विनोद पोख्रेल
२०७७ साउन २७ गते
मैले कतिपल्ट डायरीमा लेख्न लायक कुराहरु नभएको भनेको जस्तो लाग्छ । नभनेको भए पनि आज भन्छु । कहिलेकाहीँ आफै तर्क गर्छु । अपवाद बाहेक विशेष प्रभाव पार्ने विषय राजनीति हो । जब यसबाट निष्क्रिय र निरपेक्ष भइन्छ तर डायरीलाई विषयको कमी हुन्छ । नत्र हिजै पनि नारायणकाजी श्रेष्ठले नेकपाभित्र प्रजातान्त्रिक अभ्यास भइरहेको भनेर मेरो विचारमा हास्यास्पद टिप्पणी गरेका छन् ।
तर मेरो मनले त्यसलाई महत्व नै दिएन । अबको सोच सरकार केही कुरामा त जिम्मेवार हुनुपर्ने हो भन्ने मात्रै हो । पढ्न प्राइभेट स्कूल, औषधी गर्न प्राइभेट अस्पताल, पिउने पानीका लागि प्राइभेट कम्पनीहरुको भर पर्ने हो भने सरकारले गर्ने के हो ? यता सडक बनाउँदा पनि जनसहभागिता भनेर पैसा लिएकै छ । करहरु बढेको बढ्यै छ । भ्रष्टाचार प्रतिस्पर्धात्मक रुपले बढेको छ । आन्तरिक किचलो बढेकै छ । अन्तर्राष्ट्रिय पहिचान, अन्तर्राष्ट्रिय सम्बन्धहरुमा पनि हामी विशेष र सफल भएको देखिँदैन ।
जति कुरा गरे पनि सभ्य भाषामाभन्दा विदेशमा कामदार पठाउने देश अथवा नोकर जन्माइ देश बनेको वा नबनाएकोमा नेतृत्वले गर्व गरिरहेको छ । त्यही रेमिट्यान्स अहिले एउटा मुख्य आयस्रोत भएको छ । लेखेर सन्तुष्टि पाउने पक्ष केही नभएको जस्तो लाग्छ । त्यसैले होला कहिलेकाहीँ सबै विषय सकिएको जसतो लाग्छ । अर्कोतर्फ मेरो अतीत मात्र छैन । वर्तमान पनि छ । मैले कविताहरुमा जीवन भनेको आफ्नो भोगाइले गराएको अनुभव हो भन्ने भावना व्यक्त गरेको हो । त्यस्तै वहाँले पनि जे भोग्नुभयो त्यसमध्ये नराम्रो पक्षलाई सकेसम्म पन्छाएर राम्रो पक्षलाई बढी प्रस्तुत गर्नुभयो ।
यो जीवनको एक प्रकारको वाध्यता हो । नराम्रो पक्षलाई कोट्याएर आफू आफै दुःखी वा पीडित हुनु राम्रो होइन । नराम्रा कुरा सुधार गर्न बन्ने भए सुधार गर्नुपर्छ होइन भने बिर्सनु नै पर्छ । यसलाई वा वर्तमानलाई अतीत भनेर लेख्दा पनि त राम्रै मानिने रहेछ, पढ्दाखेरि । त्यसमा पनि दृष्टिदोष हुनसक्छ । मैले यो रचना भनौँ वा कृतिलाई सकारात्मक रुपमा लिएँ । शीर्षकमा सीमित भएन । उनले आफ्नो बारेमा आफ्नाको बारेमा लेख्न मन लागेको लेखे । त्यो सही वा गलत हुँदैन । व्यक्तिको इच्छा हो अथवा उसको भावनाले दिएको निर्देशन हो ।
त्यो पढ्दै जाँदा मैले मेरो धेरै लेखहरु ठिकै छन् जस्तो पनि माने । डायरीमा निजी जीवन वा त्योसँग सम्बन्धित विषयवस्तु उचित हुँदैन कि जस्तो लागेको थियो । तर एकराज शर्माको यो कृतिले एउटा सन्तोष दिएको छ । मेरो लेखाइमा म हुनु स्वाभाविक हो । मेरो सोच, मेरो विचार, मेरो भोगाइ हुनु स्वाभाविकै हो जस्तो लागेको छ । साहित्य आत्मसन्तुष्टिका लाग लेख्ने, आफ्ना भावना प्रकट गर्ने अथवा आफूखुसी पार्ने लेख्ने के हो भनेर मसँग कसैले सोध्यो भने मैले अलिकति पनि समय नलिएर उत्तर दिने छु– आफ्ना भावनाहरुलाई इमानदारीका साथ अभिव्यक्त गर्ने भनेर ।
त्यहाँ जुन रुपमा भए पनि लेखक, रचनाकार कृतिकार जे भने पनि आफू हुन्छ नै । यी सबै सोचको संगालोले मेरो डायरी लेखाइका थोरै पानाहरु मात्रै महत्वहीन होलान् जस्तो लागेको छ । मेरा परिवारजनप्रतिको मेरो माया, विश्वास उनीहरुले दिएको खुसी वा पीडा सबै त वास्तविक हुन् । म कल्पनामा बगि नै भनेर म गलत भए वा अनावश्यक भएँ भन्न मिल्दैन ।
यो सोचले डायरीको केही महत्व बढाएको जस्तो पनि लागेको छ । कहिलेकाहीँ आउने ‘अब किन लेख्ने?’ भन्ने प्रश्नको उत्तर पनि भएको जस्तो लाग्छ । मेरो बुद्धिले पटक्कै होयन, मेरो मनले लेख्ने प्रण ग¥यो र मलााई माध्यम बनाएर आफू अभिव्यक्त भइरहेको छ ।
२०७७ साउन २८ गते
