Home / Feature Breaking news / लकडाउनले मात्र थेग्दैन !

लकडाउनले मात्र थेग्दैन !

अमीत ढकाल

सोझो र सरल हिसाबबाट कुरा सुरू गरौं।

कोभिड-१९ को पहिलो लहर उत्कर्षमा पुग्दा नेपालमा दैनिक संक्रमण पाँच हजारसम्म पुगेको थियो। त्यो बेला दैनिक २० हजारसम्मको पिसिआर परीक्षण गरिएको थियो।

भारत र नेपाल लगभग सँगसँगै पहिलो लहरबाट आक्रान्त बनेका थिए। पहिलो लहर उत्कर्षमा पुग्दा भारतमा दैनिक संक्रमण करिब एक लाख पुगेको थियो। भारतलाई अहिले दोस्रो लहरले गाँजेको छ। दैनिक संक्रमण साढे तीन लाख पुगेको छ। अर्थात्, पहिलो लहरको तुलनामा तीन गुना।

यसपालि भारतमा देखिएको कोरोना भाइरस पहिलेभन्दा धेरै आक्रामक रहेको वैज्ञानिकहरूको ठम्याइ छ। यो भाइरसबारे थप अध्ययन जारी छ। विज्ञहरू एउटा कुरामा भने सहमत छन्—संक्रमण अझै केही समय तीव्र बढ्ने छ।

नेपालमा पनि भारतमा देखिएको नयाँ प्रकारको भाइरसले प्रवेश पाइसकेको छ। त्यसले बितन्डा मच्चाउन भने बाँकी नै छ। अहिलेको संक्रमण मूलत: हाम्रो लापरबाहीका कारण बढेको स्वास्थ्य मन्त्रालयका विज्ञहरूले बताइरहेका छन्। भारतमा देखिएको नयाँ प्रकारको भाइरस फैलिन त बाँकी नै भएको उनीहरूको भनाइ छ।

त्यो भाइरस समुदायमा फैलिँदै जाँदा हाम्रोमा संक्रमण कति पुग्ला?

पहिलो लहरको तुलनामा संक्रमण तीन गुना बढ्यो भने दैनिक १५ हजार मानिस संक्रमित हुनेछन्। स्वास्थ्य मन्त्रालयले गरेको आन्तरिक प्रक्षेपणमा पनि दैनिक कम्तिमा ११ हजारदेखि बढीमा १९ हजारसम्म संक्रमित हुने देखिएको छ।

नेपालमा कोरोना उत्कर्षमा पुग्न अझै तीन महिना लाग्ने अनुमान छ। त्यो बेलासम्म सोझो हिसाबले पनि करिब दस लाख मानिस संक्रमित हुनसक्ने छन्। त्यसको १५ प्रतिशतलाई अस्पताल पुर्‍याउनुपर्‍यो भने एक लाख पचास हजार संक्रमितलाई अस्पतालको सेवा चाहिनेछ। पाँच प्रतिशत मात्र गम्भीर रूपले संक्रमित हुने अनुमान गर्ने हो भने पनि तीन महिनाभित्र पचास हजारलाई आइसियूको उपचार चाहिन सक्छ।

कोभिड-१९ ले च्यापेर आइसियू भर्ना भएका बहुसंख्यक मानिस लामो समय अस्पताल बस्नुपर्ने हुन्छ। त्यसैले आइसियू बेड खाली हुन कठिन हुन्छ। हामीकहाँ देशभर तीन हजारभन्दा कम आइसियू बेड छन्। धेरै अस्पतालमा अहिले नै बेड भरिन थालेका छन्। आवश्यक सिलिन्डर नभएकाले अक्सिजनको अहिले नै अभाव छ। त्यसैले आउने दिनमा सबै बिरामीले अस्पतालको बेड पाउने छैनन्। सम्भवत: सबैलाई अक्सिजन पुग्ने छैन। कोभिड-१९ का कारण हुने मृत्युदर बढ्नेछ।

हिजो मात्र स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले मसँग भने, ‘नेताहरूको ताल यस्तो छ, आममानिसको ताल यस्तो छ। यसपालि धेरै मानिस मर्ने भए। बेड नपाएरै धेरै मर्ने भए।’

कामना गरौं, त्यस्तो नहोस्। कामना गरौं, संक्रमण भारतमा जसरी नेपालमा नफैलियोस्। भारतमा जसरी अस्पतालमा बेड नपाएर मानिस मर्नु नपरोस्।

