभियानका क्रममा १ लाख ९० हजारसम्म बालबालिकाहरुलाई खोप दिन सके जिल्लामा लक्ष्य पूरा हुने बताए । सहरी तथा सुगम क्षेत्रहरुमा बालबालिका खोप दिन सहज भए पनि भौगोलिक रुपमा दुर्गम राजपुर गाउँपालिका र बंगलाचुली गाउँपालिकामा कठिनाई भएको बताएका थिए ।

स्वास्थ्य कार्यालयका अनुसार २ लाख २ हजार १ सय ३४ बालबालिकाहरुमध्ये विद्यालयमा अध्ययनरत १ लाख ६७ हजार १ सय ६८ र ३४ हजार ९ सय ६६ बालबालिका विद्यालय बाहिर रहेका छन् । अभियानअन्तर्गत खोपका लागि जिल्लाका ६ सय २९ विद्यालयहरुमध्ये ५ सय १५ वटा विद्यालयहरुमा खोप केन्द्र स्थापना गरिएको छ । खोपका लागि १ हजार १ सय ९५ स्वास्थ्यकर्मी र २ हजार ३ सय ८१ जना स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

देशभर चैत २५ गतेदेखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप अभियान सुरु भए पनि दाङमा बालबालिकाहरुको बार्षिक परीक्षालाई मध्यनजर गरेर दुई दिनअघि चैतको २३ गतेदेखि अभियान सुरु भएको थियो । अभियान यही बैशाखको १८ गतेसम्म सञ्चालन हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*