हिजो एउटा कर्याक्रममा स्वास्थ्यमन्त्रीले वर्तमान महामारीलाई विषय बनाएर सरकारको आलोचना गर्नेहरुको बुद्धि सप्रोस् भनेर प्रार्थना गरेका छन् । उनले घरभित्रको र बाहिरका पनि भनेका छन् । सायद आफ्नो दलभित्रका र अन्य दलकालाई भन्न खोजेका हुन् । आजभोलि समाचार अलि कम सुन्ने मेले यो समाचार सुनेपछि अलि अचम्म माने । बहुदलीय शासन व्यवस्थामा आलोचना स्वाभाविक हुन्छ ।
यसका मुख्यतया दुईवटा कारण हुन्छन् । एउटा गल्ती कमजोरी देखाएर त्यसलाई सुधार्न लगाउने जिम्मेवारी निर्वाह गर्नु अर्को कुरा सरकारको कमजोर पक्षको आलोचना जनतासम्म पु¥याएर आफ्नो पक्षमा जनमत निर्माण गर्ने प्रयास गर्नु । अहिलेको स्थिति भन्ने हो भने कोरोनाको कारणले मरेको भन्ने सरकारी तथ्यांकले असी पार गरेको देखाइएको छ । सरकारी प्रवक्ताले नै यो रोग समुदायमा प्रवेश गरेको, दोस्रो स्टेजमा पुगेको आफै भन्दै छ ।
सुरक्षाका प्रभावकारी उपाय भनेको सरकारकै अनुसार मस्क लगाउनु र अलि पर उक्लै हुनु (सामाजिक दूरी बनाउनु) हो । त्यो न त सरकारले लागू गर्न गराउन सकेको छ न त आम नागरिकले यसबारे चिन्ता लिएको जस्तो देखिन्छ ।
त्यसमा सवारीका सार्वजनिक साधन खोल्नु, किराया बढाएर थोरै मानिस चढाउने जस्ता शर्त राख्नुलाई पालन गराउनै नसक्नु, अति आवश्यक बाहेक अरु काममा पास नदिने भन्नु तर त्यो अति आवश्यक व्यावहारिक क्राइटेरियामा प्रष्ट नभएकोले साना गाडीलााई चाहिएको बेला पासले हर्जा नहुने जस्तो काम एकतर्फ छ भने नेपालमा उत्पादन भएको खाद्यवस्तु बेच्न अथवा बजारमा आउन नदिएर आयात गरिएको वस्तुहरु घरघरमा पु¥याउने पनि भएकै छ ।
मेरो आफ्नै अनुभव भन्ने हो भने पनि म आफै सक्ने कुरा अलग हो नत्र कडा लकडाउनमा काठमाडौंबाट दाङ आएका पनि प्रशस्त देखेको छु । उनीहरु फर्केको पनि देखेको छु । एक दिन बिरामी भेट् एक ठाउँ दाङमै जानुपर्ने भयो । त्यतिबेला लकडाउन खुलेको थिएन । तर बाटोमा ट्राफिक देखेर म फर्केको हुँ । बस, मिनीबसहरु बाहेक सबै यातायातका साधन चलेका छन् । मेरो अनुभव भन्ने हो भने सामान्य स्थितिमाभन्दा अलि बाक्लो नै ट्राफिक देखेको हुँ । मलाई सरकारको आलोचना गर्नु छैन । मलाई जनमत मेरो पक्षमा पार्नु पनि छैन ।
सरकारले गल्ती नगरोस्, गल्ती भयो भने यसको असर आम नेपालीको जीवन र मृत्युसम्म पर्ने हो भन्ने चिन्ता मात्रै हो । लकडाउन पक्कै स्थिति नियन्त्रणमा राख्न गरियो होला तर परिणाम उल्टो देखियो । लकडाउनपछि स्थिति विस्फोटक बन्दै छ । यो भन्न हुने हो कि होइन ? अथवा यो सरकारको विरोध गरेको हो कि होइन त्यो सरकार चलाउनेहरुले जानून् । तर उनकै तथ्यांक मात्रै दोहो¥याउँदा समेत तर्सने चरित्र भने सुधार गर्नै पर्छ । सरकार वा व्यक्तिको फरमानले रोग लाग्ने पनि होइन र रोग निको हुने पनि होइन ।
यति धेरै समयसम्म यस्ता रोग नियन्त्रणमा नआउनु आफैमा एउटा विपद हो । मानवीय अक्षमता हो । यसबाट जोगिने उपायहरु पूर्ण रुप पालना गर्नु गराउनु पर्छ । तर यहाँ त्यो गरिएन । सोशल डिस्टेन्सको कुरा गरिन्छ तर किराया बढाएर यातायात सञ्चालन गरिन्छ । त्यहाँ सोसल डिस्टेन्स छ कि छैन ? त्यसको निरीक्षण हुँदैन । किराया भने बढेको छ । त्यस्तै बजार सरकारी कार्यालय सबैमा यही स्थिति छ । अझै पनि धेरै गर्नुपर्ने छ र गर्न सकिन्छ ।
तर यस्तै परिवेशले आवश्यकताबोध गराउने हो । भेन्ट्रीलेटर जस्ता स्वास्थ्य सामग्रीको उचित मात्रामा जुगाड हुनुपर्ने, सरकारी अस्पताल संख्यात्मक र गुणात्मक दुवै तरिकाले बढाउनुपर्ने जस्ता कुरातर्फ ध्यान गएको देखिएको छैन । सरकारले काममा आफ्नो शैली कत्ति पनि छोडेको छैन । फरमानले रोग निको हुँदैन । प्रार्थनाले पनि केही हुनेवाला छैन ।