यसपालि हाम्रो कामनाले मात्र थाम्ने छैन। हामीले हाम्रो व्यवहार परिवर्तन नगरे हामीलाई पशुपतिनाथले पनि बचाउन सक्ने छैनन्।

आउने तीन महिनामा संक्रमित हुने दस लाखमा तपाईं पनि पर्न सक्नुहुन्छ, म पनि पर्न सक्छु। अस्पताल भर्ना हुनुपर्नेमा वा आइसियू चाहिनेमा तपाईं पनि पर्न सक्नुहुन्छ, म पनि। आइसियू नपाएर छटपटिनेमा हामी जो पनि पर्न सक्छौं।

अहिले कोभिडको संक्रमण बढ्नुमा सरकारको दोष होला। सरकारी निकायको दोष होला। अरू धेरैको दोष होला। सबभन्दा ठूलो दोष हाम्रो छ। आममानिसको छ। भोलि पनि यो विष्फोटक तहमा पुग्यो भने हाम्रै कारणले पुग्नेछ। यसलाई नियन्त्रणभन्दा बाहिर जान नदिन पनि हामीले नै सक्नेछौं।

हामी जिम्मेवारी लिन तयार हो कि होइन?

आफैंप्रति, आफ्नो परिवारप्रति, आफ्ना नजिकका प्रति जिम्मेवार हुने हो कि होइन? कदाचित् हामी संक्रमित भयौं भने सबभन्दा पहिले त्यो कसलाई सर्छ? श्रीमती, श्रीमान, छोरी, छोरा, आमा, बा, नजिकका नातागोता, साथीभाइ वा कार्यालयका सहकर्मी।

अर्थात्, हाम्रा आफ्ना प्रियजन, जो हामीसँगै हुन्छन्। हामी जसको नजिक हुन्छौं। हाम्रो लापरबाहीले हामी आफू त समस्यामा पर्छौं नै, प्रियजनलाई पनि समस्यामा पार्ने छौं।

तर हामी त चिनेका मान्छेले कोरोना नै सार्दैनन् भनेझैं गर्छौं। परिवारजन वा साथीभाइले कोरोना भाइरस बोक्दैनन् झैं गर्छौं। सडकमा एक्लै हिँड्दा मास्क लगाउँछौं। तर बाटामा चिनेको मानिस भेट भए मास्क खोलेर गफिन थाल्छौं। आफन्तकहाँ जाँदा पनि मास्क खोलेर गफिन थाल्छौं।

सबभन्दा ठूलो गल्ती हामी यही गर्छौं।

हामी आफूले होइन, अरूले मात्र बार्नुपर्छ भन्ने ठान्छौं। अरूलाई गाली गर्छौं, तर आफू सामान्य नियम पनि पालना गर्दैनौं।

शुक्रबार म राजधानीको मेरियट होटलको एउटा कार्यक्रममा गएको थिएँ। केही डाक्टर पनि सहभागी थिए। हल छिर्नुअघि सबै पाहुनालाई सर्जिकल मास्क खोलेर एन-९५ मास्क लगाउन लगाइयो। मलाई राम्रै लाग्यो। बन्द कोठामा कोरोना भाइरस एकअर्कामा सर्ने सम्भावना धेरै हुन्छ। म पनि मास्क फेरेर कोठाभित्र पसेँ। सबै मास्क लगाएरै बसे। वक्ताहरूले मात्र बोलुन्जेल मास्क फुकालेर बोले, जुन जरूरी थिएन।

कार्यक्रम सकिएपछि भने कक्टेल डिनर नै सुरू भयो। सबैले मास्क खोलेर खान, पिउन थाले। आयोजकले मलाई पनि कर गर्दै थिए, म मिटिङ छ भनेर टाप कसेँ।

शनिबार फेरि आफन्तको बिहेमा जानु थियो। जन्त जान दुलाहाको घर पुगेको, त्यहाँ उही ताल। कसैको अनुहारमा मास्क छैन। एकछिनमा म्युजिक सुरू भयो। जन्त निस्कनुअघि छोटो नाचगान जम्यो। गाडी चढ्ने बेला भने सबैलाई मास्क बाँडियो। मानौं, कोरोना बेहुलीका घरमा मात्र छ, त्यहाँ पुगेपछि मात्र कोरोनाले समात्छ!

