Home / Feature Breaking news / वीपी र दाङ

वीपी र दाङ

Sudeep Gautam
सुदीप गौतम
मान्छे जन्मँदै आफ्नो पहिचान लिएर जन्मन्छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्ने शौभाग्य पाएका युग पुरुष वीपी कोइरालाले आजैका दिन अर्थात् १९७१ भाद्र २४ गते यस धर्तिमा पाइला टेके ‘विद्रोही’को पहिचानमा । उनले जन्मँदा नै परम्मराप्रति एउटा विद्रोही भाव देखाए । उनी सामाय प्रशव प्रक्रियाबाट जन्मिएनन्, उनलाई विज्ञानको सहाराबाट यो धर्तिमा ल्याइयो । आफ्नो पहिलो विद्रोहबारे वीपीले आफ्नो कथामा उल्लेख गरेका छन् ‘मैले संसारमा प्रवेश गर्द परिवारको एउटा परम्परालाई तोडें, प्रशव कक्षमा आधुनिक चिकित्सा विज्ञानको प्रकरणलाई पु¥याएँ । आजकलको दृष्टिमा त्यो एउटा साधारण घटना हो, तर तिनताका … त्यो एउटा क्रान्तिकारी कदम थियो ।’

वीपी आफ्नो जन्म शिद्धान्तलाई राजनीतिमा पनि प्रयोग गरे । ‘प्रजातन्त्र पुनःस्थापना गर्ने क्रममा शान्तिपूर्ण उपाय– सत्याग्रह, सहयोग सम्झौता वार्ता, पारस्परिक सहमति सबैभन्दा राम्रा उपाय हुन । यी उपायबाट प्रजातन्त्र ल्याउनु भनेको बच्चा स्वभाविकै रुपले जन्मनुजस्तै हो । कथंचित् यस उपायद्वारा बच्चा जन्मिएन भने अप्रेशन गरेर बच्चा जन्माइएझैं सशस्त्र क्रान्तिद्वारा प्रजातन्त्र ल्याउनु पर्छ’ प्रजातन्त्र पुनःस्थापनाका लागि आफ्नो जीवनमा ३ पटक हतियार उठाएका ‘विद्रोही’ नेता वीपीको यो धारणा नेपालमा एकपटक सफल भयो, तर दुईपटक असफल ।

हरेक नेताको एउटा आर्दश हुन्छ, राजनीतिक शिद्धान्तले प्रेरित हुन्छ । ऊ हरदम सत्तामा पुगेर त्यही शिद्धान्त अनुरुप कार्यक्रम लागू गर्न चाहन्छ । वीपीको पनि आफ्नै मोडेल थियो । वीपी मोडेलबारे धेरै पुस्तकहरु पनि प्रकाशित भएका छन्, तर वीपी मोडेल बुझ्न ठूल्ठूला ग्रन्थ पढ्नै पर्दैन । उनले योजना आयोगमा गरिब किसानको फोटो टाङ्न गरेको निर्देशन नेपालको सन्दर्भमा सर्बोत्तम राजनीतिक मोडेल हो । योजना बनाउँदै गर्दा हलो जोतिरहेको गरिब किसानको फोटो अघिल्तिर राखेर त्यसलाई हेर्दै योजना बनाइयो भने नेपालको लागि त्योभन्दा सर्वोत्तम आर्थिक मोडेल अरु के हुन सक्ला ?

