Home / Feature Breaking news / देशभर कांग्रेस महाधिवेशनको सरगर्मी : ७७ जिल्ला सभापतिका तीन सय ८८ दाबेदार

देशभर कांग्रेस महाधिवेशनको सरगर्मी : ७७ जिल्ला सभापतिका तीन सय ८८ दाबेदार

तीन सय ७७ पुरुष र ११ महिला जिल्ला सभापतिका आकांक्षी 

कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै गर्दा केन्द्रको मात्रै होइन, जिल्ला नेतृत्वका लागि पनि कसरत सुरु भएको छ । जिल्ला–जिल्लामा अधिवेशनको सरगर्मी छाएको छ । अहिलेसम्म ७७ जिल्ला सभापतिका लागि तीन सय ८८ जनाले दाबी प्रस्तुत गरिसकेका छन् । यद्यपि, केन्द्रमा बन्ने समीकरण टुंगो लागिनसकेका कारण जिल्लामा कुन दाबेदार बलियो र कस्तो समीकरण बन्ने अझै अनिश्चित छ ।

केन्द्रीय सभापतिका आकांक्षीहरूले आफ्नो पक्षमा माहोल बनाउन आफूनिकट नेताहरूलाई जिल्ला–जिल्लामा परिचालन गरेका छन् । जिल्लामा सभापति र महाधिवेशन प्रतिनिधिमा आफ्नो पकड बढाउन उनीहरूको निर्देशन छ । तर, केन्द्रमा जस्तै जिल्लामा पनि हरेक समूहमा सभापतिका आकांक्षी धेरै छन् । हरेक जिल्लामा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौला समूह छन् । त्यसभित्रका उपसमूह पनि छन् ।

अहिलेसम्म जिल्ला सभापतिमा देखिएका आकांक्षीमध्ये सभापति शेरबहादुर देउवा समूहनिकट एक सय ७७ र देउवाइतरका दुई सय ११ जना छन् । महिला आकांक्षीको संख्या अत्यन्त न्यून छ । तीन सय ७७ पुरुष आकांक्षी हुँदा महिला ११ जना मात्रै छन् ।

कतिपय ठूलो भूगोल र धेरै निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा शीर्ष नेताहरूको प्रत्यक्ष चासो छ । वडा तहको अधिवेशन आउन अब १५ दिन मात्रै छ । जसका कारण शीर्ष नेताहरू वडादेखि नै आफ्नो पक्षमा धेरै प्रतिनिधि चयन गराउने रणनीतिमा छन् ।

सभापतिमा दोहोर्‍याउने आकांक्षा देखाएका सभापति देउवाले महाधिवेशनको मिति टुंगो लागेलगत्तै असार पहिलो साता नै आफूनिकटका पदाधिकारी र केन्द्रीय सदस्यसँग छलफल गरेर प्रदेशगत रूपमा आफ्नो समूहको अवस्थाबारे जानकारी लिँदै बढीभन्दा बढी जिल्ला र महाधिवेशन प्रतिनिधि ल्याउन निर्देशन दिएका थिए ।

वरिष्ठ नेता पौडेलले पनि आफ्नो समूहका पदाधिकारी र केन्द्रीय सदस्यसँग छलफल गरेर आफ्नो पक्षमा धेरै जिल्ला सभापति र महाधिवेशन प्रतिनिधि निर्वाचित हुने अवस्था सिर्जना गर्न जोड दिनुपर्ने भनेका छन् । मझधारमा रहेको सिटौलाले पनि आफूनिकटलाई धेरैभन्दा धेरै महाधिवेशन प्रतिनिधि आउने वातावरण तयार गर्न भनेका छन् ।

१३औँ महाधिवेशनमा परम्परागत दुई गुटलाई तोडेर तेस्रो धारको नेतृत्व गर्दै उदाएका सिटौला तल्लो तहमा भने दुवैतिर मिसिएका छन् । तल्ला तहसम्म लड्दा एक्लै चुनाव नजित्ने भएपछि सिटौलाले जता मिल्दा सहज हुन्छ, त्यतै मिलेर अघि बढ्ने रणनीतिमा कार्यकर्ता परिचालन गरेका छन् ।

यसपटक देउवा र पौडेल समूहमा पनि जिल्ला र महाधिवेशन प्रतिनिधिको संख्या बढाउन समूहगत प्रतिस्पर्धा मात्रै छैन, नेताहरूका आ–आफ्नै चासो र स्वार्थ छन् । आफ्नै समूहका विमलेन्द्र निधिले सभापतिमा चुनौती दिएपछि देउवाले पर्न सक्ने नोक्सानीलाई समेत ध्यान राखेर प्रतिनिधि चयन गर्न निर्देशन दिएका छन् । ‘निधिले विद्रोह गरेर उम्मेदवारी दिए पनि टिमलाई क्षति नहुने गरी जिल्लासम्मको अधिवेशन गराउनुपर्छ भन्ने उहाँ (देउवा) को निर्देशन छ,’ उनीनिकट एक नेताले भने ।

पौडेल समूहमा पनि पौडेल मात्रै आकांक्षी छैनन्, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी र रामशरण महत, केन्द्रीय सदस्यहरू डा. शेखर कोइराला, सुजाता कोइराला र कल्याणकुमार गुरुङसम्मले सभापतिमा दाबी गरिरहेका छन् । आकांक्षीहरूका बीच आफ्नो पक्षमा माहोल बढाउने र त्यसका आधारमा बार्गेनिङ गर्ने होड पनि चलेको छ । जिल्ला अधिवेशनपछिको बलका आधारमा महाधिवेशनमा नयाँ समीकरण बन्ने नेताहरूले बताइरहेका छन् ।

देउवाइतर समूहबाट एक मात्रै उम्मेदवार बनाउनुपर्ने भन्दै शुक्रबार बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको सभापतिका आकांक्षीहरूको बैठकले वडादेखि जिल्ला तहसम्मको अधिवेशनपछि थप सल्लाह गरेर उम्मेदवारीको टुंगो लगाउनुपर्ने निष्कर्ष निकालेको छ । पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीको संयोजनमा सभापतिका आकांक्षीले पहिलो छलफल गरेका हुन् । छलफलमा सभापतिका आकांक्षी देउवा र निधिबाहेक सबै नेता सहभागी थिए ।

एक नेताका अनुसार केन्द्रमा धेरै आकांक्षी हुँदाको असर तल्ला तहमा पर्न सक्ने भएकाले सबै आकांक्षीले एक ठाउँमा छलफल गरेर एकताको सन्देश दिने कोसिस गरेका हुन् । नेताहरूबीच अहिले तल्ला तहको अधिवेशन हुँदासम्म समूहलाई जिताएर अघि बढ्ने र पछि महाधिवेशन प्रतिनिधिको संख्या र चाहना हेरेर सहमतिका आधारमा अघि बढ्नेबारे छलफल गरेका छन् । आकांक्षी नेताहरूले छुट्टाछुट्टै भेटघाट र कोठे छलफलबाट पनि महाधिवेशन केन्द्रित रणनीति बनाएका छन् ।

अहिलेका जिल्ला सभापति को कता ? 

१३औँ महाधिवेशनपछि स्याङ्जाका जिल्ला सभापति कमल पंगेनीको निधन भएको छ । थप भएका जिल्ला नवलपरासी पश्चिम र रुकुम पूर्वमा केन्द्रीय समितिले जिम्मेवारी दिएको छ । तीसहित ७६ जिल्लामध्ये ३० जिल्लामा सभापति देउवानिकट सभापति छन् भने ४६ जिल्लामा इतर पक्षका सभापति छन् ।

जिल्ला सभापतिमध्ये प्रदेश १ बाट धनकुटाका अग्निप्रसाद पौडेल र ओखलढुंगाका प्रदीपकुमार सुनुवार मात्रै संस्थापनमा छन् । त्यसबाहेक १२ जिल्लामा संस्थापनइतर समूहको नेतृत्व छ । ताप्लेजुङकी लीला बोखिम, पाँचथरका नरेन्द्रकुमार केरुङ, इलामका हिमालय कर्माचार्य, झापाका उद्धव थापा, संखुवासभाका दीपनकुमार श्रेष्ठ, तेह्रथुमका गोविन्द ढुंगाना, भोजपुरका नन्दमणि राई, मोरङका डिकबहादुर लिम्बू, सुनसरीका राजीव कोइराला, सोलुखुम्बुका विनोदकुमार बस्नेत, खोटाङका नरेशकुमार श्रेष्ठ र उदयपुरका विदुर बस्नेत संस्थापनइतर पक्षमा छन् । मोरङका सभापति लिम्बूले १३औँ महाधिवेशनमा देउवा समूहबाट जितेका थिए । तर, अहिले उनी इतर पक्षसँग जोडिएका छन् ।

