Home / Feature Breaking news / कमाउन गएका गणेशको साउदीमा मृत्यु, चार महिना वित्यो शव आएन

कमाउन गएका गणेशको साउदीमा मृत्यु, चार महिना वित्यो शव आएन

दाङ, १२ असार । हातमा सीप थियो । घर बनाउने काममा गनिएका मिस्त्री थियो छोरा गणेश । ठेकेदारहरु सडकदेखि घर बनाउने कामका लागि उसलाई खोज्न घरमै आउने गरेका थिए । त्यसैले विदेश जानुभन्दा यही काम गरेर बस भनेका थिए छोरा गणेशलाई बुबाआमाले । तर ऋणै–ऋणमा फसेर घरबास नै बिक्री गरेका उनलाई विदेश गएर कमाउने र ऋण तिरेर नयाँ घर बनाउने सपना देखेका थिए । त्यही सपना पूरा गर्नका लागि विगत ९/१० बर्षदेखि विदेश जाने र आउने गरिरहेका थिए गणेश ।

तर कमाउन सकेका थिएनन् । ऋण तिर्न घरबास बेचेको उनको परिवार केही बर्षदेखि गणेशकी विवाहित बहिनीको घरमा बस्दै आएको छ । बहिनीको घरमा बस्दै आएको परिवारलाई छिट्टै आपूmले पैसा कमाएर नयाँ ठाउँमा जग्गा किन्ने र घर बनाउने सपना थियो गणेशको । त्यही सपना पूरा गर्नका लागि विगत ७/८ बर्षदेखि साउदी अरबको अल होटी स्टेन्जर कम्पनीमा सेक्युरिटी गार्डकारूपमा कार्यरत थिए ।

गएको असोज महिना घर आएका गणेश दशै–तिहार मनाएर मंसिर महिनामा विदेश फर्किएका थिए । विदेश जाँदा आमाबुबा, श्रीमती, दिदीबहिनीलाई लागेको ऋणसँगै सानो भए पनि घर बनाउने सपना सुनाएका थिए । तर उनले देखेको कल्पनाको घर बनाउने सपना विदेश गएको चार महिनामै चकनाचूर भयो । फागुन २ गते साँझ ९ बजे श्रीमतीसँगै अन्तिमपटक कुरा गरेका गणेश त्यसपछि सम्पर्कविच्छेद भए । काममा व्यस्त हुँदा पहिले पनि १–२ दिन हराउने भएकाले श्रीमतीले पनि फोन गरिनन् । तर अनलाइनमा आउनुहुन्छ कि भनेर हेरिहन्थिन् । तर ३÷४ दिनसम्मै अनलाइन पनि नआउने र फोन अफ भएपछि घरमा छटपटी चल्यो । घरबाट उनका साथीहरुलाई सम्पर्क गर्दा फागुन ५ गते खवर आयो गणेशले आफू कार्यरत कम्पनीमै झुण्डिएर आत्महत्या गरे भन्ने ।

ba aama

त्यो खबर सुनेपछि सुरुमा श्रीमतीलाई पत्यार नै लागेन । तर सबै ठाउँ बुझ्दा त्यही भनेपछि नपत्याई पनि छुट्टि भएन । खबर पाएदेखि उनका आँखा अझै ओभाएका छैनन् । बाथरोगका कारण बिरामी परेका ८६ बर्षीय बुबा र ७० बर्षीया आमा छिनछिनमा भक्कानिन्छिन् । ‘छोरो विदेशमै मरेको खवर पाएका छौं, चार महिना बितिसक्यो अझै शव आउन सकेको छैन’, ८६ बर्षीय बुबा जयबहादुर तामाङले भने– ‘गरिब परिवारको शव भनेपछि सरकारले पनि हेप्ने रहिछ ।’ छोरा ज्यूँदो फर्किएर नआउने भए पनि उनको अन्तिम अनुहार हेर्ने ७० बर्षीय आमा रुजी तामाङको मन छ ।

तर छोराको शव आउने–नआउने अत्तोपत्तो छैन । ‘घटनाको सत्यतथ्य छानबिन गरी शव नेपाल झिकाइदिन पटक–पटक जिल्ला प्रशासन कार्यालय, परराष्ट्र मन्त्रालयसँगै साउदी अरबमा रहेको दूतावासमा सम्पर्क गर्दासमेत भरपर्दाे जवाफ पाएका छैनौं’, श्रीमती जानका घर्तीले भनिन्– ‘आफू कार्यरत कम्पनीमै श्रीमानले झुण्डिएर आत्महत्या गरेकाले सिसिटिभीको फुटेज, हस्पिटलको रिपोर्ट र प्रहरी रिपोर्ट हेर्न पाउनुपर्छ भनेर हामीले दूतावासमा पटक–पटक सम्पर्क गरिरहेका छौ ।’ तर दुतावासबाट सकारात्मक जवाफभन्दा पनि झर्किएर जवाफ दिने गरेका उनको भनाइ छ ।

ghar

साउदीमा मृत्यु भएको शव नेपाल ल्याउनका लागि कतैबाट पहल नभएको मृतककी दिदी भागीरथी पुनले बताइन् । ‘गएको फागुन २ गतेदेखि भाइ घरपरिवारसँग सम्पर्कविच्छेद भएपछि भाइको खोजीसँगै उद्धारका लागि फागुन १४ गते परराष्ट्र मन्त्रालयदेखि राजदूतावाससम्म चिठ्ठी लेखेर पठाऔं’, दिदी भागीरथीले भनिन्– ‘चिठी पठाएपछि फागुनको १५ गते गणेशले आत्महत्या गरेको, सिसिटिभी फुटेजमा मृत्यु झुण्डिएको र आगो लागेको भन्ने जवाफ दिएको थियो । उक्त सिसिटिभी फुटेज हामीलाई हेर्न दिनुहोस् भन्दा दिनुहँुदैन ।’ मृतकको सिसिटिभी फुटेज, पुलिस र डक्टरी रिपोर्ट हेर्न पाउनुपर्छ भनेर आफूहरुले माग गर्दा भाइको शव अहिलेसम्म आउन नसकेको उनले बताइन् ।

‘घटनाको विस्तृत विवरण माग्दा कम्पनी र दूतावासले शव नै दिन चाहेको छैन’, उनले भनिन्– ‘शुरुमा दूतावासमा फोन गर्दा घटनाबारे पुलिसले छानविन गर्दैछ, मेडिकल रिपोर्ट आएको छैन भन्ने जवाफ दिनुहुन्थ्यो, रिपोर्ट आएपछि तपाईहरुले हेर्न मिल्छ भन्नुहुन्थ्यो ।’ तर अहिले रिपोर्ट हेर्न पाम भनेर फोन गर्दा हेर्न मिल्दैनन् भनेर जवाफ पाउने गरेको समेत उनले बताइन् । बुबाआमा, श्रीमतीसँगै ३ छोरी र ३ छोराको पालनपोषण गर्दै आएका गणेश बितेपछि परिवारसमेत समस्या परेको छ । उनको मृत्यु भएपछि श्रीमतीसँगै छोराछोरी र वृद्ध आमाबुबाको आधार नै भत्किएको छ । भएको जग्गासमेत बेचिसकेकाले आपूmहरुसँग छोरोको शव ल्याउनका लागि पैसासमेत नभएको दिदी भागीरथीले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*