Home / Feature Breaking news / शशांक, प्रकाशमान र बिमलेन्द्रबीच महाधिवेशनसम्म सहकार्य गर्ने समझदारी

शशांक, प्रकाशमान र बिमलेन्द्रबीच महाधिवेशनसम्म सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो पुस्ताका नेताहरु महामन्त्री डा. शशांक कोइराला, उपसभापति बिमलेन्द्र निधि र  पूर्वमहान्त्री प्रकाशमान सिंह र विमलेन्द्र निधिबीच आज पनि लञ्च मिटिङ भएको छ । गत सोमबार उपसभापति निधि निवासबाट सुरु भएको लञ्च मिटिङपछि भेटवार्ता जारी राख्ने समझदारी अनुसार आज महामन्त्री डा. कोइरालाले लञ्च मिटिङ आयोजना गरेका हुन् ।

अव पूर्वमहामन्त्री प्रकाशमान सिंहले लञ्च मिटिङको आयोजना गर्नेछन् । तर, नेताहरुको दोस्रो भेटवार्तासम्म पुग्दा नै नेताहरुले महाधिवेशनसम्म सहकार्य गर्ने समझदारी भइसकेको बताएका छन् । महामन्त्री डा. शशांक कोइरालले तीन नेताबीच विश्वासको वातावरण बनेको भन्दै महाधिवेशनसम्म सँगै रहने समझदारी भएको बताएका छन् ।

“एउटा राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्यौं, दोस्रो हाम्रो आगामी महाधिवेशनका बारेमा छलफल गर्यौं,” महामन्त्री कोइरालले भेटवार्ताको अन्त्यतिर भने, “आउँदो १४ औं महाधिवेशनका विषयमा हामीबीचमा एउटा सहमति हुने सम्भावना प्रवल भएर गएको छ ।” उनले तीन नेताबीचमा पार्टीलाई एकजुट बनाएर कसरी लैजाने भन्ने छलफल भइरहेको भन्दै त्यसका लागि सबैलाई एक ठाउँमा राख्ने प्रयत्न हुने बताए ।
“आउँदो अधिवेशनमा हामी तीनजना एकै ठाउँमा छौं,” महामन्त्री कोइरालले भने, “अव हामीले निर्णय गर्छौंं, को सभापति हुने, को महामन्त्री हुने, अव हामीबीच सहमतिमा अघि बढ्ने समझदारी भएको छ ।”

नेता प्रकाशमान सिंहले बिमलेन्द्रबाट सहकार्यको थालनी भएको भन्दै अव सबैलाई समेटेर लैजाने विषयमा छलफल सुरु भएको बताए । उनले कांग्रेसजनको भावना १४ औं महाधिवेशनमा पार्टीलाई ठिक दिशामा लैजान सहकार्य गर भन्ने सन्देश रहेको भन्दै त्यसको सम्मान गर्दै अघि बढ्ने बताए ।

“अस्ति बिमलेन्द्रजीकोमा बसेको समाचार सार्वजनिक भएलगत्तै देशभरबाट अव राजनीतिलाई सही दिशा दिन तपाईंहरु लाग्नुस् र सेफल्याण्डिङ गर्नुस् र पहिले वीपी, गणेशमानकै समयको अवस्थामा पार्टीलाई पुर्याउनुस् भन्ने सन्देश आएको छ,” पूर्वमहामन्त्री सिंहले भने, “हामीबीच कसले नेतृत्व गर्ने भन्ने कुरा छलफलबाट तय हुने हो । एकदुई सिटिङमै यो हुँदैन । हामी हाम्रो पुस्ताका अरु साथिहरुलाई पनि विश्वासमा लिने विषयमा सोचिरहेका छौं ।” उनले महाधिवेशनसम्मको सहकार्यका लागि सकारात्मक सुरुवात भने भइसकेको बताए ।

उपसभापति निधिले भने आफूले गत सोमबार गरेको लञ्च मिटिङपछि देशभरबाट मिलेर अघि बढ्नुस् भन्ने सन्देश आएको भन्दै त्यसका लागि इमान्दार प्रयास सुरु भएको बताए ।

“अहिले हामी को सभापति बन्ने को पछि हट्ने भन्ने छलफलमा सहभागि भएका छैनौं,” उपसभापति निधिले भने, “महाधिवेशनसम्म छलफल गरेर को सभापति बन्ने भन्ने टुङ्गो लाग्ने हो । तर, महाधिवेशनसम्म एउटै अवाज हुने छ हाम्रो ।” उनले पार्टी र देशका लागि आवश्यक एजेण्डामा सझदारी गर्ने भन्दै त्यसपछि पदाधिकारीका विषयमा छलफल र सहमति निर्माण हुने छ ।” उनले राज्यका सबै अङ्ग क्षतविच्छेद भएको भन्दै त्यसलाई ट्रयाकमा ल्याउन पनि कांग्रेस ट्रयाकमा आउनुपर्ने बताए ।
“राज्यका कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका क्षतविच्छेद भएका छन्, त्यसिलाई कसरी लिकमा हिँडाउने भन्ने हाम्रो चिन्ता हो,” निधिले भने, “देशमा निर्वाचन जितेकाहरुबाट भाँडभैलो मच्चाउने र संविधान र व्यवस्थासँगै जनतालाई नै तहसनहस बनाउने काम भएको छ । रुख चिह्न र कांग्रेसलाई जितले देशलाई निकास दिनसक्ने पार्टी बनाउन हामी एकजु्ट भएर लाग्ने छौैं ।”

तीन नेताबीचको समझदारी कायम भए कांग्रेसको पहिलो पुस्ता विदा हुने विश्लेषण कांग्रेसभित्र सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*