Home / Feature Breaking news / अग्ला टाकुरामा भ्यू टावर किन ? जनतासँग पैसा उठाउन

अग्ला टाकुरामा भ्यू टावर किन ? जनतासँग पैसा उठाउन

नारायण खड्का
दाङ, १४ मंसिर । दाङको छिल्लीकोटमा हालसालै तीन तले भ्यू टावर निर्माण गरिएको छ । टावरको उचाइ २० फिट छ । सबैभन्दा माथिल्लो तलामा सुरक्षाको लागि रेलिङ अझै बनाइएको छैन । उद्घाटन भई नसकेकाले भ्यू टावर सर्वसाधारणका लागि खुला गरिएको छैन । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ मा छिल्लीकोट पर्छ ।

छिल्लीकोट आसपासमा भ्यू टावरभन्दा कयौँ गुणा अग्ला पहाड छन् । ती पहाडबाट दाङ मात्र नभएर आसपासको दृश्य मजाले देख्न सकिन्छ । यो भ्यू टावर उपभोक्ता समितिमार्फत् निर्माण भएको हो । छिल्लीकोट भ्यू टावर निर्माण उपभोक्ता समितिका अध्यक्ष परवीर पुन मगरका अनुसार ३९ लाख ४५ हजार ८ सय ३२ रुपैयाँको लागतमा निर्माण गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिकाको ३० लाख अनुदान र ९ लाख ४५ हजार रुपैयाँ जनश्रमदानबाट भ्यू टावर निर्माण भएको निर्माण समितिका अध्यक्ष मगरले बताए । तुलसीपुर उपमहानगरपालिकाले ३० लाखमध्ये २७ लाख ७४ हजार रकम मात्रै प्राप्त भएको पुनले बताए । उ

नले भ्यू टावरको माथि राष्ट्रिय झण्डा राख्ने सोच रहेको सुनाए । त्यो झण्डाको लागि दाता खोजिरहेको उनले बताए । त्यस्तै भ्यू टावरसम्म पुग्न झण्डै डेढ सय मिटर जति रेलिङ सहितको सिँढी निर्माण गर्नुपर्ने आवश्यकता रहेको निर्माण समितिका अध्यक्ष मगरले बताए । त्यसका लागि थप आठदेखि १० लाख रुपैयाँ लाग्नसक्ने उनले अनुमान गरे ।

पहाडको चुचुरोमा किन चाहियो भ्यू टावर ? मगरले जवाफ दिए सर्वसाधारणबाट राजश्व उठाउन । ‘यहाँ पहाड त जति पनि छन् र ती पहाड चढेको कसले पैसा दिन्छ र ?’–मगरले थपे– ‘भ्यू टावर बनाएपछि पैसा उठाउन सजिलो हुन्छ र त्यसले छिल्लीकोटको विकास गर्न टेवा पुग्ने छ ।’ उनले भ्यू टावर चढ्न टिकटको व्यवस्था गरिने र एउटा व्यक्तिवाट ५० रुपैयाँ लिने तयारी गरिएको बताए ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले स्थानीयको माग वमोजिम पहाडमा भ्यू–टावर निर्माण गर्न लगानी गरेको बताए । ‘भ्यू टावर भएपछि छिल्लीकोटको पर्यटन प्रबद्र्धधनमा टेवा पुग्ने दाबी स्थानीयको थियो’–प्रमुख पाण्डेले भने, ‘आशा छ भ्यू टावरले त्यहाँको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ ।’ गत असारमा प्रदेश सरकारको ५० लाख रुपैयाँ लागतमा पूर्वतर्फको मालिका मन्दिर पुनःनिर्माण गरिएको छ ।

त्यो मन्दिरसम्म पुग्न रेलिङ पनि निर्माण गरिएको छ । यसपालि फेरि थप ३० लाख रकम प्राप्त भएको र त्यसले कालिका मन्दिर पुनःनिर्माण गरिने अध्यक्ष मगरले बताए । ‘मालिकामा अब टायल बिछ्याउन मात्रै बाँकी छ’–मगरले भने– ‘यसपटक आएको रकमले अब हामी तत्कालै कालिका मन्दिरको गजुर, रेलिङ, पर्खाललगायतका काम गर्छौँ ।’

उनले ‘लिफ्टिङ’ गरेर खानेपानीको प्रबन्ध गर्न लागिएको बताए । त्यसका लागि ६० हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरिने छ । दाङको छिल्लीकोट समुद्री सतहदेखि एक हजार ४ सय १० मिटरको उचाइँमा छ । छिल्लीकोट ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थल हो । यहाँ सत्ययुगमा सतिदेवीको बायाँ कुम पतन भएको धार्मिक विश्वास छ । छिल्लीकोटका पहाडमा मालिका र कालिका देवीका मन्दिर छन् ।

