Home / समाचार / खानेपानीका प्रमुखलाई अर्धनग्न बनाएर बजार घुमाईयो

खानेपानीका प्रमुखलाई अर्धनग्न बनाएर बजार घुमाईयो

डा. सिके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताले गुण्डागर्दी शैलीमा नेपाल खानेपानी तथा ढल निकास कार्यालय जनकपुर शाखाका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई कुटपिट गर्दै अर्धनग्न अवस्थामा नगर परिक्रमा गराएका छन् ।

खानेपानीको आयोजनाको काम अधुरै छोडेको कारण सडक तथा बाटोहरूमा आवात-जावत गर्न समस्या भएको भन्दै जनमत पार्टीका नेता कार्यकर्ताले आज बिहीबार उनलाई अर्धनग्न बनाएर बजार घुमाएका हुन् ।  रामानन्द चोकस्थित खानेपानीको कार्यालयमा प्रवेश गरी उनीमाथि कुटपिट गर्दै लुगासमेत फुकालेर अर्धनग्न बनाइ जुलुस निकालेर निमित्त प्रमुख कुशवाहालाई नगरको विभिन्न भागको परिक्रमा गराए ।

जनकपुरधाम उपमहानगरपालिका-८ बलवा टोलमा खानेपानी विस्तारका लागि पाइप लाइन खनेर अलपत्र छोड्दा बाटो बिगारेले कारबाही गरिएको जनमत पार्टीका नेता कार्यकर्ताले बताएका छन् ।  जनमत पार्टीका अध्यक्ष सिके राउतको घरसम्म जाने बाटोमा बिगारेको भन्दै खानेपानीका प्रमुखलाई खबरदारी स्वरुप अर्धनग्न गरी नगर परिक्रमा गराइएको जनाइएको छ ।

जनमत पार्टीका सचिव इन्द्रजीत यादवले भने जनकपुरधाम उपमहानगरपालिका र खानेपानी संस्थानको कारण बाटो हिलाम्य भई आवागमन समस्या भएको कारण खबरदारी स्वरुप कारबाही गरिएको बताएका छन् ।

सुरक्षार्थ खटिएका प्रहरीको उपस्थितिमै जनमत पार्टीका कार्यकताले प्रमुख कुशवाहालाई नगर परिक्रमा गराएको हो । जुलुुससँगै प्रहरी भए पनि प्रमुख कुशवाहालाई कारबाही गर्दा किन केही गर्नु भएन भन्ने प्रश्नमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता जितेन्द्र बस्नेतले केही बोल्न चाहेनन् ।

जुलुससहित प्रमुख कुशवाहालाई अर्धनग्न नगर परिक्रमा गराउंदै राउतका कार्यकर्ताहहरू जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयलाई बुझाएर त्यहाँबाट मुख्यमन्त्री लालबाबु राउत साइकल चोर प्रदेश छोड, मेयर लालकिशोर साह मुर्दावादलगायतका नारा लगाउँदै फर्केका थिए ।

बाटो ग्राभेलको माग गर्दै दुई साताअघि जनमत पार्टीका नेता कार्यकर्ताले जनकपुरधाम उपमहानगरपालिकामा तोडफोड गरेका थिए । मेयर लालकिशोर साहलाई कालोमोसो दल्न पुगेका कार्यकर्ता मेयर नभेटाएपछि उपमहानगरपालिकाको कार्यालयमा तोडफोड गरी फर्केका थिए । प्रहरीले प्रदर्शनमा उत्रिएका १० जनालाई भने नियन्त्रणमा लिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*