Home / Feature Breaking news / तुलसीपुरमा नेपाल एयरलाइन्सको उडान थप, सातामा तीन दिन सेवा

तुलसीपुरमा नेपाल एयरलाइन्सको उडान थप, सातामा तीन दिन सेवा

दाङ, २५ कार्तिक । नेपाल एयरलाइन्सले काठमाडौंबाट दाङको तलुसीपुरमा हवाई सेवा थप गरेको छ । सातामा दुई दिन हुँदै आएको उडान अब मंसिर १ गतेदेखि सातामा तीन दिन हुने छ ।
अहिले नेपाल एयरलाइन्सले सातामा दुई दिन सोमबार र शुक्रबार मात्र काठमाडौं–तुलसीपुर उडान गर्दै आएको छ । यात्रुको संख्या बढेको भन्दै बुधबार समेत थप गरेर सातामा तीन दिन उडान गर्न लागिएको हो । ‘यात्रुको माग भए बमोजिम हामीले तुलसीपुर उपमहानगरपालिकासँग सहकार्य गरेर उडान थप गरेका हौं,’ नेपाल वायुसेवा निगमका प्रवक्ता अशोक सिग्देलले भने ।

मंसिर महिनाभरमा यात्रुको चाप र माग भए पुस महिनाबाट दैनिक हवाई सेवा सञ्चालनका लागि निगमले तयारी गरिरहेको पनि नेपाल वायुसेवा निगमका कमर्सियल विभाग प्रमुख टंकनिधि दाहालले बताए । ‘हामीले दैनिक उडान हुँदा यात्रु संख्या पुग्ने अवस्था हुने भयो भने नियमित उडान गर्ने छौं,’ दाहालले बताए ।

लामो समयदेखि बन्द रहेको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा नेपाल एयरलाइन्सले १६ असोजमा सफल परीक्षण उडान गरेको थियो । त्यसपछि सातामा दुई दिन सेवा दिँदै आएको थियो । तुलसीपुर विमानस्थलमा हवाई इन्धन डिपो नभएकाले हवाई जहाज काठमाडौंबाट भैरहवा हुँदै तुलसीपुर जाने गर्दथ्यो ।

अहिले तुलसीपुरमा नै यात्रुको संख्या पूरा भएपछि नेपाल एयरलाइन्सले तुलसीपुर–काठमाडौं सीधा हवाई सेवा सञ्चालन गरिरहेको छ । ‘इन्धन समस्याका कारण विमानको क्षमता अनुसार यात्रु बोक्न नसकिए पनि एक–दुई जना कम गरेर धेरैजसो डाइरेक्ट उडान गरिरहेका छौं,’ क्याप्टेन उद्धव घिमिरेले भने ।

टर्मिनल भवन बन्ने

सभामुख कृष्णबहादुर महरा, दाङ क्षेत्रनम्बर १ का सांसद मेटमणि चौधरी र तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेको पहलमा तुलसीपुरमा तत्कालका लागि अस्थायी इन्धन डिपो राख्ने तयारी भइरहेको छ । त्यसका लागि सरकारले निर्णय गरिसकेको र अन्य प्रक्रियासमेत अगाडि बढिसकेको पाण्डेले बताए ।

अस्थायी इन्धन डिपोसँगै तुलसीपुर विमानस्थल सञ्चालनसँगै यात्रु सुविधाका लागि सुविधा सम्पन्न टर्मिनल भवन पनि बनाइने भएको छ । भवन निर्माणका लागि केन्द्रबाट बजेट विनियोजन भइसकेकाले तत्काल निर्माण प्रक्रिया अगाडि बढाइने तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख पाण्डेले बताए । ‘टर्मिनल भवनका लागि सरकारले बजेट विनियोजन गर्नुले पनि विमान सेवा नियमित हुने अपेक्षा गर्न सकिन्छ,’ पाण्डेले भने ।

लामो समय बन्द रहेको हवाइ सेवा सञ्चालनसँगै यहाँका जनतामा पनि उत्साहको सञ्चार भएको छ । ‘अचानक काठमाडौं जानुपर्ने काम परेको थियो यहीँबाट टिकट पाइएपछि साह्रै खुसी लाग्यो,’ तुलसीपुरका घनश्याम लामिछानेले भने ।

उपमहानगरपालिकाले नेपाल एयरलाइन्सको सहकार्यमा हवाईसेवा सञ्चालन गरेसँगै अशक्त र विरामीहरुले ठूलो राहतको महसुस गरेका छन् । ‘चेक गराउन काठमाडौं जाउँ भनेको गाडीमा यात्रा गर्न साह्रै गाह्रो थियो तर तुलसीपुरबाटै टिकट पाएपछि सजिलो भयो,’ पत्रकार नारायणप्रसाद शर्माले खुसी व्यक्त गरे । उनले हवाइसेवा दैनिक सञ्चालन भएमा सबैले सुविधा लिन पाउने पनि वताए ।

तिहारको दिन टीका लगाएरै सोही दिन काठमाडौं जान पाएकोमा काठमाडौं घर भएकी निर्मला गिरीले खुसी व्यक्त गरिन् । ‘साइतमै टीका लगाएर घर जान पाइयो । यस्तै सेवा सधैं भए सजिलो हुने थियो,’ उनले भनिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*