एक जना जन्ती मेरै गाडीमा चढ्नुभयो, बिनामास्क। मेरो अनुहारमा मास्क देखेर भन्नुभयो, ‘बाबु, मलाई त मास्क लगाउनै अप्ठ्यारो लाग्छ। कोरोनाले केही गर्दैन होला है।’

मैले भनेँ, ‘आफूलाई संक्रमण नहुन्जेल त्यस्तो लाग्ने हो। लागेपछि त सकिहाल्यो। सुरूमै सचेत हुनु राम्रो।’

उहाँले के छोड्नु हुन्थ्यो। थप्नुभयो, ‘झापाका मानिसलाई कोरोना लाग्दैन। काठमाडौंकालाई मात्र लाग्छ।’

उच्च मनोबलवाला, प्रतिरोध क्षमता धेरै भएका सुपर झापालीहरूसँग कुरा गरेर के साध्य!

उच्च मनोबल राख्नु ठिक छ। अरू समस्याझैं कोरोनासँग लड्न उच्च मनोबलले सहयोग नै गर्छ। तर भूपि शेरचनले भनेझैं, हामी बुद्धू भएकाले वीर हुनुभएन।

धेरै ख्याल गर्दागर्दै हामीलाई संक्रमण सर्न सक्छ। होसियारी अपनाउँदा अपनाउँदै सानो छिद्रबाट पनि यो भाइरस छिर्न सक्छ। तर हामीले जानाजान मुर्ख्याइँ गर्नुभएन। बत्तीमा कीरा सोझै झोसिएझैं लापरबाहीपूर्वक कोरोनामा झोसिनुभएन।

वैशाख १६ देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा सुरू भएको छ। सार्वजनिक तथा निजी सवारी साधन चल्न नपाएपछि र अत्यावश्यक सेवा बाहेकका व्यवसाय खुल्न नपाएपछि यो एक प्रकारको लकडाउन नै हो।

राजधानीवासी धेरैलाई लागेको होला, लकडाउन भएपछि अब संक्रमण बढ्दैन। विस्तारै सबै ठिकठाक हुन्छ। त्यसो होइन। संक्रमण नबढ्न त पहिले हाम्रो व्यवहार ठिक हुनुपर्‍यो नि!

पछिल्लो लकडाउनकै उदाहरण लिऊँ। हामीले पहिलो संक्रमण देखिनेबित्तिकै चैत ११ देखि देशव्यापी लकडाउन गरेका थियौं।

लकडाउन कायमै रहेका बेला संक्रमण बढेर दैनिक पाँच हजारसम्म पुग्यो।

भारतबाट आउने नेपालीलाई हामीले राम्ररी क्वारेन्टिन व्यवस्था गर्न सकेनौं। उनीहरूमध्ये कैयन भाइरस बोकेरै समुदाय र परिवारमा पुगे। अरूलाई सारे। काठमाडौं लगायत सहरमा पनि लकडाउनमा मानिसको व्यवहार बदलिएन। हेलचेक्र्याइँ घटेन। त्यसैले एकबाट दुई, दुईबाट चार हुँदै कोरोना फैलियो।

यसपालि त निषेधाज्ञा सुरू हुनुअगावै काठमाडौंमा दैनिक संक्रमित हजारभन्दा बढी पुगेका छन्। परीक्षण नगराएका अरू कति होलान्! तिनीहरूले परिवार र समुदायमा संक्रमण तीव्र गतिमा सार्नेछन्।

त्यसलाई रोक्ने एउटै मात्र उपाय छ— आफूबाहेक सबैलाई संक्रमण भएको छ भन्ने मान्ने र मास्क र सामाजिक दुरी कायम राख्ने। थोरै पनि लक्षण देखिए परिवार, साथीभाइबाट थप अलग हुने। तुरून्त जाँच गराउने। जति छिटो जाँच गरायो र संक्रमण थाहा लाग्यो, त्यति नै चाँडो निको पार्न सकिन्छ।

त्यसैले सबभन्दा पहिले जिम्मेवारी आफ्नो काँधमा लिनुपर्‍यो। म एक जनाको व्यवहारले कोरोना नियन्त्रणमा फरक पर्छ भन्ने मान्नुपर्‍यो। सरकारलाई मात्र सत्तोसराप गर्ने तर हामी आफूले जिम्मेवारी नलिने हो भने यसपालि कोरोना नियन्त्रणबाहिर जानेछ। हामी सबैले थप दु:ख पाउनेछौं।

