Home / Feature Breaking news / विमान दुर्घटनामा पाईलट सहित ४९ जनाको मृत्यु

विमान दुर्घटनामा पाईलट सहित ४९ जनाको मृत्यु

काठमाडौं,२८ फागुन । यूएस बङ्लादेश एयरलाईन्सको विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ । मृत्यु हुने अधिकांश नेपाली रहेको प्रारम्भिक जानकारी आएको छ ।

६७ यात्रु र चालक दलका चार जना सदस्य सहित बंगलादेशको ढाकाबाट काठमाडौं उडान भरेको सो विमान दिउँसो २ बजेर २० मिनेटमा त्रिभुवन विमानस्थलको धावन मार्गमा दुर्घटनाग्रस्त भएको हो । ६७ यात्रु मध्ये ३३ जना नेपाली थिए । घाईते २२ जनाको राजधानीका विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

दुर्घटनाग्रस्त विमानबाट ३० जनाको उद्धार गरिएपनि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज केएमसी पुर्‍याएलगत्तै चिकित्सकले पाईलट पृथुला रसिद, चालक दलका सदस्य खवाजा हुसेन सहित ८ जनालाई मृत घोषित गरेका थिए । घाईतेमध्ये १२ जनाको केएमसी, ५ जनाको नर्भिक अस्पताल, ३ जनाको ग्रान्डी अस्पताल तथा ओम अस्पताल र मेडिसिटी अस्पतालदमा एक एक जनाको उपचार भईरहेको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले जानकारी दिनुभयो ।

नर्भिकमा उपचाररत घाईते यात्रु बसन्त बोहोराले विमानको अवस्थाबारे यात्रुलाई जानकारी नगराएको बताउँदै एक्कासी जोडले हल्लिएर भुईंमा बजारिएको बताउनुभयो । ९० डिग्रि मोडिएर राजधानीको चावहिलबाट ल्याण्ड भएको विमानमा एकै पटक आगोको मुस्लो देखिएको थियो । सञ्चारकर्मीसँग कु्रा गर्दै विमानस्थल महाप्रबन्धक राजकुमार क्षत्रीले दक्षिण तर्फबाट ल्याण्ड गर्न अनुमति दिएपनि उत्तर तर्फबाट ल्याण्ड गरेकाले दुर्घटनामा परेको बताउनुभयो ।

बिएस २११ ‘कल साइन’ को सो विमान त्रिभुवन विमानस्थलमा अवतरणको क्रममा अनियन्त्रित भई धावनमार्गको पूर्वतर्फ दुर्घटनाग्रस्त भएको हो । उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोली परिचालित भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले उद्धार कार्यको निरीक्षण गर्दै आवश्यक निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले विमान दुर्घटनाबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने बताउँदै घाइतेको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने उल्लेख गर्नुभयो । विमान दुर्घटनाग्रस्त भएपछि अवरुद्ध भएको अन्तर्राष्ट्रिय तथा अन्तरिक उडानहरु साँझबाट पुनस् सञ्चालन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*