Home / Feature Breaking news / मेरो ‘इन्टेन्सन्’ जाच्ने खुमबहादुर खड्का

मेरो ‘इन्टेन्सन्’ जाच्ने खुमबहादुर खड्का

 

bipul c    विपुल पोख्रेल

‘ए भाइ तिम्रो इन्टेन्सन् खराव छ’

‘बिधि बिधान अनुसार चल्ने कि आदेशमा चल्ने ? आदेश नमान्दा इन्टेशन् खराव भन्न मिल्दैन’

खुमवहादुर खड्कासंगको मेरो पहिलो राजनीतिक संवाद थियो यो । त्यतिवेला म नेपाल बिद्यार्थी संघमा काम गर्थे । मेरा नाताले सानोवुवा पर्ने उनी र उनीका परिवारका सदस्यहरुसंगको पारिवारीक संवादको कुरा अर्कै छन्, मौका मिलेमा अर्को पल्ट कोरौंला ।

तिनै खुमबहादुर खड्काले यसपटक पत्रकार महासंघको निर्वाचनको तयारी गरिरहेको थाहा पाउदा घरमा बोलाए र भने,

‘तिमि साथीहरुको सम्पर्कमा बस, तयारी गर, तिम्रा लागि शेरबहादुरजी(देउवा)संग म आफै कुरा गर्ने छु ।’

यो उनीसंगको अन्तिम सम्वाद बन्यो ।

यसरी तनावपूर्ण संवादवाट प्रारम्भ भएर उच्चतम् हार्दिकता देखिनेसम्मको सम्बन्ध निर्माणको वीचमा खुमबहादुर खड्कासंगका मेरा थुप्रै स्मरणरु छन् । ति स्मरणहरु कति तिता पनि छन् र कति मिठा पनि छन् ।

सम्वन्धमा तितो महसुस हुनुमा मेरो पनि दोषहरु होलान् र मिठो महसुस हुनुमा उनका सकारात्मक पक्षहरु नै कारण थिए । समग्रतामा उनी एउटा ठूलो अभिभावक बनिसकेका थिए । उनी चाहन्थे उनको अभिभावकत्वमा सबै अटुन र सबै रमुन् । यो आदर्श चाहना सबैलाई स्वीकार्य हुन सक्दैन भन्ने पनि उनलाई थाहा थियो र पनि अभिभावकत्व प्रदान गर्ने उच्च चाहना उनमा सधै देखिन्थ्यो ।

एक पटक दाङको आधुनिक इतिहासका एक सक्रीय साक्षी तथा सामाजिक र शैक्षिक अभियन्ता विद्वान टेकनाथ गौतमले भनेको सम्झन्छु,‘दाङका लागि कि त दामोदरजीले गरे कि त खुमबहादुरजीले गरे ।’

टेकनाथ गौतमको यो मुख्याङ्कनमा असहमति राख्ने ठाँउ देख्दिैन । आर्यघाटमा उनको चिता जलिरहदाँ टेकनाथ गौतमको यो भनाई कानमा गुञ्जिरहेको झै भान भएको थियो । खड्काको शरीर जल्दै गर्दा निक्लेको धुवालाई सोध्न मन थियो कि, अव को दाङको अभिवाकीय रिक्तता कसरी पुर्ती होला ? भनेर ।

खुमबहादुर खड्कालाई दाडको विकासको दृष्टिले मात्र अभिभावक ठान्दा उनीप्रति अन्याय हुन्छ । उनी राष्ट्रिय राजनीतिमा हस्तक्षप गर्न सक्ने दङली पात्र पनि थिए । उनी नेपाली लोकतान्त्रिक आन्दोलनको इतिहासमा एउटा संघर्षशिल र संकल्पप्रति प्रतिबद्ध नेता पनि थिए । विकासप्रतिको उनीको चासो सेवाभावले मात्र जागृत भएको थिएन्, आफुले वोकेको राजनीतिक दर्शनको कार्यान्वयनवाट जनतालाई कसरी लाभान्वीत गर्न सकिन्छ भन्ने कुराको खोजीको क्रममा उनी विकासका पक्षपाती बनेका हुन् । राजनीतिक क्षेत्रले गर्ने निर्णय जनताको पक्षमा हुनुपर्छ भन्ने राजनीतिक दर्शनका बलियोपक्षपाति थिए खुमबहादुर । उनी लोकतान्त्रिक पद्दतिका मार्फत जनता र राजनीति वीचको सम्बन्ध स्थापित गर्न चाहन्थे ।