त्यसको अर्थ सरकारको जिम्मेवारी छैन भनेको होइन। सरकारको भूमिका छैन भनेको होइन। सरकारले गल्ती गरेको छैन भनेको होइन। नेताहरूले लापरबाही गरेका छैनन् भनेको होइन।

भारतमा संक्रमण दर ह्वात्तै बढेपछि र नेपालमै संक्रमण बढ्न थालेपछि पनि नेताहरूले गैरजिम्मेवार रूपमा सार्वजनिक कार्यक्रमहरू गरिरहे। भेलाहरू गरिरहे। मास्क नलगाइकनै वा मास्क चिउँडोमा तानेर बोले। त्यसमा सरकार, प्रतिपक्षी दल, अन्य सबैजसो दलका नेता जिम्मेवार छन्। कुनै प्रमुख नेता अछुतो छैनन्।

सरकार प्रमुख र देशको प्रमुख नेताका हिसाबले सबभन्दा धेरै जिम्मेवार हुनुपर्ने प्रधानमन्त्री नै सबभन्दा गैरजिम्मेवार बने। संक्रमण थाम्न सकिन्न, चाँडै निषेधाज्ञा जारी गर्नुपर्छ भनेर स्वास्थ्य मन्त्रालयले सल्लाह दिएपछि पनि प्रधानमन्त्री बनिनसकेको धरहरा उद्घाटन गर्न तम्सिए। अरू सार्वजनिक कार्यक्रममा सहभागी बने। बालुवाटारमा आफ्नो गुटका भेलालाई निरन्तरता दिए।

यी भेलाबाहेक ‘कोरोना केही होइन, आत्मबल कायम राखे जितिन्छ, बेसारपानी खाए जितिन्छ, नेपालीको प्रतिरोधात्मक क्षमता बलियो छ’ भनेर भ्रम फैलाउने एक नम्बर सन्देशवाहक प्रधानमन्त्री ओली नै हुन्।

भारतमा दोस्रो लहरका प्रशस्त संकेत देखिएपछि पनि प्रधानमन्त्रीले त्यस्तै गैरजिम्मेवार अभिव्यक्ति दिइरहे। उद्योगपति, व्यापारीलाई सम्बोधन गर्दै उनले भने, ‘तातो पानीले नस लिऊँ, नाकमा बसेको कोरोना चट। घाँटीमा बसे अम्बाको पात उमालेर गार्गल गरौं, चट। स्टिम लिदिउँ, फोक्सोबाट चट।’

अनि व्यवसायीहरू गलल हाँसे।

कोरोना सुरू भएदेखि नै प्रधानमन्त्रीले बोलेका यस्ता बकवासले कोरोना केही होइन भन्ने भ्रम फैलाउन ठूलो भूमिका खेलेको छ। प्रधानमन्त्रीका भनाइ र सरकारका लाख कमजोरीबारे उनीहरूलाई जिम्मेवार बनाउँला। प्रश्न सोधौंला।

एक वर्ष समय हुँदा पनि अस्पतालहरूमा आवश्यक बेडको व्यवस्था किन भएन भनेर सोधौंला। पैसा लिएर पनि बेड नथप्ने अस्पताल प्रमुखहरूलाई सरकारले के कारबाही गर्‍यो भनेर सोधौंला। बिग्रेका अक्सिजन प्लान्ट वर्ष दिनसम्म नबनाउने अस्पताललाई सरकारले के दण्ड दियो भनेर सोधौंला। यति धेरै लापरबाही गर्नेहरूमाथि कारबाही नगर्ने हो भने जवाफदेहिता कसरी स्थापित हुन्छ भनेर सोधौंला।

फेरि पनि नबिर्सौं, आजका दिनमा कोरोनाविरूद्ध लडाइँमा सरकार होइन, आममानिस नै निर्णायक हो। नियन्त्रण गर्न सक्ने हामीले नै हो। यो नियन्त्रणबाहिर गए, दु:ख पाउने पनि हामीले नै हो।

त्यसैले, आफ्नो जिम्मेवारी वहन गर्न तपाईं तयार हो कि होइन?

सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*