आफ्नो ६८ वर्षीय जीवनमा ५२ वर्ष समाजको लागि खर्चेका वीपी सबैभन्दा बढी नेपाल घुमेका नेता पनि थिए । कुना कन्धरा पुगेर नागरिकसँग अन्तक्र्रिया गर्ने र योजना बनाउने वीपीशैली थियो । यही क्रममा वीपी दाङमा ३ पटक आए । तीनपटक उनको दाङ भ्रमण सुखद् रहेन । उनले कुनै न कुनै रुपमा विरोधको सामना गर्नु प¥यो, तर वीपीका दाङ भ्रमणले राजनीतिमा भने उथलपुथल ल्यायो ।

वीपी सर्वप्रथम २०१० साल बैशाख ४ गते दाङ आए । २००९ साल फागुन ५ गतेदेखि दाङको भरतपुरमा अगुवा कार्यकर्ताको लागि प्रशिक्षण सञ्चालन भएको थियो । एक महिनासम्म चलेको प्रशिक्षण शिविरमा प्रशिक्षण दिन गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, तेजबहादुर प्रसाई, किशोरीरमण राणालगायत आएका थिए । यही शिविर समापन गर्न वीपी दाङ आएका हुन् । वीपीको देउखुरी र पूर्वी दाङमा भव्य स्वागत भयो । बैशाख ४ गते वीपी भारतको जरुवा हुँदै कोइलावास आए, उनलाई त्यहाँबाट कप्तान नरबहादुरको जीपमा गोबरडिहा पु¥याइयो ।

राति गोवरडिहा वास बसेका वीपीले थारुको अवस्थाबारे निकै रुचिपूर्वक कार्यकर्तासँग परामर्श गरेका थिए । २०१० बैशाख ५ गते भरतपुर आएका वीपीले शिविर समापनको अतिरिक्त वीपीले सोही दिन सोही शिविर स्थलमा भरतपुर पप हाइस्कूल नयाँ भवनको पनि शिलान्यास गरे । भरतपुर हाइस्कूलको अहिलेको मुख्य भवन वीपीले शिलान्यास गरेको भवन हो । वीपी दाङमा ५ दिन बसे । सो क्रममा एकरात देउखुरी परशुनारायणका घर २ रात घोराहीमा एकरात वनकट्टा दत्तत्रयका घर र एकरात मानपुर अमरराजका घर बसेका थिए । त्यसक्रममा वीपीले टरिगाउँको आमसभालाई सम्बोधन गरे । टरिगाउँ सल्यान फलावाङ राज्य अन्तर्गत पथ्र्यो ।

राज्य उन्मुलन नभएका कारण त्यो क्षेत्र सल्यानी राजाकै प्रभावमा थियो । कांग्रेसले आफ्नो प्रभाव जमाउन त्यहाँ आमसभा राख्ने गर्दथे भने झग्गुप्रसादहरु कांग्रेसको विरोध गर्दथे । वीपीभन्दा पहिले आएका गणेशमानलाई पनि त्यहाँ अवरोध सिर्जना गर्न खोजिएको थियो । वीपी आएको अवसर पारेरै नेपाली कांग्रेसले यसपटक पनि टरिगाउँमा बैशाख ८ गते आमसभा आयोजना ग¥यो । त्यो आमसभा विथोल्ने विपक्षीबाट चेतावनी आयो, तर भरर्खरै शिविर सम्पन्न भएकाले कांग्रेसका कार्यकर्ताहरुमा उत्साह थियो । त्यसबेलाको अवस्था स्मरण गर्दै डाँगी लेख्छन् ‘कार्यकर्तामा अपार उत्साह थियो । वीपीको सुरक्षा गर्न आफूहरु समक्ष रहेको कार्यकर्ताहरुमा आँट थियो । किसानहरु त्यत्तिकै उत्साहित थिए । उनीहरुको सस्सुर नैकर जौन आई उहिन सिध्यादेवी (जो आउँछ उसलाई सिध्याइदिन्छौं) भन्ने भनाई थियो ।