मालिका र कालिका मन्दिरबीचको दूरी ८ सय ७० मिटर छ । धार्मिक र सांस्कृतिक कारणले पनि सर्वसाधारण मानिस छिल्लीकोट जाने गर्छन् । छिल्लीकोटमा दैनिक एक हजारदेखि १५ सयसम्म पर्यटक अवलोकनका लागि पुग्ने गर्दछन् । मौसम सफा हुँदा यहाँका डाँडाबाट रुकुमको सिस्ने हिमाल, रोल्पाको जलजलाजस्ता हिमाल देख्न सकिन्छ । महाभारत पर्वत शृंखलाबाट दक्षिणको दाङ उपत्यका नियाल्न सकिन्छ । त्यही प्रकृतिक दृश्य अवलोकन गर्न मानिसहरू छिल्लीकोट भ्रमण जाने गर्छन् ।

छिल्लीकोटमा १४९० देखि राज्य सञ्चालन भएको पाइन्छ । त्यसभन्दा अगाडिसम्म छिल्लाकोट विशाल दंगीशरण थारू राजाको राज्य अन्तर्गत थियो । जुम्लाका राजा मेघनाथ शाह छिल्लीकोट आएर राज्य सञ्चालन सुरू गरेका थिए । इतिहास अनुसार अन्तिम राजा वीरभद्रसिंह शाह थिए । १८४३ मा नेपाल एकीकरणका क्रममा छिल्लीकोट राज्य नेपालमा गाभिएको थियो । छिल्लीकोटमा एउटा मात्रै सामुदायिक ईकाई स्वास्थ्य चौकी छ ।

त्यहाँ सामान्य उपचारमात्र हुन्छ । अरू उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल वा घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान जानुको विकल्प छैन । ‘सुत्केरी हुँदा समेत तुलसीपुर वा घोराही झर्नुको विकल्प छैन’–अध्यक्ष मगरले भने– ‘कच्ची बाटो भएको हुँदा वर्षामा गाडी पनि चल्न सक्दैनन् । बिरामी बोकेरै लानुपर्छ ।’ छिल्लीकोटमा हालसम्म प्राथमिक विद्यालय मात्रै छ । कक्षा १० सम्मको अध्ययनको लागि डेढघण्टा हिँड्नु पर्छ ।

‘१० कक्षा पढ्न यहाँका विद्यार्थी डेढघण्टा लगाएर संक्राम झर्नुको विकल्प छैन’–मगरले भने– ‘कि भने तुलसीपुर वा घोराहीमा डेरा बसेर पढ्नुपर्छ ।’ छिल्लीकोट क्षेत्रको पहाडमाथि बाहेक अन्यत्र प्रिपेड फोन लाग्दैन । हाल त्यहाँ नेपाल टेलिकमले टावर बनाइरहेको छ ।

दाङमा कहाँ–कहाँ बन्दैछन् भ्यू टावर

दाङको पहिलो भ्यू टावर ‘मनदिल भ्यू टावर’ हो । यो घोराही उपमहानगरपालिका वडा नं. १८ ढोडेनीमा पर्छ । दुई वर्ष अगाडिदेखि सञ्चालनमा आएको त्यो भ्यू टावर निजी लगानीमा निर्माण भएको हो । ४० लाख खर्चेर निर्मित उक्त भ्यू टावर १७ मिटर उचाइँको छ । बुबाआमाको सम्मानमा त्यो भ्यू टावर निर्माण गरिएको छोरा नरेन्द्र पुनले बताए ।

त्यो बाहेक घोराहीमा भ्यू टावर छैनन् । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीका अनुसार नगरभित्र अन्त कतै भ्यू टावर निर्माण गर्ने योजना पनि छैन । ‘भ्यू टावरभन्दा अग्ला पहाडले दाङलाई वरिपरि घेरको छ’– नगर प्रमुख चौधरीले भने– ‘हामीलाई किन चाहियो त्यो भ्यू टावर ? हामी बनाउँदैनौँ ।’ तुलसीपुरका उपमहानगरपालिकामा भने एक ठाउँमा भ्यू टावर निर्माण अधक चल्टो छ ।

अरू थप दुई तीन ठाउँमा निर्माणको प्रक्रिया थालनी भएको छ । दंगीशरण थारू राजाको प्राचीन दरबार स्थल तुलसीपुर–११ सुकौरामा स्थानीय तथा संविधानसभा सदस्य बुद्धिराम भण्डारीको संसद् विकास कोषबाट निर्माण थालिएको भ्यू टावर अधुरै छ । संसद् विकास कोषको २० लाख रकमले तत्कालीन जिल्ला विकास समितिले निर्माण थालेको उक्त भ्यू टावर दुई तलामात्रै निर्माण भएको छ ।