उनको राजनीति प्रतिको यो प्रतिबद्धता अवको पुस्तामा देखिन्छ कि देखिदैन भन्ने गंभिर चिन्ता उब्जेको महसुस मलाई भएको छ । उनका तमाम कमिकमजोरीहरु रहे होलान् । भगवान रामको समेत कमिकमजोरी खोज्ने समाजले उनका कमजोरी केलाउनु कुनै पनि मानेमा अन्यथा होइन । तर, उनको मुल रुपलाई भने नजरअन्दाज गर्न मिल्दैन ।

उनीसंगको दुइवटा सन्दर्भ म यहाँ उल्लेख गर्न चाहन्छु । उनी गृहमन्त्री रहेको सरकारको नेतृत्व शेरबहादुर देउवाले गरेका थिए । त्यो सरकारले आम निर्वाचन गर्ने निर्णय ग¥यो र पछि निर्णय फिर्ता लियो । त्यो बेला खुमबहादुर खड्काले भनेका थिए, ‘यो निर्णय गलत भयो । जनतामा जाने निर्णय फिर्ता लिनु भनेको देशमा गंभिर संकट पैदा गर्नु हो ।’ आखिर राजाले देउवालाई बरखास्त गरे र सत्ता हातमा लिए । जनतामा जाने कुरा छाडेर अर्को वाटो पकड्न हुँदैन भन्ने कुरा एउटा लोकतन्त्रवादीको आदर्श मान्यता पनि हो ।

उनले डा.वावुराम भट्टराईको सरकारले पहिलो संबिधानसभा विघटन गरेपछि पनि यही मान्यतामा टेकेर उभिए । संबिधानसभा विघटन भएको तेस्रो दिन खड्का आफै तत्कालिन पार्टी सभापति सुशिल कोइरालाको महाराजगञ्ज स्थित निवासमा पुगी ‘अव तत्काल चुनावमा जानु पर्ने, केही निश्चित मन्त्रालय मागेर भट्टराईको सरकारमा सहभागि भई चुनावमा जाने निर्णय गर्न कांग्रेसले बिलम्ब गर्न नहुने र बिलम्व गरे देश गलत वाटोमा जाने’ सुझाव दिए । म त्यतिवेला कोइरालाको प्रेस सल्लाहकार थिए र मेरा अगाडि यो संवाद भएको थियो । मेरो ‘इन्टेनशन्’ जाँच्ने उनले नेपाली राजनीको ‘इन्टेनशन्’ पनि यसरी पटक पटक जाची रहेका थिए । तर, नियतीको खेलले उनलाई एक्कासी कमजोर बनाइदियो ।

यी दुइवटा सन्दर्भमा उनको जनताको शक्तिप्रतिको बिश्वास प्रदर्शित भएको थियो । मैले दुबै क्षणमा उनलाई वीपी कोइरालाको दर्शनको गहिरो छाप परेको नेताका रुपमा चिन्ने मौका पाए ।

जनताको शक्तिमा विश्वास गर्ने नेतृत्वको खडेरी परेको वेला उनी भौतिक रुपमा नै नरहदाँ राजनीतिक क्षेत्रमा एउटा सून्यता महसुस हुनु स्वभाविकै हो । सबैको अभिभावक बन्ने चाहनाका साथ जीवभरको उनको सक्रियताले केही मान्यताहरु स्थापित गरिदिएका छन् । कार्यकर्ताको संरक्षण कसरी गर्नुपर्छ भन्ने कुरा उनीवाट सिक्न सकिन्छ । मेचीदेखि महाकालीसम्मका सबै जिल्लाका अगुवा कार्यकर्ताको नाम कण्ठस्थ हुनु, उनीहरुको इतिहास, क्षमताका आधारमा उपयोगिता निर्धारण गर्नसक्नु खड्काको बिशेषता थियो ।

दाङ्का र विकासका मात्र नभई समग्र राजनीतिको मियो बन्न सकेका र राजनीतिक निर्णयको लाभ जनताको पक्षमा देखिने हुनुपर्छ भन्ने मान्यताका पक्षपाति खड्का प्रति हार्दिक श्रद्धाञ्जली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*