त्यस्तै, प्रदेश २ मा भने संस्थापन पक्षको एकलौटी नेतृत्व छ । सप्तरीका दिनेश यादव, सिराहाका रामचन्द्र यादव, धनुषाका महेश शंकर गिरी, महोत्तरीका महेन्द्रकुमार राय, सर्लाहीका नागेन्द्रकुमार राय, रौतहटका कृष्णप्रसाद यादव, पर्साका अजयकुमार द्विवेदी र बाराका जयचन्द्र चौरसिया पनि देउवा समूहमै छन् । बागमती प्रदेशमा रसुवाका पेम्बाछिरिङ तामाङ, भक्तपुरका दुर्लभ थापा, ललितपुरका मदन अमात्य, दोलखाका रुद्रबहादुर खड्का र मकवानपुरका इन्द्रबहादुर बानियाँ संस्थापन समूहका हुन् । धादिङका रमेश धमला, नुवाकोटका जगदीश्वरनरसिंह केसी, काठमाडौंका कृष्ण (सबुज) बानियाँ, चितवनका जितनारायण श्रेष्ठ, रामेछापका लवश्री न्यौपाने, सिन्धुपाल्चोकका विकास लामा, काभ्रेका मधु आचार्य र सिन्धुलीका उज्ज्वल बराल भने संस्थापनइतर समूहमा छन् ।

गण्डकी प्रदेशमा गोरखाका हरिबहादुर घले, बाग्लुङका दीपेन्द्रबहादुर थापा, म्याग्दीका खमबहादुर गर्जुवा, पर्वतका खिमप्रसाद भुसाल र मनाङका टेकबहादुर गुरुङ संस्थापन समूहमा छन् । यस्तै, नवलपुरका विष्णु लामिछाने, लमजुङका भेषबहादुर पौडेल, कास्कीका कृष्णबहादुर केसी, तनहुँका वैकुण्ठनाथ न्यौपाने र मुस्ताङकी यान्जिना विष्ट संस्थापनइतर समूहका हुन् ।

लुम्बिनी प्रदेशमा संस्थापनइतर समूहको वर्चस्व छ । गुल्मीका भुवन श्रेष्ठ, अर्घाखाँचीका विष्णुप्रसाद खनाल, कपिलवस्तुका सुरेन्द्रराज आचार्य, पाल्पाका वीरबहादुर राना, रोल्पाका अमरसिंह पुन, प्युठानका अमरप्रसाद भण्डारी, बाँकेका किरण कोइराला, रुकुम पूर्वका केशरमान रोका र बर्दियाका सञ्जयकुमार गौतम संस्थापनइतर समूहका हुन् । संस्थापन समूहमा रुपन्देहीका अब्दुल रज्जाक, नवलपरासीका अर्जुनप्रसाद पोखरेल र दाङका कीर्तिबहादुर खड्का छन् ।

कर्णाली प्रदेशमा हुम्लाका जयपति रोकाय, बाजुराका कविराज पण्डित, डोटीका प्रदीप देउवा समूहमा छन् । डोल्पाका अंगतकुमार बुढा, मुगुका खड्गबादुर शाही, जुम्लाका दीपबहादुर शाही, कालिकोटका हर्षबहादुर बम, सल्यानका गणेश चन्द, रुकुम पश्चिमका प्रेमप्रकाश वली, जाजरकोटका दीपकजंग शाह, दैलेखका कृष्णकुमार बिसी र सुर्खेतका कमलराज रेग्मी संस्थापनइतर समूहमा छन् ।

सुदूरपश्चिम प्रदेशमा कैलालीका नरनारायण शाह, कञ्चनपुरका हरि बोहरा, बाजुराका कविराज पण्डित, डोटीका प्रदीप देउवा, अछामका भरतबहादुर स्वाँर र बझाङका हर्कजंगबहादुर सिंह देउवानिकट हुन् । यस्तै, दार्चुलाका ललितसिंह बोहरा, बैतडीका नरेन्द्रसिंह थापा र डडेल्धुराका कर्णबहादुर मल्ल संस्थापनइतर समूहसँग छन् ।

जिल्ला सभापति बन्न के चाहिन्छ योग्यता ? कसरी चुनिन्छ नेतृत्व ?

कांग्रेसमा नेतृत्व चयन गर्ने अधिकार क्रियाशील सदस्यहरूलाई छ । वडा तहदेखि केन्द्रसम्मैको नेतृत्व चयनमा क्रियाशील सदस्यको भूमिकाले अर्थ राख्छ । वडामा रहेका क्रियाशील सदस्यमध्येबाट चुनिएका प्रतिनिधिले पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्लाको नेतृत्व चयन गर्छन् । साथै, केन्द्रीय समितिको नेतृत्व चयनका लागि प्रतिनिधिको समेत चयन गर्छन् ।

वडाबाट क्रियाशील सदस्यको संख्याका आधारमा प्रत्यक्ष र जनसंख्याका आधारमा समानुपातिक ढंगले क्षेत्रीय प्रतिनिधि चयन गर्ने व्यवस्था छ । ती प्रतिनिधिले जिल्ला अधिवेशनका सदस्यमध्येबाट दश वर्षसम्म निरन्तर क्रियाशील सदस्य भएको व्यक्तिलाई प्रत्यक्ष मतदानमार्फत सभापति चयन गर्ने व्यवस्था छ । त्यस्तो मतदानमा खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउने व्यक्ति सभापतिमा निर्वाचित हुन्छ ।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार १२ साउनमा वडा, १६ साउनमा स्थानीय तह, २० साउनमा प्रदेश सभा क्षेत्रीय, २३ साउनमा प्रतिनिधिसभा क्षेत्र र एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला तथा २६ साउनमा एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने कार्यतालिका छ । हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट सभापतिसहित २५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ ।

जिल्ला अधिवेशनले सभापतिसहित उपसभापति दुई, सचिव दुई र सहसचिव दुईको निर्वाचन गर्नेछ । कार्यसमितिमा प्रत्येक गाउँपालिकाबाट दुई, नगरपालिकाबाट तीन, उपमहानगरबाट पाँच र महानगरपालिकाबाट सात सदस्य सदस्य निर्वाचित हुन्छन् । यस्तै, महिला, दलित, आदिवासी जनजाति, खस–आर्य, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्रबाट जनसंख्याका आधारमा समानुपातिक रूपमा सदस्यहरू निर्वाचित हुन्छन् । सभापतिले कुल संख्याको २० प्रतिशत सदस्य मनोनीत गर्न पाउँछन् । निर्वाचित सदस्यमध्येबाट एकजनालाई सभापतिको प्रस्तावमा जिल्ला कार्यसमितिले कोषाध्यक्ष निर्वाचित गर्ने व्यवस्था छ ।

उपत्यकाका तीन जिल्लामा को–को छन् सभापतिका दाबेदार ?

काठमाडौं : काठमाडौं जिल्ला सभापतिका लागि अहिलेसम्म आधा दर्जन आकांक्षी अगाडि देखिएका छन् । १० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता कृष्णप्रसाद सिटौलानिकट नेता भीमसेनदास प्रधान र सभापति शेरबहादुर देउवाको प्रभाव छ । अघिल्ला महाधिवेशनमा देउवा समूह निर्णायक हुँदै आएको छ । १४औँ महाधिवेशनमा सभापतिका लागि हालका जिल्ला सभापति सबुजकृष्ण बानियाँसहित क्षेत्र नं. २ का सभापति उपेन्द्र कार्की, क्षेत्र नं. ४ का सभापति राजु श्रेष्ठ, हरिहर अधिकारी, दामोदर खड्का र गौरी दवाडी आकांक्षी छन् । सिंहनिकट बानियाँले १३औँ महाधिवेशनमा देउवा समूहको सहयोगमा सभापति जितेका थिए । कार्की, श्रेष्ठ र खड्का तीनैजना सभापति देउवानिकट हुन् । अधिकारी र दवाडी नेता प्रधाननिकट हुन् । खड्का तत्कालीन प्रजातान्त्रिक कांग्रेसका काठमाडौं सचिव थिए भने अधिकारी टोखा नगरपालिकाको मेयरमा पराजित उम्मेदवार तथा कांग्रेसका महासमिति सदस्य हुन् । दवाडी भने काठमाडौंकै पूर्वउपसभापति हुन् ।

