Home / Feature Breaking news / एमाले–माओवादीबीचको एकता अन्योलमा

एमाले–माओवादीबीचको एकता अन्योलमा

काठमाण्डौ,२ बैशाख । नेकपा एमाले र माओवादी केन्द्रले बनाएका दुईवटा कार्यदलले आ आफ्नो प्रतिवेदन केही विवादित विषयसहित शीर्ष नेतालाई बुझाइसकेपछि एकता प्रक्रिया भने तीव्र गतिमा अघि बढ्न सकेको छैन ।

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आ आफ्नै कार्यक्रममा व्यस्त छन् । तर एकताका लागि बैठक हुन सकेको छैन । विवादित विषय हल गर्नेतिर उनीहरु नै यतिबेला केन्द्रित छैनन् ।

त्यसैले वैशाख ९ गते गर्ने भनिएको एकता घोषणा अन्योलमा परेको छ । वैशाख २२ गतेलाई एकता घोषणाको वैकिल्पक दिनका रुपमा हेरिन थालिएको छ । यसअघि वैशाख ९ गते (अप्रिल २२ ) कम्युनिष्ट दल गठन भएको तिथिलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोषणा गर्ने तयारी दुवै दलले गरेका थिए ।

कार्यदलको बैठकमा एमाले नेता तथा कार्यदलका सदस्य वेदुराम भुषालले सो मिति प्रस्ताव गरेका थिए । कम्युनिष्ट दल स्थापना भएको मिति नै उपयुक्त भएको नेताहरुको बुझाई थियो । त्यसमा कसैको विमति नभएपछि कार्यदलले सोही दिन सिफारिस गरेको छ ।

“पहिले वैशाख ९ निकै टाढा भयो भन्ने लागेको थियो, अब निकै नजिक लाग्न थालेको छ,” कार्यदलका सदस्य भुषालले भने, “एकता संयोजन समितिको बैठक चाँडो बस्न नसक्ने हो भने वैशाख ९ मा गर्ने भनिएको पार्टी एकताको घोषणा अन्योलमा पर्छ ।”

वैशाख ९ गते नजिकिँदैछ । तर पार्टी एकता संयोजन समितिको बैठक बस्न सकेको छैन । विवादित तीनवटा विषय सल्टाउन समय लाग्नेभन्दै सम्भवतः ९ गते पार्टी एकता घोषणा असम्भव देखिएको नेता भुषालले बताए । उनकाअनुसार नयाँ पार्टीको चुनाव चिन्ह, माओवादीले प्रस्ताव गरेको जनयुद्ध शब्द र पार्टी एकीकरण गर्दा प्रतिनिधित्वको संख्या प्रतिशत या समानताका आधारमा प्रमुख विवाद छ ।
माओवादीले प्रतिशतका आधारमा ५०–५० हुनुपर्ने अडान कायमै राखेको छ ।

प्रस्तावित १० वटा कमिटीमा प्रतिनिधित्व सुनिश्चित्ताको माग माओवादीले गरेको छ । तर एमाले नेताहरुले त्यसमा सहमति जनाएका छैनन् । विभिन्न संगठनात्मक कमिटीमा समानताको आधारमा गर्न सकिने तर प्रतिशतमा जान नसकिने नेता भुषालको भनाइ छ ।

“एमाले र माओवादी पार्टीको एउटै हैसियत होइन, पचास प्रतिशतको सहभागिता खोज्नु भनेको पार्टी एकतामा निहुँ खोज्नु हो,” एमालेका एक नेताको प्रतिक्रिया छ । पचास प्रतिशतका विषयमा कार्यदलको कुनै बैठकमा छलफल नभएको भुषालले जानकारी दिए ।

तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समय यता ५० प्रतिशतको सहभागिताको माग गर्दैआएका छन् । कार्यदलले नयाँ पार्टीभित्र विभिन्न १० वटा संगठनात्मक कमिटी रहने प्रस्ताव गरेको छ । ती सबै कमिटीमा एमाले र माओवादीको ५० प्रतिशतको आधारमा प्रतिनिधित्वको माग अध्यक्ष दाहालको छ । तर यस विषयमा एमाले अध्यक्ष ओलीले आधिकारीक प्रतिक्रिया नदिएको स्रोतले जानकारी दिएको छ ।

कार्यदलका सदस्य भुषालकाअनुसार वैशाख २२ अर्थात (मे ५) कार्ल माक्सको २०० औं जन्मतिथी परेकाले पार्टी एकता घोषणाको विकल्प हुनसक्छ । “कथंकदाचित वैशाख ९ मा पार्टी एकता घोषणा हुन सकेन भने उचित विकल्प वैशाख २२ हुन सक्छ,” भुषालले भने । तर सो विषयमा अझै छलफल हुन बाँकी रहेको उनले बताए ।

दुई अध्यक्षले चाहेमा वैशाख ९ मै पार्टी एकता घोषणा अझै सम्भव रहेको बताउँदै उनले तर दुई अध्यक्षको व्यस्तता र समयअभावले पार्टी एकता संयोजन समितिको बैठक बस्न नसकिरहेको बताए । नेता माधवकुमार नेपाल संयोजकत्वको राजनीतिक प्रतिवेदन तयार गर्ने कार्यदल र रामबहादुर थापा संयोजकत्वको संगठनात्मक संरचना तथा अन्तरिम विधान निर्माण गर्ने कार्यदलले प्रतिवेदन बुझाइसकेको छ । यद्यपि थापा संयोजकत्वको कार्यदलले नयाँ पार्टीको चुनाव चिन्ह, जनयुद्ध र कमिटीमा रहने सदस्य संख्याको प्रतिशतबारेमा टुंगो नलगाएरै प्रतिवेदन बुझायो । सो विवादित विषय अब एकता संयोजन समितिले टुंगो लगाउनुपर्नेछ ।

चुनाव चिन्हकालागि एमालेले सूर्य चिन्ह नै हुनुपर्ने अडान राखेको छ । माओवादी केन्द्रले सूर्यको बीचमा हँसिया हथौडा अंकित हुनुपर्ने प्रस्ताव राखेको छ । त्यसमा अन्तिम निर्णय हुन बाँकी छ । एमालेले जनयुद्ध शब्द विधानको प्रस्तावनामा राख्न तयार भएको छैन । यद्यपि दुवै दललाई स्वीकार्य हुनेगरी बीचको बाटोबाट जान सकिने बुझाई कार्यदलका सदस्यहरुको छ ।

एमालेका धेरैजसो सदस्यले एकता नै हुने भएपछि जनयुद्ध राख्न हिच्किचाउनुनपर्ने बताउँदै आएका छन् । सम्भवतः एमालेले जनयुद्ध शब्द राख्नमा सहमत भएमा माओवादी केन्द्रका नेताहरु पनि एमालेको चुनाव चिन्ह सूर्यलाई स्वीकार गर्न सक्ने अनुमान कार्यदलका सदस्यहरुको छ ।

अर्को पेचिलो विषय संगठनात्मक संरचनामा प्रतिशतको हिसावले प्रतिनिधित्व गराउने कि समान हैसियतका आधारमा गराउने भन्ने छ । सो विषयमा दुई अध्यक्षले निर्णय गर्नुपर्ने कार्यदलका सदस्यहरुको सुझाव छ । दुवै नेताहरुले भोलि पार्टीमा अप्ठेरो परिस्थिति आयो भने छुट्टिनुपर्दाको हिसाब अहिले नै निकालेको अर्का एक नेताले बताए । त्यसैले प्रतिशतको कुरा थप पेचिलो बनेको छ ।
बाह्रखरी अनलाइनवाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*