८ गते मञ्चमा कार्यक्रम शुरु हुनासाथ एउटा जत्था हात–हातमा लाठी लिई आइरहेको देखेपछि सुरक्षार्थ तैनाथ स्वयंसेवकहरु त्यो भीडमा जाइलागे र तितरवितर पारे । आमसभा यथावत चल्यो । वीपीको पहिलो भ्रमण दाङमा हुदा कांग्रेस पुनर्गठनको स्थितिमा थियो । राजाले परामर्श दातृ सरकार गठन गरेका थिए । कांगेस प्रतिपक्षमा थियो भने भद्रकाली मिश्रको जनकांग्रेस, भरतमणिहरुको वामपन्थी कांग्रेस, मात्रिकाहरुको समानान्तर कांग्रेस गरी ४ टुक्रामा विभाजित थियो । यो अवस्थामा वामपन्थी कांग्रसका ३ जना मध्यका एउटा हस्ती भरतमणिको जिल्ला भएकोले वीपीले दाङलाई महत्व दिनु स्वभाविकै थियो ।

साथै भर्खरै सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले देशभर किसानमाथि अत्याचार बढेको भन्दै किसानको समस्या संकलन गर्न र समाधानका उपाय प्रस्तुत गर्न मातहतका कमिटीलाई निदेशन दिएको थियो । दाङको किसान समस्याप्रति वीपी परिचित थिए । अघिल्लो वर्ष दाङ आएको गणेशमान सिंहको टोलीले तत्काल दाङको किसान समस्या समाधान गर्न सुझाव सहित प्रतिवेदन बुझाएको थियो । साथै सोही बैठकले देशलाई ९ अञ्चलमा विभाजित गरी राप्ती पश्चिमाञ्चलको मुख्य केन्द्र दाङमा अञ्चल स्तरीय प्रशिक्षण आयोजना गरिएकोले वीपी दाङको कार्यक्रममा महत्वका साथ आएका थिए ।

दाङको ५ दिनको वसाईको क्रममा वीपीले गाँउ गाउमै पुगेर धेरै किसान संग अक्र्रिया गरेर फर्किए । दाङको आमसभामा वीपीले परामर्षदातृ सरकारले किसानको समस्या समाधान गर्न नसक्ने भन्दै एक महिनाभित्र परामर्श दातृ सरकार ढल्ने चेतावनी दिएका थिए । ‘यो देशका ९९ प्रतिशत किसानको हितमा ध्यान नदिने सरकार जनविरोधी हो । जबसम्म कृषिको उत्थान र किसानको हितमा ध्यान दिइँदैन, तबसम्म देश सधैं गरिबी, अभाव र अशिक्षामा रहने छ । यो परामर्श दातृ सरकारको न त वैधानिक आधार छ न त जनपक्षीय नै’ वीपीले टरिगाउँको आमसमामा भनेका थिए । नभन्दै अषाढ २ गते परामर्ष दातृ सरकार ढल्यो । राजाले कांग्रेसबाट टुक्रिएका मातृकाप्रसाद कोइरालाको नेतृत्वमा नयाँ सरकार गठन गरे ।

दोस्रो पटक वीपी प्रधानमन्त्री हुँदा दाङ आए । राजासँग सुमधुर सम्बन्ध नभएकै बेला उनको राजासँगै पश्चिम नेपालको भ्रमण तय भयो । २०१६ साल पौष १४ गते वीपी र राजा महेन्द्र देवीथानको बाटो हुँदै घोराही आइपुगे । वीपीको राजासँगको भ्रमण दाङसम्म मात्र भयो । वीपी १६ गते काठमाडौं फर्किए । १४ गते वीपीले घोराहीमा गरेको भाषणमा ‘अब राजा र प्रजाको सम्बन्ध एकसूत्रमा बाधिएको छ । जनताले चुनेको एक प्रधानमन्त्रीको हैसियतमा श्री५ को सवारी चलाउँदै म पनि आएको छु । देशमा ठूलो परिर्वतन भइसकेको छ भन्ने कुराको यो पनि प्रमाण हो । यो भ्रमणमा सबैको ठूलो मेहनतबाट देश निर्माण होस् भन्ने कुरामा श्री५ कति व्यग्र होइवक्सन्छ । देशको गरिबी दूर गर्न र देशलाई अघि बढाउन सबै किसिमको भेदभाव मेटाई सबैले मेहनत र इमानदारीका साथ देशको विकासमा एकजुट भएर लागून् भन्ने कुरालाई प्रेरणा दिन श्री५बाट यो भ्रमण भएको हो ।’