ललितपुर : ललितपुरमा पनि सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहको बलियो प्रभाव छ । देउवाइतरका नेताहरूका बीचमा मतभेद हुँदा उनीनिकट जिल्ला सभापति मदन अमात्यले दोस्रो कार्यकाल पूरा गर्दै छन् । यसपटक देउवा समूहबाट गजेन्द्र महर्जन, मीनकृष्ण महर्जन र प्रकाशनन्दन जोशी आकांक्षी छन् । तर, सभापति अमात्य भने गजेन्द्र महर्जन वा जोशीमध्ये एकजनालाई अघि सार्ने पक्षमा छन् । महर्जन क्षेत्र नं. ३ का क्षेत्रीय सभापति एवं गोदावरी नगरपालिकाका मेयर हुन् । जोशी जिल्ला कार्यसमितिका सदस्य हुन् । मीनकृष्ण महर्जन महासमिति सदस्य हुन् । देउवाइतर समूहबाट जितेन्द्रकुमार श्रेष्ठ, रामकृष्ण चित्रकार, मथुराप्रसाद घिमिरे र खुमप्रसाद घिमिरे आकांक्षी छन् । महासमिति सदस्य रहेका श्रेष्ठ १३औँ अधिवेशनमा सभापतिका प्रत्याशी थिए । संविधानसभाका सदस्य भइसकेका चित्रकार महासमिति सदस्य हुन् । उनी १३औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित हुन् । कोइराला परिवारसँग नजिक घिमिरे १०औँ र १२औँ महाधिवेशनमा सभापतिका प्रत्याशी थिए । अर्का खुमप्रसाद घिमिरे भने क्षेत्र नं. १ का पूर्वक्षेत्रीय सभापति हुन् ।

भक्तपुर : भक्तपुरमा वर्तमान सभापति दुर्लभ थापा पुनः दोहोरिन चाहेका छन् । उनी सभापति शेरबहादुर देउवानिकट हुन् । त्यही टिमबाट पूर्वसभापति गणेश चक्रधरको नामसमेत चर्चामा छ । देउवाइतर समूहबाट अष्टकुमार कवे, महेश श्रेष्ठ, विनोद कायस्थ र विदुरमानसिंह बस्नेत आकांक्षी छन् । कवे १३औँ महाधिवेशनमा थापासँग पराजित थिए । उनी मध्यपुर थिमि नगरपालिकाको मेयरमा पनि पराजित भए । नेता कृष्णप्रसाद सिटौलानिकट श्रेष्ठ पूर्वसभापति हुन् । कायस्थ नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष भइसकेका नेता हुन् । उनी महामन्त्री डा. शशांक कोइरालानजिक छन् । बस्नेत भने जिपी कोइराला फाउन्डेसनका अध्यक्ष हुन् ।

७४ जिल्लामा को–को छन् सभापतिका दाबेदार ? 

प्रदेश १

झापा :  कांग्रेस झापा सभापतिमा चार आकांक्षी देखिएका छन् । तीनजना कृष्णप्रसाद सिटौला समूहका छन् भने एकजना शेरबहादुर देउवा पक्षका छन् । कांग्रेसको वर्तमान जिल्ला उपसभापति राम कट्टेल, पूर्वउपसभापति देउमान थेबे र जिल्ला प्रवक्ता लोकराज ढकाल सिटौला समूहका हुन् । पूर्वसचिव भगीरथ पोद्दार देउवा समूहका हुन् ।

मोरङ :  मोरङमा केन्द्रीय सदस्य शेखर कोइराला पक्षका धेरै नेता जिल्ला सभापतिका आकांक्षी देखिएका छन् । वर्तमान सभापति डिगबहादुर लिम्बू, सचिव नागेश कोइराला, पूर्वसचिव यदु विष्ट, प्रदेश सभामा प्रमुख सचेतक रहेका केदार कार्की शेखर समूहबाट आकांक्षी छन् । देउवा समूहका राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझी र पूर्वराज्यमन्त्री दिलीप गच्छदारले पनि आकांक्षा देखाएका छन् । पूर्वसचिव गोपालमानसिंह राजभण्डारी पनि आकांक्षी छन् । तर, उनी कुन कतै खुलेका छैनन् ।

सुनसरी : सुनसरीमा पूर्वमन्त्री सीताराम मेहता, वर्तमान जिल्ला उपसभापति सञ्जय श्रेष्ठ र वर्तमान सचिव केदार भण्डारी तथा जिल्ला सदस्य प्रदीप चौधरीले सभापतिमा आकांक्षा देखाएका छन् । यीमध्ये मेहता र श्रेष्ठ देउवानिकट हुन् । भण्डारी पौडेल र चौधरी विजयकुमार गच्छदारनिकट हुन् ।

ताप्लेजुङ : यहाँ देउवा समूहका तीन नेताले सभापतिमा आकांक्षा देखाएका छन् । प्रदेश सभा सदस्य प्रताप हाङगाम, निवर्तमान सचिव छवि गुरुङ र पूर्वसचिव गजेन्द्र तुम्याहाङ देउवा समूहका हुन् । पौडेल समूहनिकट पूर्वसभापति केशव दाहालले पनि सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।

पाँचथर : पाँचथरमा पौडेल समूहका तीन नेता र देउवाका एक नेता आकांक्षी छन् । वर्तमान उपसभापति मित्रप्रसाद काफ्ले, महाधिवेशन प्रतिनिधिद्वय सुरेन्द्रकुमार दाहाल र डिकेन्द्र चेम्जोङ पौडेल समूहबाट आकांक्षी छन् । देउवा समूहनिकट वर्तमान सचिव रूपनारायण जबेगूले पनि आकांक्षा देखाएका छन् ।

इलाम : यहाँ देउवा र पौडेल समूहका दुई–दुईजना आकांक्षी छन् । पौडेल समूहबाट वर्तमान सभापति हिमाल कर्माचार्य र महासमिति सदस्य भेषराज आचार्यले आकांक्षा देखाएका छन् । यस्तै, देउवा समूहबाट  पूर्वसभापति केशव थापा र पूर्वकोषाध्यक्ष डम्बर खड्का आकांक्षी छन् ।

तेह्रथुम : यहाँ वर्तमान उपसभापति अर्जुन तुम्बाहाम्फे र सचिव सन्तोष सुब्बाले आकांक्षा देखाएका छन् । दुवै पौडेल समूहका हुन् ।

धनकुटा : यहाँ सभापतिमा आकांक्षी देखिएका ६ नेतामध्ये चारजना देउवा समूहका छन् । एक-एकजना शेखर र सिटौला समूहका छन् । पौडेल समूहबाट कोही देखिएका छैनन् । वर्तमान सभापति अग्नि पौडेल, वैकल्पिक केन्द्रीय सदस्य मनोहरनारायण श्रेष्ठ, वर्तमान जिल्ला कोषाध्यक्ष दिनेश राई र सचिव विजयसन्तोषी राई देउवा समूहबाट उम्मेदवारीको तयारीमा छन् । शेखर कोइरालानिकट क्षेत्रीय सभापति इन्दिरा थापाले पनि उम्मेदवार बन्ने बताएकी छिन् । सिटौलानिकट कमोट फागोले पनि उम्मेदवारी दिने तयारी गरेका छन् ।

ओखलढुंगा : वर्तमान उपसभापति तेजेन्द्र खनाल र सचिव रुद्र अधिकारीले सभापतिको उम्मेदवार बन्ने तयारी गरेका छन् । दुवै देउवा समूहका हुन् ।

भोजपुर : पौडेल समूहनिकट वर्तमान सभापति नन्दमणि राईले पुनः सभापतिमा उम्मेदवार बन्ने बताएका छन् । पौडेल समूहकै पूर्वसभापति बालकृष्ण थापा, नेविसंघका पूर्वकेन्द्रीय कोषाध्यक्ष विनोद बान्तवाले पनि उम्मेदवार बन्न आकांक्षा देखाएका छन् । देउवा समूहका पूर्वसचिव हेमन्त मुकारुङ र सिटौला समूहका तरुण दलका वर्तमान केन्द्रीय उपाध्यक्ष उत्तम चापागाईंको पनि तयारी छ ।

खोटाङ : वर्तमान सभापति नरेशकुमार श्रेष्ठ, पूर्वराज्यमन्त्री सर्वधन राई, क्षेत्रीय सभापति तीर्थराज भट्टराई र महाधिवेशन प्रतिनिधि भूपेन्द्रकुमार राईले जिल्ला सभापतिमा उम्मेदवारी दिने बताएका छन् । यीमध्ये श्रेष्ठ र भट्टराई पौडेल समूहका हुन् । सर्वधन देउवानिकट र भूपेन्द्र सिटौला समूहका हुन् ।

