दाङ, १ साउन
डाक्टर गोविन्द केसीलाई काठमाडौं ल्याउनुपर्ने तर चिकित्सा शिक्षा विधेयक पनि फिर्ता नहुने आफ्नो अडान सरकारपक्षले दोहोर्याएपछि केसीका प्रतिनिधि र सरकारी टोलीबीचको वार्ता दोस्रो दिन पनि बिना निष्कर्ष टुंगिएको छ।
सोमबार दुई पक्षबीच वार्ता भए पनि निष्कर्षमा पुग्न सकेको थिएन।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा दुई पक्षबीच आज दिउँसो भएको वार्ता बिना निष्कर्ष टुंगिएको डाक्टर केसीका प्रतिनिधि वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिए।
‘उहाँहरूले डाक्टर केसीलाई काठमाडौंमै ल्याउनुपर्ने अडान राख्नुभयो। हामीले उहाँलाई बिरामीका रूपमा व्यवहार नगर्न भन्यौं। उहाँका माग सम्बोधन हुनेमा विश्वस्त नभइ डाक्टरलाई काठमाडौं ल्याउन नसकिने बतायौं। कम्तिमा विधेयक संसदमा पेश गरेको चिकित्सा शिक्षा विधेयक फिर्ता लिने र सकेसम्म अध्यादेश पेश गर्नुपर्ने उहाँको माग हो भनेर सम्झायौं,’ उनले भने, ‘तर उहाँहरू आफ्नो अडानबाट टसमस हुनुभएन।’
सरकारी वार्ता टोलीलाई जुम्ला नै पुगेर डाक्टर केसीसँगै वार्ता गर्न आफूहरूले सुझाएको भण्डारीले बताए।
सरकारी वार्ता टोलीले अडान नछोडेपछि केसीका प्रतिनिधि शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई भेट्न गए। शिक्षामन्त्रीले डाक्टर केसीलाई काठमाडौं ल्याउन हेलिकप्टर पठाउन जतिखेर पनि तयार रहेको भन्दै त्योभन्दा बढी आफूले केही गर्न नसक्ने जवाफ दिए।
मन्त्रिपरिषद्ले सोमबारै शिक्षा सचिव खगराज बरालको नेतृत्वमा गृह र स्वास्थ्य मन्त्रालयका सहसचिव रहेको वार्ता टोली गठन गरेको थियो।
केसीका तर्फबाट वरिष्ठ अधिवक्ता भण्डारी, अधिवक्ता ओम प्रकाश अर्याल र डाक्टर अभिषेकराज सिंह वार्तामा सहभागी छन्।
चिकित्सा शिक्षा अध्यादेशमा रहेका प्रावधानहरू हटाएर सरकारले संसदमा विधेयक अगाडि बढाएको विरोधमा डाक्टर केसी जुम्लामा १८ दिनदेखि अनसनमा रहेका छन्।
मन्त्री पोखरेलले भने, ‘विधेयकमा फिर्तामा वचन दिन नसक्ने’ बताएको वार्ता टोलीका एक सदस्यले जानकारी दिए। काठमाडौं उपत्यकामा १० वर्ष मेडिकल कलेज सञ्चालन गर्न नपाइने, एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउने लगायत व्यवस्था हटाएर सरकारले विधेयक अघि बढाएको हो।
विधेयकमा संसदममा नेपाली कांग्रेसले विरोध गरिरहेको छ।
सेतोपाटीबाट
RaptiSandesh RaptiSandesh