सोही क्रममा वीपीसँग टेकनाथ गौतमलगायत दाङका व्यक्तिहरुले जलकुण्डी बाँधप्रति आपत्ति प्रकट गरे । वीपीले यहाँका वासिन्दाले जलकुण्डी बाँधको विरोधमा गरेको प्रदशर्नमा समर्थन गरे । उनले भाषणमा ‘देउखुरीलाई डुबाएर जलकुण्डी बाँध बन्न नसक्ने’ आश्वासन दिए । नभन्दै सरकारले टंकप्रसाद आचार्यको पालामा अनुमति दिइएको त्यो बाँध बनाउन रोक्ने निर्णय ग¥यो । वीपीसँगै दाङ बसाईको क्रममा भरतपुरमा महेन्द्र इन्टर कलेज र रत्नलाल राज्यलक्ष्मी बालिका विद्यालयको शिलान्यास गरे । त्यसपछि पद्मोदय हाइस्कूल निरीक्षण गर्नुका साथै त्रिभूवन पार्क, घोराही अस्पताल र महेन्द्र पार्क (महेन्द्र क्याम्पस) को पनि उद्घाटन गरे । त्यत्तिबेला उद्घाटन गरिएका अरु सबै सञ्चालनमै रहे पनि रत्न राज्यलक्ष्मी बालिका विद्यालय भने अस्तित्वमा छैन । त्यस क्रममा राजा र वीपीले घोराहीका स्थानीय अड्डाखाना, घरेलु मिलन केन्द्र, सर्वोदय पुस्तकालय र घोराही बजार निरीक्षण गरेका थिए ।

वास्तवमा दाङको भाषण वीपीको स्वभावअनुसार थिएन । वीपी त्यहाँ आफ्नो स्वभावअनुसार भन्दा राजालाई खुशी पार्ने कुरा बोलेको प्रष्ट देखिन्छ । भ्रमणका क्रममा वीपीसँगै रहेका वीपीका तत्कालीन सहयोगी कुमारमणि आचार्य दीक्षितले आफ्नो पुस्तक ‘फाटफुट सम्झना’मा वीपी महेन्द्रसँग सम्बन्ध सुधार्न तल्लीन रहेको त्यस भ्रमणका क्रममा देखिएको उल्लेख गरेका छन् । तर दुर्भाग्य वीपीलाई गलहत्याउने कार्यको विजारोपण यही भ्रमणबाट भयो । राजासँग सम्बन्ध सुधारको अपेक्षा गरेका वीपीको पुष १५ गतेको रात भने निकै सुखद् रह्यो ।

राजाले अनौपचारिक भोजको आयोजना गरे । निकै खुलेर प्रस्तुत भए । १२ बजेसम्म वीपीले अंग्रेजी कविता र राजाले नेपाली कविता वाचन गरे । हाँसो ठट्टा र रमाइलोमा कार्यक्रम बित्यो । त्यस कार्यक्रममा सहभागीलाई लाग्थ्यो वीपी र राजाको निकै आत्मीय सम्बन्ध छ । वीपीसँग हार्दिकता साथ प्रस्तुत भएका राजा अर्को दिनबाटै फेरिए । वीपीको अनुपस्थितिमा दाङ, सल्यान र नेपालगञ्जका सम्बोधनहरु सरकारको आलोचनामा केन्द्रित थिए । यही भ्रमणको क्रममा बर्दिया पुगेका राजाले सरकारप्रति असन्तुष्टि प्रकट गर्दै देशको सार्वभौमसत्ता राष्ट्रियता र देश तथा जनहित कार्यको संरक्षण गर्नु आफ्ना कर्तव्य भएको भन्दै त्यसमा बाधा आइपरे जहिले पनि र जे गर्न पनि पछि नपर्ने चेतावनी दिए । पुस १६ गते वीपी फर्किएपछि राजासँगै भ्रमणमा बसेका तुलसी गिरी यही भ्रमणबाट राजासँग नजिकिए र प्रजातन्त्र खोस्ने मुख्य मतियार बने ।