सोलुखुम्बु : यहाँ देउवा समूहबाट दुईजना र पौडेल समूहबाट एकजना उम्मेदवार बन्ने सम्भावना छ । पौडेल समूहबाट अघिल्लोपटक सभापतिमा निर्वाचित भएका विनोदकुमार बस्नेतले दोहोर्‍याउन चाहेका छन् । देउवा समूहबाट पूर्वउपसभापति कृष्णप्रसाद निरौला र प्रदेश सभा सदस्यका उम्मेदवार प्रकाशसिंह कार्कीले पनि सभापतिमा उठ्ने तयारी गरेका छन् ।

संखुवासभा : यहाँ पौडेल समूहका दुई, देउवाका एक र प्रकाशमान सिंह समूहका एकजना आकांक्षी छन् । सिंह समूहनिकट वर्तमान सभापति दीपनकुमार श्रेष्ठले दोहो¥याउने चाहना राखेका छन् । श्रेष्ठ नेतृत्वको कार्यसमितिमा उपसभापति रहेका रामकुमार जिमी र क्षेत्रीय सभापति दीपक लिम्बू पौडेल समूहबाट उम्मेदवार बन्ने तयारीमा छन् । देउवा समूहबाट महासमिति सदस्य मुक्तिसिंह राईको उम्मेदवारीको सम्भावना छ ।

उदयपुर : यहाँ पौडेल समूहका तीनजना र देउवा समूहका एकजना आकांक्षी देखिएका छन् । पौडेल समूहबाट वर्तमान सभापति विदुर बस्नेत, पूर्वसांसद प्रमिला राई र क्षेत्रीय सभापति वसन्त बस्नेतले आकांक्षा व्यक्त गरिसकेका छन् । पूर्वसभापति तथा प्रदेश १ मा कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की देउवा समूहबाट उम्मेदवार बन्ने देखिन्छ ।

प्रदेश २

महोत्तरी : यहाँ देउवा, पौडेल र शशांक समूहबाट एक–एकजना आकांक्षी देखिएका छन् । देउवा समूहमा रहेका कार्यसमिति सदस्य सुशील यादवले उम्मेदवारी घोषणा गरेका छन् । पौडेल समूहसँग नजिक रहेका महासमिति सदस्य बजरंग नेपाली र शशांक कोइराला पक्षका सभापतिका पूर्वउम्मेदवार नागेश्वर यादवले पनि उम्मेदवारी दिने जनाएका छन् ।

पर्सा : यहाँ सभापतिको दौडमा तीन आकांक्षी देखिएका छन् । प्रदेश सभा सदस्य रामनारायण कुर्मी र महासमिति सदस्य जनार्दनसिंह क्षेत्री देउवा समूहबाट उम्मेदवार बन्ने प्रयासमा छन् । पूर्वजिल्ला सभापति राजेन्द्रबहादुर अमात्य भने देउवाइतर समूहमा छन् । उनी विगतको पौडेल समूहका सबै नेताको समर्थन खोजिरहेका छन् ।

रौतहट : रौतहटमा पौडेल समूहको भन्दै चारजनाले उम्मेदवार बन्ने घोषणा गरेका छन् । देउवा समूहबाट दुईजना छन् । पूर्वसांसद देवप्रसाद तिमल्सिना, नेताहरू रामचन्द्र गिरी, शेख ओकिल र रामस्नेही यादवले आफू पौडेल समूहबाट उम्मेदवार बन्ने बताएका छन् । सुनील यादव र जितेन्द्र यादव देउवा समूहको आधिकारिक उम्मेदवार बन्ने दौडमा छन् ।

धनुषा : यहाँ जिल्ला सभापतिको उम्मेदवार बन्न पाँच आकांक्षी देखिएका छन् । तीमध्ये चार विमलेन्द्र निधिनजिक छन् । देउवा समूहमा रहँदै आएका निधि यसपटक आफैँ सभापतिको उम्मेदवार बन्ने कसरतमा रहेकाले जिल्लामा पनि उनी पक्षधरहरूले आफूलाई देउवा समूहभन्दा निधि समूहका रूपमा अघि बढाएका छन् । वर्तमान जिल्ला सभापति महेशशंकर गिरी निधिनजिक छन् । उनी दोहोर्‍याउन चाहन्छन् । निधिनजिक रहेका उपसभापति सन्तोष यादव, क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगी पजियार र जिल्ला सचिव विश्वेश्वर यादव पनि निधि समूहबाट उम्मेदवार बन्ने प्रयासमा छन् । संविधानसभा सदस्य दिनेशप्रसाद प्रसौला भने पौडेल र शशांकनजिक छन् ।

बारा : यहाँ तीन आकांक्षी छन् । जिल्ला सभापति जयचन्द्र चौरसिया देउवा समूहको आधिकारिक उम्मेदवार बन्ने सम्भावना बढी छ । अहिलेसम्म यहाँ देउवा समूहबाट अरू आकांक्षी देखिएका छैनन् । पौडेल समूहबाट पूर्वजिविस सभापति राजेन्द्र यादव र संविधानसभा सदस्य रामअयोध्या यादव शेखर कोइराला समूहबाट उम्मेदवार बन्ने प्रयासमा छन् ।

सिराहा : उम्मेदवारीका लागि देउवा समूहभित्रै चर्को संघर्ष देखिएको छ । जिल्ला सभापति रामचन्द्र यादव पुनः देउवा समूहको आधिकारिक उम्मेदवार बन्न दौडमा छन् । जिल्ला सचिवद्वय उपेन्द्रकुमार यादव र पञ्चलाल महतो तथा महासमिति सदस्य रामसुन्दर चौधरी पनि देउवा समूहकै उम्मेदवार बन्ने प्रयास गरिरहेका छन् । प्रदेश २ का सांसद नरेशकुमार यादव र जिल्ला कार्यसमिति सदस्य रामकिशोर यादव पौडेल समूहबाट आफू उम्मेदवार बन्ने कोसिसमा छन् ।

सप्तरी : यहाँ देउवा र पौडेलसँगै शेखर समूहबाट पनि आकांक्षी देखिएका छन् । विघटित प्रतिनिधिसभाका सदस्य तथा कांग्रेस केन्द्रीय सदस्य तेजुलाल चौधरी पौडेल समूहबाट उम्मेदवार बन्ने तयारीमा छन् । तर, उनले पौडेल समूहकै महासमिति सदस्य बद्री महात्मन, रामु यादव र रामदेव साहको तगारो पन्छाउनुपर्नेछ । जिल्ला सचिव रामकुमार यादव र क्षेत्रीय सभापति नारायण चौधरी शेखर समूहको आधिकारिक उम्मेदवार बन्न कोसिस गरिरहेका छन् । देउवा समूहनिकट जिल्ला सचिव शत्रुघन यादव पनि सभापतिका आकांक्षी छन् ।

सर्लाही : यहाँ दुई आकांक्षी देखिएका छन् । देउवा समूहबाट निर्वाचित भएका जिल्ला सभापति नागेन्द्रकुमार राय यादव दोहोर्‍याउने प्रयासमा छन् । शशांक समूहको प्रतिनिधित्व गर्दै सभापतिका पूर्वउम्मेदवार लक्ष्मण राय यादव पनि मैदानमा उत्रिएका छन् ।

बागमती प्रदेश

मकवानपुर : यहाँ सभापतिका चार आकांक्षी देखिएका छन् । तीमध्ये तीन देउवा समूहसँग नजिक छन् भने एक प्रकाशमान सिंहका पक्षधर छन् । वर्तमान कार्यसमितिका उपसभापति विष्णु लामिछाने, सचिव बुद्ध लामा र हेटौंंडा उपमहानगर सभापति आनन्दराम पराजुली देउवा समूहबाट उम्मेदवारको दाबीमा छन् । केही महिनाअघि नेविसंघमा महामन्त्री मनोनीत भएका प्रभातकुमार दाहाल सिंह समूहमा छन् । यसअघि उनी कृष्णप्रसाद सिटौला समूहबाट सभापतिका उम्मेदवार बनेका थिए । यसपटक सिंहको कोटाबाट नेविसंघ महामन्त्रीमा मनोनीत भएकाले त्यसयता उनले सोही समूहको प्रतिनिधित्व गरिरहेका छन् ।

धादिङ : सभापतिमा दोस्रो कार्यकालका लागि आकांक्षी बनेका कार्यसमितिका वर्तमान सभापति रमेश धमला पौडेल समूहनिकट हुन् । नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगाना देउवा समूहबाट तथा महाधिवेशन प्रतिनिधि बद्री अर्याल शेखर समूहबाट उम्मेदवार बन्ने तयारीमा छन् ।

