Home / Feature Breaking news / बंगलाचुलीमा १५ हेक्टरमा चैते धान

बंगलाचुलीमा १५ हेक्टरमा चैते धान

दाङ,१२ बैशाख । दाङका पहाडी गाउँपालिका बंगलाचुलीको वडा नं. ४ र ८ को १५ हेक्टर जमिनमा चैते धान रोपिएको छ । चैतमा धान रोप्दा किसानले दुई सिजन धान खेती गर्न सक्ने र त्यसवाट किसानलाई आम्दानी समेत हुने भएपछि बंगलाचुली गाउँपालिका वडा नं. ३ को हासिपुर र वडा नं. ८ को डोहटे र कोइराले भन्ने स्थानमा चैते धान रोपिएको बंगलाचुली गाउपालिका कृषि शाखाका प्रमुख दानसिंङ रोकायाले जानकारी दिए ।

शाखा प्रमुख रोकायाका अनुसार कार्यालयले किसानलाई पोत्साहन स्वरुप १५ क्यून्टल धानको विउँ प्रदान गरेको छ । सिजनको खेती भन्दा चैतमा धान रोप्दा राम्रो आम्दानी हुनेपछि किसानको माग अनुसार चैते धानको बिउँ वितरण गरेको उनले बताए । ‘गाउँपालिकामा सिचाईको सुविधा हुने स्थानमा चैते धान खेती हुने गरेको छ’, शाखा प्रमुख रोकायाले भने,‘ राम्रो आम्दानी हुने भएकाले किसानले माग अनुसार कार्यालयले किसानलाई धानको विउ प्रदान गर्ने गरेको छ ।’

कम किसानले कम क्षेत्रफलमा चैते धान रोप्ने गरेपनि उत्पादन राम्रो हुने गरेको किसानले बताउने गरेको उनी बताउँछन । पहिलेदेखि किसानले चैते धान खेती गर्दै आएको र त्यही अनुसार माग भएपछि शाखाले विउ प्रदान गरेको उनले बताए । कार्यालयसँग १५ हेक्टर जमिनमा चैते धान खेती हुने गरेको तथ्याङक रहेपनि कतिपय किसानले आफै बिउँ खोजेर गर्ने भएकाले यो तथ्याङक बढ्न सक्ने उनको भनाई छ ।
कृषि शाखाका रोकायाका अनुसार वडा नं. ४ मा ४ क्यून्टल २२ केजी र वडा नं. ८ मा ३ क्यून्टल हर्दिनाथ–३ र चैते धानको विउँ वितरण गरेको रोकायाले गोरक्षलाई जानकारी दिए । चैतमा रोपेको धान असारको अन्त्यतिर पाक्ने र किसानले पुन धान रोप्न सक्ने भएकाले पहाडी गाउँपालिकाको सिचाई सुविधा भएको स्थानमा चैते धान रोप्ने गरेको रोकाया बताउँछन । उनका अनुसार शाखाले किसानलाई प्राविधिक सल्लाह सुझाव दिने गरेको छ ।
बंगलचुली उदाहरणका रुपमा रहेपनि जिल्लाका देउखुरीका विभिन्न स्थानमा चैते धान खेती हुने गरेको थियो ।

तत्कालिन जिल्ला कृषि विकास कार्यालयको तथ्याङक अनुसार २०७४ सालमा जिल्लाका विभिन्न स्थानमा करिव ९५ हेक्टर जमिनमा चैते धान रोपाई भएको थियो । कार्यालयको तथ्याङक अनुसार गुरुङखोलामो २२ हेक्टर, रङसिङ खोलामा १२ हेक्टर, गढवामा ११.५ हेक्टर, मुलाबारी र हाँसिपुरमा २४ हेक्टर, गहतेरामा ११ हेक्टर, पुरन्धारामा १३ हेक्टर र डुरुवाको आसीपारामा पाँच हेक्टर जमिनमा चैते धान खेती गरिएको थियो ।
तर अहिले कृषि ज्ञान केन्द्रसँग तथ्याङक नरहेको कृषि ज्ञान केन्द्रका प्रमुख कृष्ण बस्नेतले जानकारी दिए ।

‘कृषि सेवा केन्द्र हुदाँ सवै क्षेत्रको तथ्याङक आउने गरेको थियो, अहिले आउने गरेको छैन’, बस्नेतले भने,‘ तथ्याङक नआउने गरेकाले कहाँ कति चैते धान खेती हुन्छ भन्न सक्ने अवस्था छैन ।’ देउखुरीमा केही बर्ष पहिले चैते धान खेती हुने स्थानमा मकै सुपरजोन शुरु भएपछि कतिपय किसा नमकै खेतीतिर लागेको र कतिपय किसानले माछापालन सुरु गरेपछि चैते धान खेतीमा कमि आएको कृषि ज्ञान केन्द्रले जानकाउको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*