वीपी २०३६ फागुन २६ मा फेरि दाङ आए । उनी यसपटक विपक्षी नेताको रुपमा जनमत संग्रहमा वहुदलको प्रचार गर्न दाङ आएका थिए । २७ गते घोराहीमा नेपाली कांग्रेसको आमसभा भयो । त्यस सभालाई नेपाली कांग्रसका नेता वीपी कोइरालाले सम्बोधन गर्दै २० वर्षपछि पनि उही दुःख देखेको चर्चा गरेका थिए । सम्बोधनमा यस्तो भनेका थिए वीपीले ः

(जनमत संग्रहमा वहुदलको प्रचार अभियानका क्रममा २०३६ साल फागुन २६ गते घोराहीमा भएको आमसभामा वी.पी. कोइरालाले गरेको सम्बोधनको अंश ।)
म कराएर बोल्न सक्दिन, त्यसैले शान्त भएर सुनिदिनु होला ।
म बीस वर्ष अघि तपाई जनताले रोजेको प्रधानमन्त्री । नेपालको इतिहासमा म वाहेक निर्वाचित प्रधानमन्त्री कोही भएन ।
प्रधानमन्त्री हुँदा यहाँ आई यहाँका गरिब मान्छेसँग भेट गरेको थिएँ । उसबेला गरिबहरुले कुलो, नाली, खेती आदि दुःखका कुरा गरेका थिए । बीस वर्षपछि फेरि उही दुःखका कुरा सुने ।
म प्रधानमन्त्री हुँदा श्री५ बाट सोधिबक्सँदा भनेको थिएँ– १५ वर्षभित्र नेपालका गरिबभन्दा गरिबलाई मेरो परिवार जत्तिको साधारण घरवास, लुगा, शिक्षा आदि सुविधा दिलाउने मेरो संकल्प छ । त्यसैअनुसार देश विदेशमा घुमे । योजनाकारहरुलाई मेरो सल्लाह थियो कि, तिम्रो योजना बनाउने कोठामा एउटा गरिबको तस्बिर राख, झुपडीको चित्र राख । यो गरिब मुलुकमा गाउँ–गाउँमा बस्ने जनताको विकास भएमात्र देशको विकास हुन्छ ।
म १८ महिनासम्म मात्र प्रधानमन्त्री बन्न पाएँ । म र मेरा हजारौं साथीहरु जेलमा प¥यौं । विकासको विरूवा मेटियो । म जेलमा परे पनि विकास त भइराखेको होला भन्ने सोचेको थिएँ । बाहिर आउँदा पहिलेको भन्दा झन खराव स्थिति भएछ । यो कुरा राजाको मुखबाट र अरुअरुका मुखबाट पनि सुने ।
उत्पादन घट्यो गरिब झन् गरिब हुँदै गए । अहिले झन यस्तो स्थिति आएको छ, हामीले नजानेमा हामी टुक्रिएर जाने स्थिति छ । देश त पछि प¥यो नै, विदेशी पनि पस्न आँटे । देश यति कमजोर छ, सानो विद्यार्थी आन्दोलनले देश हल्लिन थालेको थियो । आर्थिक, राजनीतिक, नैतिक सबै दृष्टिबाट देश कमजोर बनेको छ । जेठ १० गतेदेखि बोल्ने मौका पाएका छौं, त्यो (जनमतसंग्रहको) घोषणाले । जेठ १० र पौष १ गतेको घोषणाले पञ्चायतको निर्विकल्पताको खुट्टा र राजाको सक्रिय नेतृत्वमा दुवै खुट्टा काटिए ।
म पञ्चायती व्यवस्थाको कट्टर विरोधी हुँ । लठ्ठी उठाएर वा जे गरेर पनि यसको विरोध गरेको छु । तर व्यवस्थामा लागेकाहरुको हृदय परिवर्तन गर्न चाहन्छु ।
अब त वहुदल निर्विकल्प हो । मलाई मृत्युदण्ड दिन्छु भन्नेहरुलाई पनि म भन्छु, म तिमीहरुको सत्रु हैन । एकदुई प्रशासकहरुले जनमत संग्रहमा गलत काम गरिरहेका छन् ।
ममाथि अहिले पनि ७ मुद्दा छन् । श्री५ को विशेष अधिकारबाट मात्र म अहिले बाहिर छु । कल्पना नगरेको कुरा भएको छ । कारण जवाना बदलिएको छ । अनेक अञ्चलहरु गएँ । गरिब जनता स्नेह र आदर लिएर म कहाँ आएका छन् । जहुदलले जितेमा नेपाली कांग्रेस आउँछ । यो गरिबहरुको पार्टी हो । अरु देशको तुलनामा यहाँका धनीहरु पनि गरिब छन् । १५ वर्षमा मेरो परिवारको जस्तो आर्थिक स्थिति सामान्य जनताको हुनुपर्छ । हामीलाई गरिबको ध्यान छ । हाम्रो अहिलेको मूल चिन्ता र चासो यही हो ।
जय नेपाल !