काभ्रेपलान्चोक : यहाँ सभापतिको दौडमा सातजना देखिएका छन् । यसअघि पौडेल समूहबाट निर्वाचित भएका जिल्ला सभापति मधु आचार्य कार्यकाल दोहोर्‍याउन चाहन्छन् । उनीसँगै कार्यसमितिका उपसभापति अच्युतप्रसाद पौडेल पनि पौडेल समूहबाट उम्मेदवार बन्न कसरत गरिरहेका छन् । पार्टीको काभ्रे प्रदेश ख का सभापति रमेश हुमागाईं र जिल्ला सचिव दिनेश लामा सिटौला समूहबाट उम्मेदवार दाबी गरिरहेका छन् । क्षेत्रीय सभापति तीर्थ लामा र महाधिवेशन प्रतिनिधि कुमार लामिछाने देउवा समूहका आकांक्षी हुन् । अर्का क्षेत्रीय सभापति कञ्चनचन्द्र बादे प्रकाशमान सिंह समूहमा छन् । उनी पनि सभापतिको उम्मेदवारी दिने तयारीमा छन् ।

चितवन : चितवन कांग्रेसमा कोइरालाहरूको ठूलो शक्ति छ । तर, अघिल्लो महाधिवेशनमा उनीहरू सबैको समर्थन पौडेललाई भएकाले यहाँ पौडेल–कोइराला समूह छुट्टिन सकेको छैन । जिल्ला सचिव उत्तम जोशी पौडेल–कोइराला दुवै समूहसँग निकट छन् । उनीजस्तै राष्ट्रिय सभा सदस्य जगनाथ पौडेलले पनि आफूलाई पौडेल–कोइरालाकै समूह चिनाउने गरेका छन् । जिल्ला उपसभापति कैलाश कोइराला, नेविसंघ चितवनका पूर्वअध्यक्ष प्रा.डा. सूर्यकान्त घिमिरे, महासमिति सदस्य विजय भुसाल पौडेल समूहमा खुलेका छन् । यस अतिरिक्त महासमिति सदस्य राजेन्द्र बुर्लाकोटी कोइराला परिवार (शशांक–शेखर) निकट छन् । अर्का महाधिवेशन प्रतिनिधि राजेश्वर खनालले पनि आफूलाई कोइराला–सिटौलानजिक रहेर उम्मेदवारीको तयारी गरेका छन् ।

रामेछाप : यहाँ देउवा पक्षका तीनजनाले उम्मेदवारीको तयारी गरेका छन् । जिल्ला सभापति लवश्री न्यौपाने दोहोर्‍याउने तयारीमा छन् । सचिव लेखबहादुर कार्की र महासमिति सदस्य पूर्णबहादुर तामाङ पनि देउवा समूहनिकट छन् । महासमिति सदस्य अर्जुन केसी पौडेल समूहमा छन् भने अर्का महासमिति सदस्य कृष्णबहादुर महत रामशरण महतनिकट छन् । उनी आफूलाई पौडेल समूहकै समर्थन रहने बताउँछन् ।

सिन्धुपाल्चोक : यहाँ सभापतिका लागि दश आकांक्षी देखिएका छन् । देउवा र पौडेल समूहका समान पाँच–पाँच नेता सभापतिको दौडमा छन् । देउवा समूहनिकट क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, महासमिति सदस्य कृष्ण न्यौपाने, महाधिवेशन प्रतिनिधि हरिशरण श्रेष्ठ, प्रेमध्वज लामा र टंक कार्की आकांक्षी छन् । पौडेल समूहबाट पूर्वसभापति भूपेन्द्रबहादुर थापा, वर्तमान जिल्ला उपसभापति शिव सुनार, सचिव बिलबहादुर तामाङ, क्षेत्रीय सभापति आइतमान तामाङ, महाधिवेशन प्रतिनिधि बलदेव तिमल्सिना दौडमा छन् ।

नुवाकोट : यहाँ पार्टी केन्द्रमा प्रभावशाली रहेका अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत र डा. रामशरण महतनिकट नेताहरू सभापतिको दौडमा छन् । केसी समूहका महासमिति सदस्य डा. केदारनरसिंह केसी, जिल्ला सचिव सुरेन्द्र अधिकारी आकांक्षी छन् । रामशरण महतका भतिज रमेश महत पनि दौडमा छन् । प्रकाशशरण महतनजिक रहेका सन्तमान तामाङ, चोकराज शाक्य र आफूलाई सीधै देउवा समूहको बताउने ध्रुव अधिकारी पनि सभापतिको कसरत गरिरहेका छन् । देउवा पक्षलाई हाबी हुन नदिन यहाँ केसी र रामशरण महतबीच सहकार्य भइरहेको छ ।

दोलखा : वर्तमान सभापति रुद्रबहादुर खड्का देउवा समूहको प्रतिनिधित्व गर्दै पुनः उम्मेदवार बन्ने तयारीमा छन् । तर, देउवा समूहकै क्षेत्रीय सभापति छवि लामा र महासमिति सदस्य केशव चौलागाईंले पनि उम्मेदवार बन्ने दाबी गरेका छन् । यहाँ पौडेल समूहको प्रतिनिधित्व गर्दै महाधिवेशन प्रतिनिधि ईश्वरनारायण मानन्धर, बर्मा लामा र पूर्वमहाधिवेशन प्रतिनिधि सन्तोष पाण्डे पनि उम्मेदवारका आकांक्षी छन् । जिल्ला सचिव सन्तोष रिमाल सिटौला समूहबाट उम्मेदवार बन्ने तयारीमा छन् ।

सिन्धुली : यहाँ देउवा र पौडेल समूहकै नाममा उम्मेदवारीको दाबी चलिरहेको छ । केन्द्रमा नयाँ समीकरण कस्तो बन्ने हो भन्ने टुंगो नभएकाले विगतकै समूहलाई उनीहरूले आधार बनाएका छन् । वर्तमान जिल्ला सभापति उज्ज्वलप्रसाद बराल पौडेल समूहको प्रतिनिधित्व गर्दै दोहोर्‍याउने तयारीमा छन् । पौडेलकै समूहबाट उपसभापति खड्गबहादुर वाइबा, पूर्वसचिव उपेन्द्र पोखरेल उम्मेदवार बन्न छलफलमा छन् । जिल्ला सचिव दीपक घिमिरे, महाधिवेशन प्रतिनिधि माणिक ढकाल र महासमिति सदस्य प्रेमचन्द्र दाहाल पनि आकांक्षी छन् ।

रसुवा : यहाँ चार आकांक्षी देखिएका छन् । जिल्ला सभापति पेम्बाछिरिङ तामाङ र उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्साल देउवा समूहको उम्मेदवार बन्ने दौडमा छन् । पूर्वसभापति लामाकार्पु तामाङ र प्रदेश सांसद प्रभात लामा पौडेल समूहबाट आकांक्षी छन् ।

गण्डकी प्रदेश

लमजुङ : यहाँ पाँचजना आकांक्षी छन् । जिल्ला सचिव हरि बराल, पूर्वउपसभापति गमप्रसाद गुरुङ, मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डे र महाधिवेशन प्रतिनिधि आनन्द घिमिरे उम्मेदवार बन्ने तयारीमा छन् । चारैजनाले आफूलाई पौडेल समूहको बताएका छन् । केन्द्रमा कस्तो समीकरण बन्छ भन्ने नटुंगिएकाले जिल्लामा उनीहरू नेताहरूको छुट्टाछुट्टै समूहमा खुल्न सकेका छैनन् । महाधिवेशन प्रतिनिधि टकराज गुरुङ पनि देउवा समूहबाट चुनावी दौडमा उभिने तयारीमा छन् ।

स्याङ्जा : यहाँ देउवा र शशांक समूहबीच प्रतिस्पर्धा देखिएको छ । देउवाका तीन र शशांकको समूहबाट दुईजनाले उम्मेदवार बन्ने बताएका छन् । कार्यबाहक जिल्ला सभापति बुद्धबहादुर राना (कुमार), संविधानसभा सदस्य राजु थापा, पूर्वसांसद मोहनप्रसाद पाण्डे देउवा समूहको आधिकारिक उम्मेदवार बन्ने कोसिसमा छन् । शशांक समूहनजिक रहेका पूर्वसांसद खगेन्द्रराज रेग्मी र महासमिति सदस्य भोजराज अर्यालले पनि आकांक्षा देखाएका छन् ।

तनहुँ : पुनः केन्द्रीय सभापतिको उम्मेदवार बन्ने दौडमा रहेका रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँमा उनको बलियो प्रभाव छ । अहिलेसम्म देखिएका पाँच आकांक्षीमध्ये चार उनी पक्षका छन् । एकजना खुलेका छैनन् । कार्यबाहक सभापति जितप्रकाश आले, सचिव लक्ष्मी आचार्य, व्यास नगरसभापति तथा जिसस तनहुँका प्रमुख शान्तिरमण वाग्ले र महासमिति सदस्य डा. कृष्ण गौतमले उम्मेदवार बन्ने तयारी गरेका छन् । यी चारै पौडेल पक्षमा खुलेका छन् । जिल्ला सचिव विश्व बास्तोला भने कतै खुलेका छैनन् । उनी पनि आकांक्षी हुन् ।

