Home / Feature Breaking news / कोरोनाविरुद्ध खोप आजबाट, दाङमा प्रतिष्ठान र प्रादेशिक अस्पतालबाट सुरु हुने

कोरोनाविरुद्ध खोप आजबाट, दाङमा प्रतिष्ठान र प्रादेशिक अस्पतालबाट सुरु हुने

लिलाधर वली

दाङ, १४ माघ । कोभिड–१९ विरुद्धको खोप जिल्लाका दुई स्थानबाट दिने तयारी गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे खोपको भर्चुअल शुभारम्भ गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले खोपको शुभाराम्भ गरेसँगै जिल्लामा पनि खोप शुरु हुनेछ । भारत सरकारको अनुदानमा सरकारले माघ ८ गते १० लाख मात्रा खोप नेपाल ल्याएको थियो ।

खोप शाखाका अनुसार सबै प्रदेश र जिल्लामा खोप पुगिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणको खोप अभियान शुरु गरेको १० दिनभित्र अभियान सम्पन्न गर्नेछ । सो चरणमा ४ लाख ३० हजारलाई खोप प्रदान गर्ने मन्त्रालयको लक्ष्य छ । जिल्लामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालबाट खोप शुरु गरिने भएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

दुवै ठाउँबाट गरेर पहिलो चरणमा ३ हजार जनालाई दिने तयारी भएको छ । त्यो अनुसार खोप दिने व्यक्तिको लिष्ट तयार गरेर मन्त्रालयमा पठाएको र खोप समेत जिल्लामा आएको स्वास्थ्य कार्यालय दाङका प्रमुख अङग्दबहादुर शाहीले बताए । पहिलो चरणमा अस्पतालमा फ्रन्टलाईनमा खट्नेलाई स्वास्थ्यकर्मीहरुलाई खोप दिने भएको छ । त्यसका लागि जिल्लामा सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

पहिलो चरणमा दिन थालिएको खोपका लागि भ्याक्सिन दाङ आइपुगेको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख शाहीले बताए । उनले आज बुधवार विहान साढे १० बजे दुवै ठाउँमा फ्रन्टलाइनमा खट्ने स्वास्थ्यकर्मीहरुलाई भ्याक्सिन दिने बताए । ‘दाङमा घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालबाट कोरोनाविरुद्धको खोप कार्यक्रम एकैसाथ शुरु गर्दैछौ’, स्वास्थ्य कार्यालयका प्रमुख शाहीले भने– ‘त्यसका लागि भ्याक्सिन पनि घोराही आइपुगेको छ ।

’ उनका अनुसार पहिलो दिनमा २ सय ५० जनालाई दिने तयारी छ । त्यसको लागि तालिमप्राप्त दुईवटा चिकित्सक टोली परिचालन गरिएको छ । प्रत्येक टोलीमा चारजना चिकित्सकसहितको स्वास्थ्यकर्मी छन् । स्वास्थ्य कार्यालय प्रमुख शाही आफैले बुटवल गएर ३ हजार जना व्यक्तिका लागि आवश्यक पर्ने भ्याक्सिन लिएका छन् । उनले भ्याक्सिन लगाउनका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रादेशिक अस्पतालमा कार्यरत ४÷४ जना गरी ८ जना चिकित्सकहरुको टोलीले नेपालगञ्जमा तालिम लिएको समेत बताए ।

‘कोभिडविरुद्धको खोपलगायतका लागि चारजनाको चिकित्सको टोलीले नेपालगञ्जमा तालिम लिएर आएको छ’, उनले भने– ‘उहाँहरुको टिमले खोप लगाउनेछ ।’ स्वास्थ्यकर्मीपछि कोरोनाविरुद्धको अभियानमा फ्रन्टलाइनमा खट्ने एम्वुलेन्स चालक, सरसफाईकर्मीलगायतलाई खोप दिइनेछ ।
स्वास्थ्य कार्यालय दाङका अनुसार हालसम्म जिल्लामा ३५ सय बढी व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ३४ सय बढी उपचारपछि निको भएका छन् । संक्रमितमध्ये हालसम्म जिल्लामा ४७ जनाको मृत्यु भएको छ ।

जिल्लाका दशवटै स्थानीय तहबाट २३ हजार बढी नागरिकको स्वाव संकलन गरी परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारले प्रथम चरणको खोप सक्नुभन्दा अगाडि अर्को चरणको खोप लगाउनका लागि खोप ल्याउने तयारीमा छ । मन्त्रालयले खोपको समुचित प्रयोग गर्न र खेर जान नदिन आफूले नियमित गर्नेछ । कोभिशिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका नामक औषधि उत्पादक कम्पनीले संयुक्तरुपमा विकास गरेका हुन् । भारतको सेरम इन्स्टिच्युटले खोप उत्पादन गरेको हो । लक्षित समूहले मात्र खोप पाएको यकिन गर्नका लागि सम्बन्धित संस्थाले खोप पाउने व्यक्तिको सूचि सार्वजनिक गर्ने व्यवस्था मन्त्रालयले गरेको छ ।

खोप केन्द्र रहेको संस्था र स्वास्थ्य कार्यालयका प्रमुखले सूचि सार्वजनिक गर्नुपर्ने हुन्छ । खोपको अनुगमन जिल्ला कोभिड–१९ खोप समन्वय समितले गर्नेछ । पहिले चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर संकलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइनेछ । नेपालमा अहिले कोभिड–१९ को संक्रमण २ लाख ६९ हजार ७ सय ८९ जनामा देखिएको छ । संक्रमणबाट २ हजार ११ जनाको निधन भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*