पाँच तला बनाउने डिजाइन भए पनि रकम अभावले अरू निर्माण कार्य हुन नसकेको हो । भ्यू टावर निर्माण भइरहेको ठाउँ आसपासभन्दा डाँडोमा छ । कांग्रेस नेता भण्डारीले भ्यू टावर निर्माणपछि सुकौरा स्थित प्राचीन थारू राजा दंगीशरणमा पर्यटन भित्रिने र चर्चा परिचर्चा चुलिने आशाका साथ त्यो भ्यू टावर निर्माण गर्न रकम दिएको बताए ।

त्यस्तै तुलसीपुर–८ अश्वारमा पनि भ्यू टावर निर्माण गर्न थालिएको छ । यहाँ भ्यू टावर निर्माण स्थल उच्च भागमा छ । संसद् विकास कोषको १५ लाख रकमबाट पर्खाल निर्माण तथा जग्गा छुट्याउने काम भइसकेको छ । रकम अभावले त्यो वाहेक थप काम हुनसकेको छैन । अश्वार नगर प्रमुख पाण्डेको पुख्र्यौली गाउँ हो । तुलसीपुर ३ कै बल्ले भन्ने स्थानमा पनि ‘बल्ले भ्यू टावर’ निर्माण गर्ने गरी डिजाइन तयार पारिएको इञ्जिनियर पवन योगीले बताए । यो सल्यानसँग सीमाना जोडिएको नगरको अतिविकट र पहाडी क्षेत्र हो ।

जहाँ अग्ला महाभारत पर्वत शृंखला छन् । अप्ठेरो भूगोलका कारण यहाँ यातायात, खानेपानी, शिक्षा, स्वास्थ्य र सञ्चारको पहुँच छैन । टेलिफोनको नेटवर्क नटिप्ने यो ठाउँमा भ्यू टावर बनाउने योजना छ । त्यस्तै तुलसीपुर बजारमै नगरको सामुन्ने ‘तुलसी टावर’ निर्माण गर्ने डिजाइन अन्तिम चरणमा रहेको इञ्जिनियर योगीले जानकारी दिए । त्यो टावर ३५ करोडमा निर्माण गर्ने गरी तयारी गरिएको छ । तर, त्यो टावर निर्माण गर्न रकम कहाँबाट जुटाउने भन्ने समस्या छ ।

लमहीमा भ्यू टावर निर्माण गर्न डेढ करोड

लमही नगरपालिकाले डेढ करोड खर्चेर भ्यू टावर निर्माण गरिरहेको छ । लमही ५ बजार नजिकै खत्री टोलमा भ्यू टावर निर्माण थालिएको नगर प्रमुख कुलबहादुर केसीले जानकारी दिए । हालसम्म करिब एक करोड खर्च भइसकेको र पाँचतले भ्यू टावर निर्माण पूरा गर्न डेढ करोड जति लाग्ने अनुमान गरिएको प्रमुख केसीले बताए ।

नगरको आन्तरिक बजेटबाट निर्माण थालिएको भ्यू टावरमा यो वर्ष कोरोना माहामारीका कारण बजेट छुट्याउन नसकेको भए पनि आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था गरेर पूरा गरिने केसीले बताए । लमही भ्यू टावर निर्माण भइसकेपछि पूरा देउखुरी उपत्यका अवलोकन गर्न सकिने र त्यसले पर्यटक भित्राउन सहयोग पुग्ने प्रमुख केसीको तर्क छ ।

भ्यू टावरमुनि पसल सञ्चालन गर्ने, ग्रीन पार्क निर्माण गरिनेजस्ता योजना रहेको उनले बताए । पूर्व–पश्चिम राजमार्ग यही लमही हुँदै गएको छ । यहाँ दैनिक जसो दुर्घटना हुन्छन् । गत्तिलो अस्पताल छैन । उपचारका लागि घोराही वा तुलसीपुर लैजानु पर्छ । त्यहाँ सम्भव नभए घाइतेलाई उपचारका लागि बाँके वा बुटवल पठाउनु पर्छ । घाइतेहरू बाटोमै उपचार नपाएर मृत्युको मुखमा पुगेका थुप्रै घटना छन् । नगरले त्यसतर्फ भने ध्यान दिएको देखिँदैन ।

त्यस्तै गढवा गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष सद्धाम सिद्दिकीले पनि कोइलाबासको पहाडमा भ्यू टावर निर्माण गर्ने योजना रहेको बताए । यो नेपाल–भारतको सीमा नाका हो । भारतीय पर्यटक भित्रााउन भ्यू टावर निर्माण गर्ने सोच बनाएको उनको तर्क छ । कोइलाबास नाका क्षेत्रका स्थानीय हालसम्म खानेपानीदेखि औषधोपचारलगायत कुरामा छिमेकी देशको भर पर्नु परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*