म्याग्दी : यहाँ देउवा र पौडेल पक्षका दुई–दुईजना आकांक्षी छन् । एकजना खुलेका छैनन् । जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खमवीर’ र जिल्ला सचिव क्याप्टेन मीनबहादुर कार्की देउवानजिक छन् । निवर्तमान सभापति रेशमबहादुर बानियाँ र केबी भण्डारी पौडेल समूहमा छन् । पूर्वउपसभापति नेत्रबहादुर महत भने खुलेका छैनन् ।

कास्की : गण्डकी प्रदेशको राजधानी रहेको कास्कीमा देउवा र पौडेल पक्षबाट झन्डै बराबरी आकांक्षी देखिएका छन् । अहिलेसम्म आठजना आकांक्षी देखिएका छन् । संविधानसभा सदस्य शारदा पौडेल, तरुण दलका जिल्ला सभापति मनोज गुरुङ, महाधिवेशन प्रतिनिधि किशोरदत्त बराल र महासमिति सदस्य कृष्ण कार्की देउवा समूहका आकांक्षी हुन् । यस्तै, वर्तमान उपसभापति आइबहादुर गुरुङ, सचिव सुदीपमोहन भट्टराई र महासमिति सदस्य रामचन्द्र त्रिपाठी पौडेलसँग नजिक छन् । क्षेत्रीय सभापति पोषनाथ शर्माले पनि उम्मेदवारी दिने तयारी गरेका छन् । तर, उनले आफ्नो समूह खुलाएका छैनन् ।

गोरखा : यहाँ देउवा समूहका चार र सिटौला समूहका एकजना उम्मेदवार बन्ने तयारीमा छन् । गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, जिसस प्रमुख अशोककुमार गुरुङ, भीमसेन गाउँपालिका अध्यक्ष ईश्वर पाण्डे र महाधिवेशन प्रतिनिधि फणीन्द्र धिताल देउवा समूहबाट उम्मेदवार बन्ने प्रयासमा छन् । जिल्ला सचिव नन्दप्रसाद न्यौपाने सिटौला समूहबाट उम्मेदवारी दिने तयारीमा छन् ।

बाग्लुङ : जिल्ला कार्यसमितिका वर्तमान सभापति दीपेन्द्रबहादुर थापा देउवा समूहबाट पुन: उम्मेदवार बन्ने तयारीमा छन् । पौडेल समूह निकटबाट निर्वतमान उपसभापति एवं महासमिति सदस्य जगदिशचन्द उपाध्याय एक्ला उमेम्दवार हुन् । यसकाे साथै वर्तमान सचिव नवराज पाैडेल र महाधिवेशन प्रतिनिधि जगन्नाथ आचार्यले उम्मेदवार बन्ने बताएका छन् । पाैडेल केन्द्रमा सिटौला पक्षका हुन् भने आचार्य देउवा समुहकै मानिन्छन् ।

पर्वत : यहाँ अहिलेसम्म देखिएका पाँचैजना आकांक्षी देउवा समूहका हुन् । पूर्वसभापति राम शर्मा पौडेल, पूर्वउपसभापति नवराज गुरुङ, वर्तमान कोषाध्यक्ष रामकृष्ण मल्ल, महाधिवेशन प्रतिनिधिद्वय युवराज जोशी र गंगा तिवारी देउवा समूहबाट आधिकारिक उम्मेदवार बन्ने प्रयासमा छन् ।

पूर्वी नवलपरासी : प्रदेश निर्माणको क्रममा नवलपरासी जिल्ला टुक्रिएर बनेको पूर्वी नवलपरासीमा शशांकनिकट तीन, देउवा र पौडेलनिकट एक–एक आकांक्षी देखिएका छन् । गण्डकी प्रदेशसभा सदस्यसमेत रहेका वर्तमान सभापति विष्णु लामिछाने शशांक समूहबाट आधिकारिक उम्मेदवार बन्ने प्रयासमा छन् । जिल्ला सचिव बालकृष्ण घिमिरे र मदनभक्त अधिकारी पनि शशांकनिकट छन् । विष्णु कार्की देउवा समूह र महेन्द्रध्वज जिसी पौडेल समूहबाट उम्मेदवार बन्ने तयारीमा छन् ।

मुस्ताङ : पूर्वमन्त्री रोमी गौचन थकाली भन्छन्, ‘यहाँ कसैले आकांक्षा व्यक्त गर्दैनन् । झ्याप्प बसिन्छ, नेतृत्व चयन गरिन्छ । अन्तजस्तो मुस्ताङमा हुँदैन ।’ उनकै भनाइमा मिल्दोजुल्दो भनाइ महाधिवेशन प्रतिनिधि गणेश शेरचनको पनि छ । उनले पनि यहाँ सर्वसम्मत रूपमा सभापति चयन गर्ने गरिएको बताए । तर, यसपटक हिमाली जिल्ला मुस्ताङमा तीन आकांक्षी देखिएका छन् । वर्तमान उपसभापति नुर्बु गुरुङ, सचिव छेन्चुक छप्टेन गुरुङ र लोमाङथाङ गाउँपालिकाका अध्यक्ष सुवर्ण विष्ट उम्मेदवारका आकांक्षी हुन् । यी तीनैजना पौडेल समूहनिकट छन् ।

मनाङ : हिमालपारिको जिल्ला मनाङमा दुई आकांक्षी देखिएका छन् । पूर्वसभापति शंकर गुरुङ र वर्तमान सचिव सुरेन्द्र गुरुङ उम्मेदवार बन्ने दौडमा छन् । दुवै देउवा समूहका हुन् ।

लुम्बिनी प्रदेश

रोल्पा : यहाँ पौडेल समूहबाट तीन र देउवा समूहबाट दुईजना आकांक्षी छन् । देउवा समूहनिकट निवर्तमान सभापति मानबहादुर खत्री र नेतृ श्रीकुमारी रोकाले उम्मेदवारी दाबी गरेका छन् । पौडेल समूहबाट पूर्वसांसद लेखनाथ आचार्य, वर्तमान उपसभापति किशोरकुमार आचार्य र कोषाध्यक्ष खटकबहादुर खत्री उम्मेदवारी दिने तयारीमा छन्  ।

रुकुम पूर्व : प्रदेश विभाजनको क्रममा रुकुम टुक्र्याएर बनाइएको रुकुम पूर्वमा दुई आकांक्षी देखिएका छन् । देउवा समूहनिकट जिल्ला सभापति केशरमान रोका र पौडेल समूहका जिल्ला सचिव भीमबहादुर खड्काले उम्मेदवारी घोषणा गरेका छन् ।

रुपन्देही : केन्द्रीय सदस्य बालकृष्ण खाँडको गृहजिल्ला रुपन्देहीमा अहिलेसम्म पाँच आकांक्षी देखिएका छन् । अधिकांश खाँडकै निकट छन् । खाँडनिकट जिल्ला सचिव रामकृष्ण खाँड, सचिवका पूर्वउम्मेदवार युवराज गिरी र जिल्ला सदस्य थानेश्वर घिमिरेले सभापतिमा देउवा समूहबाट उम्मेदवार बन्न प्रयास गरिरहेका छन् । पौडेल समूहनिकट लुम्बिनी प्रदेश सांसद अष्ठभुजा पाठक, क्षेत्रीय सभापति मातृकाप्रसाद यादव पनि आकांक्षी छन् ।

पाल्पा : यहाँ पौडेल समूहनिकट पाँच र देउवा समूहनिकट एकजनाले उम्मेदवारीको तयारी गरेका छन् । बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल, पूर्वसभापति कृष्ण अधिकारी, पूर्वउपसभापति यमलाल तिमलसिना, जिल्ला सचिव झपेन्द्र गैरे र महासमिति सदस्य रमण थापा आकांक्षी छन् । यी सबै पौडेल समूहका हुन् । वर्तमान उपसभापति देवराज ढकाल देउवा समूहबाट उम्मेदवार बन्ने तयारीमा छन् ।

नवलपरासी पश्चिम : केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलको गृहजिल्ला भएकाले यहाँ रोचक प्रतिस्पर्धाको सम्भावना छ । यहाँ शशांक र कँडेल पक्षधरबीच प्रतिस्पर्धा छ । जिल्ला सभापति विष्णु पौडेल र महासमिति सदस्य मोहन शर्मा कँडेल पक्षबाट आकांक्षी छन् । शशांकनिकट उपसभापति अर्जुनकुमार पोखरेल पनि उम्मेदवार बन्ने तयारी गर्दै छन् ।

