Home / Feature Breaking news / आजका मान्छे किन आक्रोशित र तनावग्रस्त बन्दैछन् ?

आजका मान्छे किन आक्रोशित र तनावग्रस्त बन्दैछन् ?

बीबीसी ।

अहिले विश्वभरका मानिस झन् धेरै दुःखी र बढी आक्रोशित, चिन्तित अनि तनावग्रस्त रहेको एउटा ग्लोबल सर्भेले देखाएको छ ।

१४० राष्ट्रहरुबाट १ लाख ५० हजार मानिसहरुको अन्तर्वार्ता गर्दा एक तिहाइ भन्दा धेरै तनावयुक्त रहेको र पाँचमध्ये एकजना दुःखी र आक्रोशित रहेको पाइएको हो । यसरी ‘गेलप ग्लोबल इमोसन’ को वार्षिक रिपोर्टका लागि सबै सहभागी राष्ट्रका नागरिकहरुलाई तिनका सकारात्मक र नकारात्मक भावनाबारे प्रश्न गरिएको थियो ।

सार्वजनिक सूचीमा सबैभन्दा नकारात्मक देश चाड र नाइजर रहेका छन् भने सबैभन्दा सकारात्मक देश चाहिँ प्याराग्वे रहेको बताइएको छ । त्यस्तै अमेरिकाबाहिरको सबैभन्दा सकारात्मक देश इन्डोनेशियालाई मानिएको छ ।

यसका लागि अनुसन्धानकर्ताहरु यो रिसर्चको अघिल्लो दिन मानिसहरुले कस्तो अनुभूति गरिरहेका थिए भन्नेमा केन्द्रित रहेका हुन् । जस्तै सहभागीलाई ‘तपाईँहरु हिजो कति मुस्कुराउनु वा हास्नुभयो ? के तपाईँलाई सम्मानपूर्वक व्यवहार गरिएको थियो ?’ भन्ने जस्ता प्रश्न गरेर उनीहरुका दैनिक अनुभवहरुबारे गहिराइपूर्ण अध्ययन गर्ने प्रयास गरिएको हो ।

यस्तोमा आजका मानिसले महसुस गर्ने तनावको दर तुलनात्मक रुपमा उच्च रहेको पाइएको हो । त्यस्तै दुःख र चिन्ता अनुभूति गर्नेहरुको सङ्ख्यामा पनि वृद्धि देखिएको छ ।
प्रश्न गरिएका ३९ प्रतिशत सहभागीहरुले आफू अघिल्लो दिन चिन्तित रहेको र ३५ प्रतिशतले भने तनावग्रस्त भएको बताएका थिए । यसरी सकारात्मक भावना महसुस गर्नेहरुमा प्याराग्वेपछि पनामा, ग्वाटेमाला, मेक्सिको र एल्साल्भाडर रहेका छन् ।

ती देशहरुमा गरिबीको दर उच्च र द्वन्द्व जारी रहेपनि यिनीहरुले विश्वका अन्य विकसित देशहरुलाई पछि पारेका हुन् । यसरी उनीहरुले उच्च स्तरीय जीवनको आनन्द नउठाएपनि धेरै मुस्कुराउने, रमाउने र सकारात्मक रहने गरेको अन्तर्वार्तामा बताए ।

यसमा पनि विशेषगरी ल्याटिन अमेरिकी मुलुकहरु परेका छन् जहाँका परम्परा नै जीवनका सकारात्मक पक्षमा बढी केन्द्रित रहने गरेकाले यस्तो नतिजा प्राप्त भएको बताइएको छ ।

यसरी विश्वका सबैभन्दा खुसी देश मानिएका फिनल्यान्ड, डेनमार्क, नेर्वे र आइसल्यानडलाई समेत ल्याटिन अमेरिकाले पहिलोपटक पछि परेका छन् ।

त्यस्तै धेरै नकारात्मक भावना राख्नेहरुमा चाहिँ चाडपछि नाइजर, सिएरा लिओन, इराक र इरान रहेको बताइएको छ । चाडमा प्रत्येक दशमध्ये सातजनाले पछिल्लो वर्ष घरमा छाक टार्न समेत कठिन भएको बताएका हुन् भने पूरै जनतामा ६१ प्रतिशतले शारीरिक पीडा महसुस गर्ने गरेको बताए । तरपनि तनावको विषयमा भने ग्रीस र अमेरिका चाड भन्दा अगाडि रहेको पाइएको छ ।

ग्रीसका जनता विश्वमै सबैभन्दा तनावग्रस्त रहेको रिपोर्टमा उल्लेख छ । यसमा ५९ प्रतिशतले दैनिक तनाव महसुस गर्ने गरेको बताएका हुन् । त्यस्तै अमेरिकामा पनि ५५ प्रतिशत वयस्कहरु तनावको शिकार हुने गरेको बताइएको छ । यसरी युद्ध, राजनीतिक संकट र जटिल मानवीय अवस्थाकाबीच २०१८ मा पनि विश्वव्यापी मानिसहरुको अवस्था दुःखदायी नै रहेको पाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*