वीपी त्यस क्रममा ६ दिन दाङ बसेका थिए । घोराही चिन्तामणि शर्माको घरमा बसेका वीपीले त्यस क्रममा देउखुरीमा पनि एउटा जनसभालाई सम्बोधन गरे भने अरु समय भेटघाटमा बित्यो । वीपी दाङ रहँदा निर्दलवादीहरुबाट वीपीको विरोधमा पम्प्लेटिङ, वाल–पेन्टिङ र काला झण्डा प्रदर्शन गरेका थिए । तर पनि वीपीले दाङमा अघिल्ला भ्रमणमाजस्तै प्रशस्त श्रोता पाएका थिए । तर फरक यत्ति थियो कि पञ्चायतको कालरात्रिले वीपी र किसानबीचको सम्बन्धमा पर्खाल खडा गरेको थियो । तर वीपीले २० वर्ष पहिलेझैं किसानलाई सम्बोधन गर्न छाडेनन् ।

फेरि गरिब किसानलाई आफ्नो सम्बोधनले आकर्षित गरे । दाङमा वहुदलले जित्यो । त्यस निर्वाचनमा कूल ७० हजार ८ सय ५९ मत खसेकोमा ३५ हाजार ३ सय ३ मत वहुदलको पक्षमा प¥यो भने २९ हजार एक सय ७३ निर्दलको पषमा प¥यो । ६ हजार ३ सय ८३ मत वदर भएको थियो । २७ गतेको कार्यक्रममा वीपीप्रति वक्ताको सम्बोधनले पनि एउटा तरङ्ग नै ल्याइदिएको थियो । सभामा शंकर गिरीले वीपीलाई युगपुरुष, नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने अन्तर्राष्ट्रिय नेता र भूपू एमपी श्री जुद्धबहादुर न्यौपानेले वीपीलाई विश्व नेताको भनि सम्बोधन गरेका थिए । २०३६ चैत्र १ गतेको एउटा पत्रिकाले त त्यस सम्बोधनको विरोधमा ‘वीपी एउटा गुटको नेता कि युग पुरुष ?’ भन्ने शीर्षकमा सम्पादकीय नै लेख्यो ।

१५ वर्षमा हरेक नेपालीको जीवनस्तर आफ्नोजस्तो बनाउने सपना देखेका वीपीले १८ महिना पनि काम गर्न पाएनन् । स्वतन्त्र रुपले विश्लेषण गर्ने हो भने जत्ति गरे नेपाली जनता विशेष गरी गरिब किसानकै पक्षमा गरे ।
सन्दर्भ वीपी जयन्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*