दाङ : यहाँ दश आकांक्षी देखिएका छन् । एक समय कांग्रेस राजनीतिमा प्रभावशाली रहेका स्वर्गीय खुमबहादुर खड्काको राजनीतिक प्रभाव अहिले पनि दाङमा देखिन्छ । खड्कानिकट पूर्वसांसद गेहेन्द्र गिरी, क्षेत्रीय सभापति भुपबहादुर डाँगी र महासमिति सदस्य भरतबहादुर न्यौपानेले उम्मेदवारीमा दाबी गरेका छन् । देउवा समूहका पूर्वसांसद राजु खनाल, सभापतिका पूर्वउम्मेदवार कमलकिशोर घिमिरे, महासमिति सदस्यद्वय भोजराज पाण्डे र जानकी बस्नेत पनि आकांक्षी छन् । यस्तै, लुम्बिनी प्रदेश सांसद शंकर गिरी, पूर्वजिल्ला सभापति खगराज पाण्डे र जिल्ला सचिव शंशर डाँगी पौडेल समूहको आधिकारिक उम्मेदवार बन्ने प्रयासमा छन् ।

गुल्मी : यहाँ देखिएका ६ आकांक्षीमध्ये तीन देउवा समूहका र तीन पौडेल समूहनिकट छन् । वर्तमान सभापति विष्णु बलाल पौडेल समूहको पुनः आधिकारिक उम्मेदवार बन्ने प्रयासमा छन् । यही समूहबाट सचिव खिलध्वज पन्थी र महासमिति सदस्य शालिकराम पन्थी पनि उम्मेदवार बन्ने तयारीमा छन् । देउवा समूहका सचिव विष्णु सापकोटा, सभापतिका पूर्वउम्मेदवार वेद थापामगर र महासमिति सदस्य महेन्द्रप्रसाद भण्डारी पनि आकांक्षी छन् ।

अर्घाखाँची : यहाँ अहिलेसम्म चारजना आकांक्षी देखिएका छन् । तर, काेही खुलेका छैनन् । वर्तमान सभापति विष्णु खनाल मुस्कान, सचिव छविलाल पौडेल, महासमिति सदस्यद्वय यादव घिमिरे र केशव श्रेष्ठले उम्मेदवार बन्ने बताएका छन् ।

प्युठान : वर्तमान सभापति अम्मरप्रसाद भण्डारी पुनः उम्मेदवार बन्ने तयारीमा छन् । यसअघि पौडेल समूहबाट निर्वाचित भएका उनले आफू नै आधिकारिक र एक मात्र उम्मेदवार बन्ने दाबी गरेका छन् । तर, पौडेल पक्षकै उपसभापति बद्री लम्साल, सचिव विष्णुकुमार गिरी र महाधिवेशन प्रतिनिधि देवेन्द्र बर्मा पनि उम्मेदवार बन्ने तयारीमा छन् । देउवा समूहमा रहेका सभापतिका पूर्वउम्मेदवार शिवराज रिजालले पनि उम्मेदवारी दाबी गरिसकेका छन् ।

कपिलवस्तु : यहाँ सात आकांक्षी देखिएका छन् । तीमध्ये कोइराला परिवारसँग निकट रहेका तीन, देउवा समूहनिकटका दुई र नखुलेका दुई छन् । वर्तमान उपसभापति तथा महाराजगन्ज नगरपालिका प्रमुख अब्दुल कलाम, बुद्धभूमि नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठ, पूर्वजिल्ला सभापति सुधाकर पाण्डेय उम्मेदवार बन्ने तयारीमा छन् । उनीहरू कोइराला परिवारसँग नजिक छन् । देउवा समूहमा रहेका पूर्वसभापति राजेश आचार्य र महाधिवेशन प्रतिनिधि ललित गुरुङले पनि उम्मेदवारी दिने बताएका छन् । महाधिवेशन प्रतिनिधि दुर्गा सेन र पूर्वक्षेत्रीय सभापति हरिराज घिमिरे पनि दौडमा छन् । तर, उनीहरूले आफूलाई कुनै समूहमा खुलाएका छैनन् ।

बाँके : बाँकेमा ८ आकांक्षी देखिएका छन् । स्वर्गीय सुशील कोइरालाको गृहजिल्ला भए पनि ६ आकांक्षी देउवासमूहका छन् । लुम्बिनी प्रदेश सांसद सुरेन्द्र हमाल, पूर्वसांसद बादसाह कुर्मी, सभापतिका पूर्वउम्मेदवार राजकुमार बर्मा, लक्ष्मीनारायण शाह, नीरञ्जनसिंह सिंजापति, वर्तमान उपसभापति सुनीलनरसिंह राणा उम्मेदवार बन्ने तयारीमा छन् । यी सबै देउवा समूहनिकट हुन् । शशांक समूहका जिल्ला सभापति किरण कोइराला र पौडेल समूहका सभापतिका पूर्वउम्मेदवार नारायणप्रसाद गौडेल पनि आकांक्षी छन् ।

बर्दिया : यहाँ आठमध्ये पाँच आकांक्षी देउवानिकट र तीन पौडेलनिकट छन् । कार्यबाहक सभापति मिश्रीलाल यादव पौडेल समूहबाट आधिकारिक उम्मेदवार बन्ने दौडमा छन् । पौडेल समूहबाटै सोदे विष्ट पनि आकांक्षी छन् । देउवानिकट सभापतिका पूर्वउम्मेदवार अरुणप्रतापसिंह राठौर, विद्याप्रसाद खनाल, नेताहरू भोजराज जोशी, भेजु भाट, जग्गाप्रसाद पाण्डेले पनि उम्मेदवारीको तयारी गरेका छन् ।

कर्णाली प्रदेश

सुर्खेत : महामन्त्री पूर्णबहादुर खड्काको गृहजिल्लामा देउवा पक्षका पाँचजना आकांक्षी देखिएका छन् । यसअघि पौडेल समूहबाट सभापतिमा निर्वाचित भएका कमलराज रेग्मीले दोहोर्‍याउन चाहेका छन् । देउवा समूहमा रहेका सभापतिका पूर्वउम्मेदवार यज्ञ बिसी, क्षेत्रीय सभापति खड्क पोखरेल, जिल्ला सदस्यहरू निरञ्जन केसी, नारायण सापकोटा र रामबहादुर सिंहले पनि उम्मेदवारी घोषणा गरेका छन् । जिल्ला सदस्य देवकुमारी सुवेदी पनि आकांक्षी छिन् । तर, उनले समूह खुलाएकी छैनन् ।

कालिकोट : यहाँ देउवा पक्षका चार र सिटौलानिकट एकजना आकांक्षी छन् । सिटौलासँग नजिक जिल्ला सभापति हर्षबहादुर बम दोहोरिन चाहेका छन् । महासमिति सदस्य हिक्मतबहादुर विष्ट र मोतीराज बम, जिल्ला सदस्य मनराज शाही र मीनबहादुर बोगटी पनि उम्मेदवारी दिने तयारीमा छन् । यी चारै देउवा पक्षका हुन् ।

जाजरकोट : यहाँ पौडेल समूहका चार र देउवा समूहका एक आकांक्षी छन् । सभापतिका पूर्वउम्मेदवार वेदराज सिंह पौडेल समूहबाट पुनः उम्मेदवार बन्न प्रयासरत छन् । पौडेल समूहकै महासमिति सदस्य सनत कार्की, मुक्ति खत्री, क्षेत्रीय सभापति महेन्द्र शाहले पनि उम्मेदवारी दाबी गरेका छन् । देउवा समूहमा रहेका इलम शाही पनि उम्मेदवारी दिने तयारीमा छन् । वर्तमान कार्यसमितिका उपसभापति सर्वराज खत्रीले उम्मेदवार बन्ने बताए पनि समूह खुलाएका छैनन् ।

दैलेख : यहाँ देउवा समूहका ६ नेता आकांक्षी छन् । वर्तमान सभापति कृष्णकुमार बिसी देउवा समूहबाटै उम्मेदवार बनी कार्यकाल दोहोर्‍याउने प्रयासमा छन् । सचिव भूपेन्द्र शाही, पूर्वसभापति खेमराज केसी, जिल्ला सदस्य पूर्ण चालिसे, क्षेत्रीय सभापति घनश्याम भण्डारी र गणेश उपाध्याय पनि उम्मेदवारको दौडमा छन् । पौडेल समूहनिकट महासमिति सदस्य मणिराम रेग्मी पनि आकांक्षी छन्  ।

