दाङ, १५ फागुन
ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधन भएपछि मन्त्रीहरु तथा राजनीतिक नेताहरुले दु:ख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल र विज्ञप्तिमार्फत उनीहरूले मन्त्री अधिकारीको निधनप्रति शोक जनाए।
विमानस्थल निरिक्षण तथा संभाव्यता हेर्नकै लागि हिँडिरहेका मन्त्री अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएको खबर सुनेपछि सामाजिक सञ्जाल पनि उनीप्रति सर्वसाधारणले व्यक्त गरेका श्रद्धान्जलीले भरिएका छन्।
कतिपयले उनसँग खिचाएका फोटो राखेर उनलाई कहिलै नबिर्सने वाचा गरेका छन् भने कतिले उनको गुण पनि सम्झेका छन्।
प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनलाई सम्झिदै भने- उहाँ भद्र र सुयोग्य युवा नेता हुनुहुन्थ्यो।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मन्त्री अधिकारीसँगै बसेको फोटो पोष्ट गर्दै भनेका छन्- राजनीतिमा अत्यन्त उज्जवल संभावना बोकेका तपाईंसित संगै यात्रा गर्ने संभावना समाप्त भएको कुरालाई पत्याउन सकिरहेको छैन।
‘कमरेड रविन्द्र ! संभावनाको खोजी गर्दै तपाईंसित यसरी यात्रा गर्ने औसर सँधै सँधैका लागि अन्त्य भएको कुरा म पत्याउन सकिरहेको छैन !! राजनीतिमा अत्यन्त उज्जवल संभावना बोकेका तपाईंसित संगै यात्रा गर्ने संभावना समाप्त भएको कुरालाई पत्याउन सकिरहेको छैन !! पिडा र आँशुसंगै हार्दिक श्रद्धान्जली !!’ उनले सामाजिक सञ्जालमा उनले लेखेका छन्।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि भावुक ट्वीट मार्फत मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिए। उनले मन्त्री अधिकारी मुस्कुराएको फोटो पोष्ट गर्दै भनेका छन् – ‘श्रद्धान्जलीका यी शव्दहरू लेख्नु पर्दा हात काँपिरहेका छन्। कसले सोचेको थियो र यो जीवन्त मुस्कान यति अल्पायुको होला भनेर? अलविदा रवीन्द्र कमरेड! हाम्रो सम्झनाको क्यानभासमा तपाईं सधैभरि बाँचिरहनु हुनेछ। यस दु:खद दुर्घटनामा परी दिवंगत हुनुहुने सबैमा श्रद्धासुमन!’
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले घटना अपत्यारिलो र घटना दुखदायी भएको उल्लेख गरेका छन्।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मन्त्री अधिकारीसँगै बसेको फोटो सामाजिक सञ्जालमा राखेर लेखेका छन्, ‘प्रिय मित्र रविन्द्र, तपाईं अखिल अध्यक्ष, म नेविसंघ सभापति सँगै थियौंl दरबार हत्याकाण्डपछि अखिलका अर्का अध्यक्ष राजेन्द्र राई लगायत लोकतन्त्रका लागि विद्यार्थी आन्दोलन हामीले एक बनाएको स्मृति गर्दैछु! मर्माहत छु तिम्रो आकस्मिक विदाइले स्वर्गमा शान्ति मिलोस्। हार्दिक श्रद्धाञ्जली।’
कांग्रेस नेता गगन थापाले मन्त्री अधिकारीको फोटो सामाजिक सञ्जालमा राखेर दुर्घटनाको खबरले स्तव्ध बनाएको उल्लेख गरेका छन्।
थापाले लेखेका छन्, ‘रविन्द्र दाईको दुर्घटनाको खबरले स्तब्ध भएँ,मनमा झिनो आशा थियो तर त्यो आशा धेरै समय टिक्न सकेन। मैले आज एक असल साथी गुमाएको छु,देशले एक आशातीत नेता! रविन्द्र दाइ लगायत सबैमा हार्दिक श्रद्धाञ्जली!’
पार्टीभित्र समकालिन मानिने नेकपाकै युवा नेता योगेश भट्टराईपनि आफू निशब्द भएको भन्दै ट्वीट गरेका छन्।
उनले लेखेका छन्,’प्रिय साथी म निशब्द छु ! म स्वीकार गर्दिन! तिम्रै आवाजले एकपटक बताइदेउन यार।’
विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले कसको मृत्यु कहाँ कसरी लेखिएको हुन्छ कसलाई के थाहा भनेका छन्। उनले लेखेका छन्,’आउँछ, टपक्क टिप्छ, लान्छ, टरेर टर्दैन त्यो। ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउने मन्त्री तथा मित्र रवीन्द्र अधिकारी लगायत सातैजनाको आत्मालाई शान्ति मिलोस् र परिवारलाई धैर्य धारण गर्ने क्षमता। कसको मृत्यु कहाँ, कसरी लेखिएको हुन्छ, कसलाई के थाहा!’