रुकुम पश्चिम : अघिल्लोपटक पौडेल समूहबाट निर्वाचित भएका सभापति प्रेमप्रकाश ओलीले अहिले पनि उम्मेदवारी दाबी गरेका छन् । यो समूहमा अहिलेसम्म उनी मात्र आकांक्षी देखिएका छन् । देउवा समूहनिकट नेविसंघका पूर्वकेन्द्रीय उपाध्यक्ष खड्क डाँगी र महासमिति सदस्य कृष्ण रोकाय पनि उम्मेदवार बन्ने तयारीमा छन् ।

मुगु : यहाँ पौडेल पक्षभित्रै उम्मेदवारीको प्रतिस्पर्धा छ । वर्तमान सभापति खड्गबहादुर शाही दोहो¥याउने मनसायमा छन् भने पौडेल समूहकै उपसभापति खगेन्द्रबहादुर मल्ल र छायानाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाही पनि दौडमा छन् । देउवासमूहनिकट पूर्वसभापति ऐनबहादुर शाहीले पनि उम्मेदवार बन्ने बताएका छन् ।

सल्यान : यहाँ पौडेल समूहबाट चार र देउवा समूहबाट तीन आकांक्षी देखिएका छन् । जिसस प्रमुख केशबहादुर विष्ट, छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसी र सावित्रा राई देउवा समूहबाट उम्मेदवार बन्ने दौडमा छन् । पौडेल पक्षधरहरू पूर्वजिविस सभापति ध्रुवराज पुरी, त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगी र जिल्ला सचिव एकराज डाँगी पनि कसरत गरिरहेका छन् ।

डोल्पा : वर्तमान सभापति अंगतकुमार बुढा पुनः पौडेल समूहबाट उम्मेदवार बन्ने प्रयासमा छन् । अन्य ६ आकांक्षी देउवा समूहका छन् । पूर्वसांसद दूधाकुमारी हमाल, जिल्ला उपसभापति नवराज शाही, सचिव जयनन्द्र उपाध्याय, पार्टीको त्रिपुरासुन्दरी नगर उपसभापति मोतिप्रसाद उपाध्याय, महासमिति सदस्य गौरीशंकर उपाध्याय, जिल्ला सदस्य बेगमसिंह ठकूले दाबी गरेका छन् ।

जुम्ला : यहाँ पनि वर्तमान सभापति दीपबहादुर शाहीले दोहोर्‍याउन चाहेका छन् । उनी पौडेल समूहका हुन् । देउवा समूहका सभापतिका पूर्वउम्मेदवार खड्क सैंजुवाल र वर्तमान सचिव कर्णबहादुर शाही पनि दाबेदार छन् ।

हुम्ला : कोइराला परिवारसँग निकट मानिएका ठानबहादुर रोकायाले फेरि पनि उम्मेदवारी दिने तयारी गरेका छन् । उनी वर्तमान कार्यसमितिमा पनि सभापति छन् । पौडेल समूहकै पूर्वसहसचिव प्यारीलाल शाहीको पनि आकांक्षा देखिएको छ । यहाँ देउवा समूहमा रहेका वर्तमान सचिव मोहनविक्रम सिंह र जिल्ला सदस्य वसन्त रोकायाको पनि उम्मेदवारी चर्चामा छ ।

सुदूरपश्चिम प्रदेश

कैलाली : सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीमा कांग्रेसको जिल्ला सभापतिमा ७ आकांक्षी देखिएका छन् । देउवा समूहभित्रबाटै ५ जनाले दाबेदारी पेस गरेका छन् । सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलका नेता रहेका रणबहादुर रावल, क्षेत्रीय सभापति खेम चौधरी, महासमिति सदस्य भीम बडुवाल, महाधिवेशन प्रतिनिधि गणेश देउवा र नारायणदत्त भट्ट कार्यकर्ता भेटघाटमा लागिसकेका छन् । महासमिति सदस्य आनन्दराज जोशीले पनि उम्मेदवार बन्ने घोषणा गरेका छन् । उनी प्रकाशमान सिंह समूहका हुन् । जिल्ला उपसभापति रहेका प्रकाशबहादुर बम पनि आकांक्षी छन् । तर, उनले आफूलाई कुनै समूहमा खुलाएका छैनन् ।

कञ्चनपुर : यहाँ देउवा समूहबाट जिल्ला सभापति रहेका हरिप्रसाद बोहरा र महाधिवेशन प्रतिनिधि पदम बोगटीले उम्मेदवार बन्ने चाहना राखेका छन् । पौडेल समूहमा रहेका महाधिवेशन प्रतिनिधि गोपाल गुरुङले पनि दाबी गरेका छन् ।

बझाङ : यहाँ देउवा समूहबाट चार कोइराला परिवारनिकट तीनजनाले उम्मेदवारको आकांक्षा व्यक्त गरेका छन् । वर्तमान जिल्ला सभापति हर्कजंगबहादुर सिंह देउवा समूहका हुन् । उनी दोहोर्‍याउन चाहन्छन् । उनीसँगै एउटै समूहमा रहेका क्षेत्रीय सभापति भक्तराज जोशी, कार्यसमिति सदस्य खड्कबहादुर बोहरा र पुष्कर बोहरा पनि दाबी गरिरहेका छन् । कोइराला परिवारनिकट जिल्ला उपसभापति ज्ञानबहादुर बोहरा, महाधिवेशन प्रतिनिधिद्वय देवराज जोशी र रमेश भण्डारी पनि सभापतिको आकांक्षी हुन् ।

अछाम : यहाँ अहिलेसम्म पाँच आकांक्षी देखिएका छन् । चार देउवा र एक सिटौला समूहनिकट छन् । देउवासमूहबाट निर्वाचित जिल्ला सभापति भरत स्वाँरले पुनः उम्मेदवार बन्ने बताएका छन् । सोही समूहका महाधिवेशन प्रतिनिधि गणेश विष्ट, पुष्प शाह र महासमिति सदस्य मेघराज खड्काले पनि उम्मेदवार बन्ने घोषणा गरेका छन् । सिटौला समूहनिकट महासमिति सदस्य राजन कुँवर पनि उम्मेदवार बन्ने तयारीमा छन् ।

डोटी : विगतमा देउवा समूहको प्रभाव रहेको डोटीमा उही समूहबाट जिल्ला सभापति प्रदीप देउवाको उम्मेदवारी पर्ने देखिएको छ । देउवा समूहकै शिखर नगरपालिका प्रमुख सीताराम जोशी, महासमिति सदस्य नरेन्द्र सिंह र भूमिराज बडू तथा महाधिवेशन प्रतिनिधि राम उपाध्यायले पनि उम्मेदवारी दिने बताएका छन् । कोइराला परिवारनिकट लक्ष्मीराज पाठकको उम्मेदवारी घोषणा भएको छ । पदमराज जोशी पनि उम्मेदवार बन्ने तयारीमा छन् । तर, उनले आफूलाई कुनै समूहमा खुलाएका छैनन् ।

डडेल्धुरा : कांग्रेस सभापति देउवाको गृहजिल्ला भएकाले यहाँ उनकै प्रभाव छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य गोविन्दराज बोहरा, पर्शुराम नगरपालिका प्रमुख भीमबहादुर साउँद, जिल्ला उपसभापति करुणाकर भट्ट र महाधिवेशन प्रतिनिधि हरिप्रसाद भट्ट आकांक्षी छन् । यी चारैजना देउवा समूहनिकट छन् । दुवै भट्ट विगतमा खुमबहादुर खड्का समूहमा थिए ।

दार्चुला : यो दिलेन्द्रप्रसाद बडूको गृहजिल्ला हो । अहिलेसम्म उनीनिकट वर्तमान सभापति ललित बोहरा र देउवानिकट जगदीश पालले उम्मेदबार बन्ने बताएका छन् ।

बाजुरा : यहाँ देउवासमूहमा रहेका कविराज पण्डित र पदम शाहीले उम्मेदवार बन्ने आकांक्षा राखेका छन् । पण्डित अहिले जिल्ला सभापति शाही महाधिवेशन प्रतिनिधि हुन् । पौडेल समूहका त्रिवेणी नगरपालिका प्रमुख रामसिंह रावल र सिटौला समूहका महासमिति सदस्य जनक गिरीले पनि दाबी गरेका छन् ।

बैतडी : यहाँ अहिलेसम्म ६ आकांक्षी देखिएका छन् । देउवा समूहबाट पाटन नगरपालिका प्रमुख केशवबहादुर चन्द, सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामी, महाधिवेशन प्रतिनिधि दीपक बमले उम्मेदवारी दिने तयारी गरेका छन् । वर्तमान उपसभापति चतुरबहादुर चन्द, सचिव वीरबहादुर विष्ट र शिवराज भट्टले पनि उम्मेदवारी दिने बताएका छन् । तर, आ–आफ्नो समूह खुलाएका छैनन् ।

नयाँ पत्रिकाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*